१६-२२ फागुन २०७२ | 28 Feb - 5 Mar 2016

पीडाको अतिरञ्जना

Share:
  
- सञ्जीव पोखरेल
कर्नाली ब्लुज मार्फत उम्दा लेखकको छवि बनाएका बुद्धिसागरको फिरफिरे अपेक्षा विपरीत अवसादले भरिएको औसत कृति बनेको छ।

जीवन मसिनो सिन्कामा उनिएको आँपको पात जस्तै हो। हावाका झोक्काले यसलाई जोडतोडले रिगाउँछन्। कुनै निश्चित समयमा यो जीवनरूपी 'फिरफिरे' जमीनमा खस्छ र विलाउँछ। बाँकी रहन्छ त केवल सम्झ्ाना। बुद्धिसागरको नवप्रकाशित उपन्यास फिरफिरे को भाव यही हो।
लेखक वसन्तको स्मृतिबाट शुरू हुने उपन्यास नेपालगञ्ज नजिकैको बाँसबारी गाउँका दुःखी, बेसहारा र अभागी गाउँलेको जीवनका पत्रहरू केलाउँदै ५३१औं पानामा पुगेर थकाइ मार्छ। श्रीमती आस्था र छोरी जुनालाई लिएर वसन्त आफू जन्मिएको बाँसबारी गाउँ पुग्छ, जहाँ अतीत ताजा भएर आउँछ। सर्वजीत मास्टरको छोरो पवनसँगको बाल्यकाल; आमा जशोदाको सङ्धर्षमय जीवन; छोराको मृत्युबाट विक्षिप्त चिलगाडीको वियोग, जुठी आमैमाथिको दुर्व्यवहार; एक्लो कोहिनुर झाँक्रीको दुःखद् कथा र अरूलाई खोला तार्दातार्दै जीवनको ऊर्जा गुमाएको पिच्कु माझ्ाीका असफल रहरहरू उपन्यासमा कोरिएका छन्।

उपन्यासको मूल कथाक्रम पवनको वियोगान्त जीवन वरिपरि घुमेको छ। पवन जसले जीवनका कलिला रहर र उमङ्ग मात्र होइन, होशहवास नै गुमाउँछ र गायब हुन्छ। कथामा सशक्त रूपमा उपस्थित छे, पवनकी बहिनी रमा (फुच्ची) जसले पाठकलाई वेलावेला भावुक बनाइरहन्छे। उपन्यासमा सँगसँगै बगेको छ पवन र वसन्त (बन्ते) को मित्रताको कथा। एउटा यस्तो मित्रता जुन दुई परिवारको असहज सम्बन्धबीच पनि प्रगाढ र अभिन्न बनेको छ।

बुद्धिसागरको लेखाइमा पात्र र तिनका परिवेशलाई जीवन दिने अनौठो क्षमता छ, जुन यो उपन्यासमा पनि मज्जाले देखिन्छ। मजस्तै धेरै पाठक उपन्यासमा पात्रसँगै विचरण गर्न सक्छन्। जस्तो कि, मैले पनि उपन्यास पढ्दा सर्पले डसेर बेहोश चिलगाडीलाई कोहिनुर झाँक्रीले विष फ्यालेर जिउँदो बनाइदिन्छ कि भन्ने आश गरें। पवनको गुमेको होश फर्किदिए हुन्थ्यो भन्ने लागिरह्यो। गाउँ छोडेर काठमाडौं जाने वेला रमाका आँसुले निकै भावुक बनाए र हतारहतार पाना पल्टाएँ।

चौथो पानाबाट रमाको टेलिफोनसँगै बग्न थालेका आँशु ५१८औं पानासम्म बगिरहन्छन्। सबै गाउँले मृत्यु, विछोड, गरीबी र असफलताले थलिएका छन्। घुइयाराम, सर्वजीत, जशोदा, जुठी आमै, गङ्गा सबैका घरमा वियोग वा विछोड छ। सबैका 'आँखाका कुना' हरक्षण रसाइरहन्छन्।

बुद्धिसागरको पहिलो उपन्यास कर्नाली ब्लुज समकालीन साहित्यको जोडदार कृति हो। दोस्रो उपन्यासबाट अझ विशिष्ट स्वादको अपेक्षा राख्नु अस्वाभाविक होइन। तर, यहाँनेर उनी चुकेका छन्।

उपन्यासका अनुसार, बाँसबारीमा कसैको विवाह, ब्रतबन्ध हुँदैन। चाडबाड र नाचगान हुँदैन। मानौं बाँसबारी अथाह पीडा र वेदनाको पोखरी हो, जोकोही आँशु खसाल्न मात्र जन्मिन्छ। पीडाको यो अतिरञ्जनाले उपन्यासलाई भद्दा बनाएको छ।

उपन्यासमै घोत्लिरहँदा १७ वर्षअघि त्रिविमा मानवशास्त्र अध्ययनका क्रममा मैले अमेरिकाको मिचिगन विश्वविद्यालयकी लोराको अनुसन्धान सहायक भई काम गरेका दिनहरू सम्झिएँ। विद्यावारिधिको अनुसन्धान गरिरहेकी लोराले नेपालीले 'दुःख' लाई कसरी बुझ्छन् र अभिव्यक्त गर्छन् भन्ने अध्ययन गर्न रेडियो कार्यक्रम 'मेरो कथा मेरो गीत' माध्यम बनाएकी थिइन्। उनी दुःखको अर्थ–राजनीति बुझ्न कार्यक्रममा श्रोताले पठाउने पत्र र उनीहरूको जीवन पछ्याउँथिन्।

