१६-२२ फागुन २०७२ | 28 Feb - 5 Mar 2016

चित्रसहितका ब्रेल पुस्तक

Share:
  

ललितपुरस्थित नमूना मच्छिन्द्र माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीले पाठ्यपुस्तक बाहेकका थप २३ वटा बे्रल पुस्तक पढ्न पाउने भएका छन्। अन्धा कल्याण संघसँगको सहकार्यमा सेभ द चिल्ड्रेनले विभिन्न तथ्यपरक विषयमा छापेका ८० मध्ये २३ पुस्तक १० फागुन विद्यालयलाई हस्तान्तरण गरेको छ।

हस्तान्तरण कार्यक्रममा विद्यालयको कक्षा ९ मा पढ्ने लकी महर्जन र कक्षा ७ की श्रृष्टि सुवेदीले 'बे्रल फ्याक्ट बूक' का दुई अध्याय पढेर सुनाए। चित्रसहितको ब्रेल किताब हात पर्दा उनीहरू थोरै अकमकिए पनि। अन्धा कल्याण संघका अध्यक्ष कुमार थापा भन्छन्, “नेपालमा यसअघि चित्रसहितका बे्रल किताब छापिएकै थिएनन्।” विभिन्न ठाउँ, व्यक्ति, जनावर आदि बारे छापिएका यी पुस्तक शिक्षा विभाग र पाठ्यक्रम विकास केन्द्रको सहकार्यमा देशभरका ९७ स्रोतकक्षामा पुर्‍याउने सेभ द चिल्डे्रनकी कन्ट्री डाइरेक्टर डेलाला बोर्जा बताउँछिन्। २०६८ को जनगणना अनुसार देशभर ५ लाख १३ हजार ३२१ अपांगता भएका व्यक्तिमध्ये १८.५ प्रतिशत दृष्टिविहीन छन्।


नयाँपुस्ता माझ स्वरसम्राट

गोपेन राई

स्वरसम्राट नारायणगोपालको २५औं स्मृति दिवसको अवसरमा ७–११ फागुनमा काठमाडौंको नेपाल कला परिषद्मा तस्वीर प्रदर्शनी गरियो। सांस्कृतिक संग्रहालय नेपालले आयोजना गरेको प्रदर्शनीमा नारायणगोपालका ३२० तस्वीर समावेश थिए। “नारायणगोपालको स्वर सुनेका तर थाहा नभएका अहिलेका पुस्ताका लागि प्रदर्शनी आयोजना गरिएको हो”, आयोजक संस्थाका क्षितिज अरुण श्रेष्ठ भन्छन्। प्रदर्शनीलाई पोखरा, विराटनगरलगायत शहरमा लैजाने उनको योजना छ।


तस्वीर यात्रा

दीपेन्द्र बज्राचार्य

२१–२३ फागुनमा काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा फोटोपत्रकार मीनरत्न बज्राचार्यका तस्वीरहरु हेर्न पाइने भएको छ। प्रदर्शनीमा बज्राचार्यले २०४७ यता यात्राका क्रममा खिचेका प्रकृति र सम्पदासम्बन्धी ४७ तस्वीर राखिने छन्। “राजनीतिक गतिविधिका तस्वीर खिचेर चिनिए तापनि मलाई ट्राभल फोटोग्राफीमा विशेष लगाव थियो”, हिमाल खबरपत्रिका का फोटोपत्रकार बज्राचार्य भन्छन्। बज्राचार्यको यो चौथो एकल तस्वीर प्रदर्शनी हो।


२०४६ अघिका कार्टून

११ फागुनमा राजधानीको बौद्धमा 'नेपाली कार्टूनको एउटा कालखण्ड : २०४६ सालअघिका कार्टून र कार्टुनिस्ट' शीर्षकमा कार्टून प्रदर्शनी गरियो। कार्टुनिस्ट क्लब नेपालद्वारा आयोजित प्रदर्शनीमा चन्द्रमानसिंह मास्के, उज्ज्वल कुन्दन ज्यापू, शरद रञ्जित, शशि शाह, कुलमानसिंह भण्डारी, वात्स्यायन, रमेशनाथ पाण्डे, रामकुमार पाँडे, टेकवीर मुखिया, खोकनालगायतका कार्टून समावेश थिए।

comments powered by Disqus

रमझम