२३-२९ फागुन २०७२ | 6-12 march 2016

लर्ड कर्जनलाई नेपाल ल्याउन जोरजुलुम

Share:
  
- ज्ञानमणि नेपाल
आफ्नो बढोत्तरी हुने र महाराजको पनि भलो हुने भन्दै लर्ड कर्जनलाई नेपाल ल्याउन जिद्दी गरिरहेका रेजिडेन्टलाई चन्द्रशमशेरले मर्यादाक्रममा प्राइमिनिस्टर भन्दा तल रहने भाइसरायलाई राजासँग भेट गराउनै अप्ठेरो पर्ने भन्दै टारेका थिए।

लर्ड कर्जन।
नेपालमा यूरोपियनको प्रवेश सुगौलीसन्धिपश्चात् मात्र भएको हो। यद्यपि पृथ्वीनारायण शाहको विजयपूर्व धर्म प्रचारका लागि यूरोपियन क्रिश्चियन पादरीहरू नेपाल बसेका थिए। यूरोपियनलाई नेपालीहरू फिरङ्गी भन्थे भने चिनियाँहरू राता टाउके, समुद्री भूत! यिनीहरूको धर्म प्रचारले आफ्नो सनातनदेखि मानिआएको धर्ममा खलल पार्न लागेको आरोपमा तथा अन्य कुनै राजनीतिक कारण निकालिएका कतिपय क्रिश्चियनहरू भोट चीनतर्फबाट नेपालतिर पनि पसेका थिए। पृथ्वीनारायणले शुरूमा यिनलाई सात समुद्रपारिका साधुसन्त भन्ने ठानेका थिए। परन्तु यिनले गोरखालीको विजय अभियानलाई रोक्न जयप्रकाश मल्लको सहायता गर्नका लागि आफ्ना मालिक इष्ट इण्डिया कम्पनीका अधिकारीलाई उचालेर गोरखा–अंग्रेज युद्ध गराए। गोरखालीले अंग्रेजी पल्टनलाई बीचबाटै धपाए।

मुर्शिदावाद र लखनऊका नवाबलाई हराउँदै अव्याहतगतिले बढेको कम्पनीले कलकत्तादेखि दिल्लीसम्म आफ्नो प्रभाव जमाइसकेको थियो। यसरी यूरोपियन साम्राज्यवादी शक्तिलाई पहिलोपल्ट माथ गर्न सक्ने सानो राष्ट्र गोरखाका बहादुर जवानको खूबी देख्ता यूरोप एशियामा यिनको कीर्तिपताका मात्र फैलिएन, सौर्य–वीर्यको प्रभाव पनि बढ्यो।

पृथ्वीनारायण शाहले तीन शहर 'नेपाल' जित्नासाथ यी छद्मभेषी साधुलाई राम्रै मुखले (सं. १८२६ मा) विदा गरे। नेपाल सीमानानेर बेतियामा बसेका यिनले गोरखाली र पृथ्वीनारायण शाहको भ्याएसम्म बदख्वाइँ गर्न थाले। एक हातमा तरबार अर्काे हातमा वाइबलको किताब लिएर आएका कथित साधुलाई नेपालीले बल्ल चिने, तर पनि ती धर्म प्रचारकले हार खाएनन्, नेपाल पस्ने तिनको प्रयास निरन्तर जारी रह्यो; तन–मन–धनद्वारा। अहिले २३८ वर्ष पछि ठीक त्यसरी नै गोरखाली राजालाई विदा दिइयो, सनातन धर्म विरोधी भनेर निकालिएका ती पादरी साधुलाई चाहिं गोरखाली ब्राह्मणद्वारा नै आमन्त्रण गरियो। विदेशीलाई धर्म प्रचारको लागि सजिलो बाटो खोलियो। तिनको सयौं वर्षदेखिको दमित आकांक्षा पूरा गरियो।

पृथ्वीनारायण छँदै बेपार वार्ताका लागि नेपाल आउन हरतरहले प्रयासरत जर्ज बोगलेलाई आउन दिइएन। भोटान सुखिमतिरबाट ती अंग्रेज भोट पुगेछन्। त्यो थाहा पाएर पृथ्वीनारायणले भोटका लामालाई सम्बोधन गर्दै 'बेपारको लागि अंग्रेज त्यहाँ पुगेका छन् अरे, ती भनेका काँचका भाडा (कस्मेटिक सामान) सँग साटेर कसनतमन (काँस, ढलौटका भाँडावर्तन) सुन चाँदीका माल यूरोप लैजाने धूर्त बेपारी हुन्, सावधान हुनु!' भनेर लेखेका थिए। आफ्ना देशमा मात्रै होइन, भोट चीनमा पनि त्यस्ता विदेशी बेपारी नपसुन् भन्ने उनको धारणा थियो।

