१६-२२ फागुन २०७२ | 28 Feb - 5 Mar 2016

राष्ट्रसंघमा आनी स्वर

Share:
  

संयुक्त राष्ट्रसंघको महासभामा 'गेष्ट अफ अनर पर्फमर' का रुपमा निम्त्याइएकी आनी छोइङले हिमाली बौद्ध भजन, आध्यात्मिक गीतसहित मन्तव्य पनि दिनेछिन्।

२० मार्च (७ चैत) मा अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा पहिलोपटक नेपाली गायिकाको स्वर सुनिने भएको छ। 'अन्तर्राष्ट्रिय खुशी दिवस' को अवसरमा आनी छोइङ डोल्माले विश्वमाझ बौद्ध मन्त्रमार्फत शान्तिको कामना गर्नेछिन्। खुशी आर्थिक समृद्धिको महत्वपूर्ण अंग भएको भन्दै राष्ट्रसंघले सन् २०१२ देखि २० मार्चलाई खुशी दिवसको रुपमा मनाउँदै आएको छ।

महासभामा 'गेष्ट अफ अनर पर्फमर' का रुपमा निम्त्याइएकी आनी छोइङले हिमाली बौद्ध भजन, आध्यात्मिक गीतसहित मन्तव्य पनि दिनेछिन्। “राष्ट्रसंघमै गएर शान्तिको आह्वान गर्न पाउनु मेरा लागि अवसर र उत्साह दुवै हो”, युनिसेफकी सद्भाव दूतसमेत रहेकी आनी छोइङ भन्छिन्। उनको टोलीमा संगीतकार न्ह्यू बज्राचार्य, गोपाल रसाइली र रमन महर्जन पनि हुनेछन्। आनी राष्ट्रसंघको यो प्रस्तुतिलाई शान्तिदूत बुद्धवचन फैलाउने मौकाका रुपमा पनि सदुपयोग गर्न चाहन्छिन्।


शिल्पासँग फागु

९ चैतः फागुपूर्णिमा। पात्रो यसै भन्छ। तर, सिनेमा घरमा ७ फागुनदेखि नै 'फागु' लागिसकेको छ। वास्तविक रंगसँग खेल्न अझै महीना दिनजति बाँकी रहे पनि जीवनका विविध रंगसँग साक्षात्कारका लागि चलचित्र फागु हेर्नुपर्ने नायिका शिल्पा पोखरेलको तर्क छ। “फागुको खास मजा तराईमै हुन्छ, त्यसैले चलचित्रमा म तराईकी केटी बनेकी छु”, उनी भन्छिन्।

सम्झना उप्रेती रौनियारको निर्देशन र करिश्मा मानन्धरको निर्माणमा बनेको फागु ले आफूलाई नयाँ उँचाइमा पुर्‍याउनेमा शिल्पा विश्वस्त छिन्। भन्छिन्, “खुशी छु, मेरो भूमिकाको सबैले प्रशंसा गरिरहेका छन्।” छविराज प्रोडक्सन अन्तर्गत हवल्दार सुन्तली र लज्जा मा अभिनय गरेकी शिल्पा किस्मत ३ मा पनि देखिंदैछिन्।

comments powered by Disqus

रमझम