“नेपाली आफूलाई दुःखी महसूस गर्न र अरूका अगाडि निरीह देखिन रुचाउँछन् जुन अनौठो र रोचक छ”, उनी वेलावेला मसँग भन्थिन्। त्योवेला लोराका कुरा मलाई उत्ति गहिरा लागेनन्। तर, समय बित्दै जाँदा भने उनको कुरा धेरै हदसम्म सही हो जस्तो लागिरहेको छ। दुःख होस्, नहोस् आफूलाई दुःखी देखाएर सहानुभूति खोज्ने प्रवृत्ति हाम्रो सन्दर्भमा गाढा छ। पीडित, विरही, निरस, उदासी, वैरागी, आँशु, रोदन, निष्ठुरी जस्ता उपनाम पनि यही मनोविज्ञानका उपज हुनसक्छन्। तर, अरूसामु दुःखी देखाउने प्रवृत्ति हाम्रो समाज र संस्कृतिका वास्तविक विशेषता होइनन्। नेपालका गाउँघरमा अभाव, दुःख र गरीबीका बीच पनि गहिरो आत्मसम्मान, आत्मविश्वास, सन्तुष्टि र खुशी विद्यमान छ। खुशीका रङ्ग शहरभन्दा गाउँमै खुलेका हुन्छन्। तर, फिरफिरे मा खुशीको छायाँसम्म देखिंदैन। दुःख देखाउने प्रवृत्तिबाट निस्केर पृथक् र सिर्जनात्मक शैली अपनाउन पनि फिरफिरे असफल छ।

उपन्यासको अर्को कमजोर पक्ष पात्रहरूको चरित्र चित्रणमा पाइने अस्वाभाविकता हो। जुठी आमैका अभिव्यक्ति र उनले सुनाएका भनिएका कथाहरू अनाकर्षक र अस्वाभाविक लाग्छन्। भूल काकालाई 'भन्छु म' थेगोकै लागि जबर्जस्ती घुसाइएको भान हुन्छ। बसिर दादा र पवनबीचका संवाद र सामीप्यता 'फिल्मी' (सतही) लाग्छन्।

पुस्तक फिरफिरे विधा उपन्यास

लेखक बुद्धिसागर प्रकाशक फाइनप्रिन्ट

पृष्ठ ५४४

मूल्य रु.५४२

पृथक् प्रवृत्तिका पात्रहरू (जस्तै, पिच्कु, भूल काका, बसिर दादा, जुठी आमै आदि) को शब्द चयनमा पनि लेखकले ध्यान पुर्‍याएका छैनन्। बसिर दादा र पिच्कुले बोलेका हिन्दी र भोजपुरी भाषा मिश्रित नेपाली लवजमा लेखकले आवश्यक मिहिनेत गरेका छैनन्। उपन्यासमा भनिए जस्तो स्कूलको मुखै नदेखेकी वृद्धा जुठी आमै पटकपटक 'मनोबल' भनिरहन्छिन्। उखानेका उखानहरू फिक्का र असान्दर्भिक छन्।

पात्र र घटनाको संयोजन पनि असहज लाग्छ। कतिपय पात्र र घटना जबर्जस्ती घुसाइएको प्रतीत हुन्छ। जस्तै, प्रारम्भमा सशक्त रूपमा उपस्थित सर्वजीत मास्टरकी बहिनी बृन्दे (पवनकी फुपू) उपन्यासको अन्त्यसम्म देखा पर्दिनँ। छोरो हराएको पीडाबाहेक भूल काकासँग भन्ने केही छैन। बसिर दादाले उपन्यासमा केही मसला थपेका छन् तर उनको सान्दर्भिकता विरही प्रेमकथा र भतिज आशिफको मृत्युको पीडा थप्नमा मात्र सीमित देखिन्छ। समग्रतामा उपन्यास पात्र, प्रतीक र घटनाहरूको भीड जस्तो लाग्छ। लामो बनाउने लोभले कृति कमजोर बनेको छ।

ग्रामीण परिवेशका सामान्य मानिसको कथा खोतल्ने युवा लेखकमा बुद्धिसागरले विशिष्ट स्थान बनाएका थिए र छन्। तर, झण्डैझण्डै कर्नाली ब्लुज जस्तै परिवेश र कथावस्तु चित्रित यो उपन्यासमा भने उनी कमजोर देखिए। ग्रामीण जीवनका रोचक आयाम र मानवीय संवेदना वर्णनमा सफल देखिए पनि कथावस्तु र प्रस्तुतिका आधारमा फिरफिरे औसत उपन्यासभन्दा माथि छैन।

उपन्यासको पुछारमा धन्यवादका क्रममा लेखकले कर्नाली ब्लुज पछि अर्को उपन्यास लेख्न थालेको तर ६५ हजार शब्द पुगेपछि रोकेर फिरफिरे शुरू गरेको बताएका छन्। यो पढेपछि लाग्यो उनी कुनै नयाँ विषयवस्तुमा लेख्न खोजिरहेका छन्। 'आफूलाई थाहा नभएको' नयाँ विषयवस्तुमा लेख्ने त्यो प्रयत्न पो बढी सिर्जनात्मक हुनसक्थ्यो कि!

आशा छ, बुद्धिसागरको अर्को उपन्यासमा घामका केही किरण अवश्य हुनेछन्।

comments powered by Disqus

रमझम