२३-२९ फागुन २०७२ | 6-12 march 2016

बिजुली गाथा

Share:
  
- महेश थापा
बिजुली बेचेर नभई बालेरै धनी होइने र आफूलाई वालछ्याल भएपछि बेच्न सके वैभवशाली बनिने मन्त्र नेताज्यूहरूको भेजामा पनि घुसोस्।

रिसानी माफ होस्, गुरुवर! बिजुली जस्तो अभरमा पार्ने शीर्षकमा निबन्ध लेख्न लाउनु अघि कम्तीमा हाम्रो व्यथा बुझिदिनुपर्थ्यो। होमवर्कको आतेस, आफूभन्दा गह्रुँगो झोला घिच्याउने सास्ती र अनपत्रे प्रोजेक्ट–वर्कका सर्दाम बटुल्दाको धपेडीबीच जिन्दगी बोर छ, गुरुवर हाम्रो। घरआँगनमै पाइने धान, चामल, गहुँ, मकै, चना, मटर आदिका दानादेखि आलु र प्याजका चानासम्म चार्ट पेपरमा टाँस नगरी नम्बर पाइन्न भने अनुहारै नदेखेको बिजुलीको विषयमा के लेखौं, कसरी लेखौं। तैपनि लेख्न बसें। भूलचुक माफ गरिदिनुहोला।

बिजुलीको स्वाद चाख्न नपाए पनि यहाँ मुफ्तमा ओइरिएको लोडसेडिङ हसुर्न पाइएको छ। हरेक कक्षाको फरक रुटिन झैं लोडसेडिङको पनि एउटा चलायमान तालिका हुन्छ। प्रत्येक घरमा तिथिमितिको क्यालेण्डरसँगै लोडसेडिङ तालिका पनि झुण्डिन थालेको छ। र, यो एक प्रकारले प्रत्येक नेपाली परिवारको आइडी–कार्ड पनि बनेको छ। यहाँ विद्यालयमै पनि दाइ–दिदीहरू म त फलानो समूहको भनेर आफूलाई चिनाउनुहुन्छ। शायद गुरु पनि कुनै न कुनै लोडसेडिङ समूहबाटै चिनिनुहुन्छ नै।

तालिकामा तोकिएको लोडसेडिङ कालमा झ्ुक्केर पनि बिजुली आउँदैन नै, नतोकिएको समयमा आउने कुरै भएन! नाकमा ध्वाँसो जम्ने गरी टुकीको उज्यालोमा होमवर्क सकेर सुत्दा मात्रै नभई झ्िसमिसेमै उठेर स्कूल हिंड्दासम्म पनि बिजुलीको दर्शन हुन्न। त्यसैले, बिजुलीसँग हाम्रो चिनापर्ची नै छैन।

अब सुनेका हिसाबमा चाहिं भन्न सक्छु, बिजुली साह्रै मनकारी चिज हो रे! उद्योग/कलकारखाना चलाउन, गाडी गुडाउन, रेडियो/टेलिभिजन/कम्युटर चलाउनदेखि भात पकाउनसम्म बिजुलीले सहयोग पुर्‍याउँछ अरे! हामीले टेलिभिजन देखेका छौं, हेर्न पाएका छैनौं। टेलिभिजनमा आउने 'टम एन्ड जेरी' र 'मोटु–पत्लु' जस्ता कार्यक्रम बारे सुने पनि हेर्न पाएका छैनौं। कम्प्युटर/इन्टरनेट बारे सुनेका छौं तर चलाउन पाइया छैन। यस्तो गुनिलो जिनिसले हामीसँग मात्र किन कट्टी गर्‍या होला? भूतप्रेतको कथा दोहोर्‍याई–तेहर्‍याई सुनाउने बडाहरू बिजुलीको 'ब' भन्न नपाउँदै र्झ्कोफर्को गर्छन्। के भूत भन्दा बिजुली खतरनाक हो? यस्तो लाग्छ– सपना/कल्पनामा देखिने तर विपनामा मरिगए नभेटिने कुरो हो बिजुली।

जलस्रोतमा विश्वकै दोस्रो धनी देश भएकाले नेपालमा अथाह बिजुली उब्जाउन सकिने त सानैदेखि गुरुहरूले नै घोकाउनुभएको हो। 'पहिलो कि दोस्रो धनी' भन्नेमा कन्फ्युज्ड हुँदा गुरुले नै कान निमोठेको यादै होला। टुकीकै उज्यालोमा भए पनि घुँडा धसेर गुरु–बुटी घोक्दै मैले पनि थुप्रै वादविवाद प्रतियोगिता जितें। तर, गफले चिउरा नभिज्दो रहेछ! अहिले बिजुली नचिन्दाको रनाहमा एक थान निबन्ध लेख्न नसकी ठसठस्ती कन्दै गन्थनात्मक पत्र कोर्नु पर्दा कम्ता विस्मात् लागेको छैन। हुन त, छप्पन्न इन्ची छाती भित्रको पितुरे ऋषिमनले पनि नेपालाँ बिजुली कारखाना खोलेर पारि गाउँ उज्यालो पार्छौं भन्दै भ्रमको पुरिया बेचेको हुँदा हामी ठेट्नाले मात्र साह्रै पित्त सुकाउने दरकार चाहिं छैन।

तर पनि; हावा, पानी, घाम, कोइला, फोहोर, पात, पतिङ्गर, घाँसफुस आदिबाट निकाल्न मिल्छ भनिएको बिजुलीसँग दर्शनभेट अझ्ै हुन नसक्दा लास्टै ग्लानि भएको छ। बिजुली बेचेर देश धनी होला र वैतरणी तरम्ला भनी ढुकिबसेको हाम्रा बाहरूको पुस्ता यतिवेला भरङ्ग भएको देखिन्छ। दूरदेशका सौदागर बोलाई नेपालको बिजुलीले एशिया नै झ्िलिमिली पार्ने भन्दै धुन्धुकारीहरूले बुनेको कथाको क्लाइमेक्स बिजुली खरिदेर देशको अँध्यारो तैबिसेक हटाउने बिन्दुमा टुङ्गिदा श्रवणकर्ताको माथा चकराउनु अस्वाभाविक होइन। यस्तो जन्डु कथा बेहोरेर पनि एउटा छिमल हृदयघातबाट जोगिनुलाई भने गनिमतै मान्न कर लाग्छ!

त्यसैले, गुणकारी बिजुली बेचेर नभई बालेरै धनी होइने र आफूलाई वालछ्याल भए'सि बेच्न सके वैभवशाली बनिने मन्त्र नेताज्यूहरूको भेजामा पनि घुसोस्। यही जुनीमा बिजुली देखेर गधैया जुनी फेर्न पाइयोस् र गुरुले चाहनु भए बमोजिमको निबन्ध नै दन्काउन सकियोस्। अड्को–पड्को ठानी अहिले पत्रात्मक निबन्धलाई नै सदर गरिदिनुहोला।

आज्ञाकारी छात्र,

बिजुलीप्रसाद

कक्षा–८

comments powered by Disqus

रमझम