किवी कर्म

Share:
  
पूर्व प्रहरी श्याम खड्का अहिले सफल किवी कृषक बनेका छन्।

सविता
२८ वर्षअघि लामोसाँघु–जिरी सडक बनाउन आएका स्वीस इन्जिनियर जीएफ मेसी दोलखा भीमेश्वर–१०, सिमपानीका श्याम खड्का (५७) को घरमा भाडामा बसेका थिए। त्यहाँ बस्दा उनले स्ट्रबेरी, अंगुरसँगै किवी पनि रोपे। मेसी फर्के तर उनले रोपेको किवी झाङ्गियो। तर, सबैका लागि त्यो किवी होइन, 'झुसे फल' थियो। “घरमै फलेको फल चिन्न वर्षौं लाग्यो”, खड्का भन्छन्।

२०५० मा मात्र उनले किवी चिने। २०६१ मा त्यही किवी बेचेर उनले रु.८ हजार हात पारे। अर्को वर्ष त्यही बोटले रु.१७ हजार थमायो।

किवीले नसोचेको फाइदा दिन थालेपछि पाँच वर्षअघि खड्काले 'आमा किवी फलफूल नर्सरी' नै खोले। प्रतिबिरुवा रु.३५० का दरले हरेक वर्ष रु.१० लाख बराबरका किवीका बिरुवा बिक्री गर्दै आएका उनी भन्छन्, “यो वर्ष मात्र रु.८४ हजार कमाएँ।”

सविता श्रेष्ठ


निरन्तर नारा

क्यान्सरले थलिएकी नाराका लागि लेखन अर्को ओखती थियो।

बच्चु विक

महेन्द्रनगर, कञ्चनपुरकी शिक्षिका नारा जोशी (५९) लाई चार वर्षअघि पाठेघरमा क्यान्सर भएको पत्ता लाग्यो। “एकछिन त छाँगाबाट खसेजस्तै भयो, विचारशून्य भएँ”, उनी भन्छिन्।

अस्पतालमा चार महीनासम्म पल्टिंदा नाराले दिमागमा आएजति सबै कुरा टिपिन्। आगन्तुकसँगको कुराकानी, चिकित्सक तथा नर्सहरूका कुरा अनि मनमा चल्ने ज्वारभाटा, सबैले उनको डायरी भरियो। तिनै टिपोटको प्रतिफल हो, पुस्तक 'मैले देखेको जीवन'। लघुकथा संग्रह 'भीडमा एक्लो मान्छे' की सर्जक नाराका कविता, कथा र लेख स्थानीय पत्रपत्रिकामा छापिइरहन्छन्।

अहिले हेर्दा सहज देखिए पनि नाराको साहित्यिक यात्रा कठिन थियो। महिलाका कुरा समाजले पचाउन गाह्रो भएपछि २०३६ सालपछिका केही वर्ष उनी 'एनडी जोशी' का नामले लेख्न थालिन्। उनी भन्छिन्, “लेखनले नै मलाई हरेक अवरोधलाई जित्न सघायो, रोगसँग लड्न हौसला दियो।”

बच्चु विक


नवीन कला

देवी–देउताका मूर्तिबाट आकर्षित नवीन अहिले 'न्यूड' मूर्ति बनाइरहेका छन्।

सविता श्रेष्ठ

लेटाङ, मोरङका नवीन सुवेदी (३१) 'न्यूड' मूर्ति बनाइरहेका छन्। मूर्तिकलामा स्नातकोत्तर नवीनले मोहिनी, ब्यालेन्स, मोसन, डान्सिङ, एनर्जी, युनियन, फिलिङ्सलगायत थिममा बनाएका मूर्तिको गत माघमा सार्वजनिक प्रदर्शन पनि गरे।

कक्षा ६ मा छँदा शिक्षकले स्थानीय मूर्तिकार श्रीप्रसाद किरातीको उदाहरण दिएपछि नवीनलाई ती मूर्तिकारको काम हेर्न मन लाग्यो। मूर्तिकारका देवी–देवताका मूर्ति देखेपछि नै आफूलाई आँट आएको उनी बताउँछन्। “त्यही दिनदेखि म मूर्तिकलातर्फ मोडिएको हुँ”, नवीन भन्छन्।

नवीनले विस्तारै ढुङ्गामा देवी–देवताका मूर्ति खोपेर बेच्न थाले। पहिलो मूर्ति रु.१० मा बेचेका नवीनले एसएलसीपछि ललितकला पढे। त्यसपछि रेजिन र फाइबर ग्लासमा आकर्षित भएका उनले पछिल्लो समय यिनकै प्रयोगबाट कला पस्किरहेका छन्। फाइबर ग्लासका मूर्ति हलुका हुने भएकाले धेरैको रोजाइमा पर्ने उनी बताउँछन्।

सविता

comments powered by Disqus

रमझम