त्यसपछि भोट चीनसँग युद्ध परेको वेला सुलहका लागि कर्कपेटि्रक नेपाल आए। परन्तु उनी आइनपुग्दै सम्झौता भइसकेकोले एक महीना पनि पूरा बस्न नपाई फर्कन बाध्य भए। नेपालीहरू अंग्रेजलाई नेपाल ल्याउनु भनेको देशै सुम्पे जस्तो ठान्थे। अर्कोपल्ट जोगी राजा रणबहादुर शाहले काशी बसेर अंग्रेजसँग मिली देशकै अस्मिता गुमाउन खोज्दा बाध्य बनेर भारदारले अंग्रेज क्याप्टेन रबर्ट नक्सको टोलीलाई नेपाल आउन दिएको थियो। तर नेपालका भारदारहरू अंग्रेजसँग बेपार सन्धि गर्न सहमत भएनन्। ऊ त्यतिकै फर्केर गएको थियो।

महाराज चन्द्रशमशेर।
नेपाल–अंग्रेज युद्धमा भीमसेन थापा सरकारको हार भयो। काठमाडौंमा अंग्रेज रेजिडेन्ट राख्न उनी बाध्य भए, तापनि रेजिडेन्ट खुला हिंडडुल गर्न पाउँदैनथे। केही ठाउँ बाहेक लैनको चार दिवारीमा सीमित भए पनि दरबारमा चलखेल गराइरहन भने ती माहिर हुन्थे। यस्तो गर्नेमा रेजिडेन्ट ब्रायन हड्सन नै प्रमुख थिए। यिनी पढेलेखेका अनुसन्धाता थिए, राजा भारदारका वंशावली लेखाउने संग्रहकारी पनि थिए। सँगै कूटनीति खेल्ने, दरबारभित्र कलहझ्गडा पार्ने धूर्त पनि यिनै थिए। धेरै कालसम्म नेपालमा बसेर यहाँको राष्ट्रिय शक्तिलाई कमजोर पारेर गए।

पछि शक्तिमा आएका जंगबहादुरले रेजिडेन्टलाई ठेगानमा राखे, आफ्नो पनि शान–मान–सम्मानमा धक्का लाग्ने काम गरेनन्। वीरशमशेरले जंगबहादुरको जस्तो शान–मान राख्न त सकेनन्, उनी आफ्नै कर्मले कमजोर थिए तापनि अरू अंग्रेजलाई त के स्वयं भाइसरायलाई समेत नेपाल आउन दिएनन्। चन्द्रशमशेरको पालाका रेजिडेन्ट कर्णेल र्‍याभिन्सा चाहिं भाइसराय लर्ड कर्जनलाई नेपाल ल्याउन चाहन्थे। 'उनलाई नेपाल ल्याउन पाए आफ्नो बढोत्तरी हुने र महाराजको पनि भलो हुने' भनेर जिद्दी गर्थे। तर भाइसरायलाई नेपाल ल्याउन मर्यादा राख्न नै अप्ठ्यारो पर्ने तर्क चन्द्रशमशेरको हुन्थ्यो। वास्तवमा भाइसराय अखिल भारतका मालिक भए पनि दर्जामा उनी प्राइमिनिष्टरभन्दा तल पर्थे। नेपालका राजाको दर्शनभेट गराउन मर्यादाक्रमले अप्ठ्यारो पार्छ भनेर महाराज चन्द्रले टारेका थिए।

उतिवेला भावी बेलायतको प्राइमिनिष्टर हुने चर्चामा आएको मान्छे र भारतको सर्वोच्च शासक नेपाल आउँछु भन्दा अनेक बखेडा झिकेर निषेध गरिन्थ्यो। अहिले सय वर्षपछि भने सत्र वर्षसम्म भारतको प्रधानमन्त्री नेपाल नआउँदा कत्रो सुनखुन गरिन्छ। भारतको सहसचिवस्तरको मान्छे आउँदा आफ्नो मान–मर्यादा बिर्सेर हाम्रा नेताहरू दर्शनभेटमा ओइरिन्छन्।

त्यसवेला विश्वलाई प्रभाव पार्ने दुई वटा घटना भएका छन्, एक लर्ड कर्जनले गरेको वङ्गभङ्ग (जुलाई सन् १९०५ मा बंगाललाई टुक्राएर इष्ट र वेष्ट बंगाल बनाइएको)। त्यसले भारतवर्षभरि तहल्का मच्चिएको थियो। वङ्गभङ्गलाई समर्थन गर्दा गान्धी पनि आलोचित भए। ६६ वर्ष पछि वङ्गभङ्ग मात्र रहेन छुट्टिएको वङ्ग साँच्चै स्वतन्त्र राष्ट्र बन्यो।

अहिले हाम्रो देशमा पनि त्यस्तै भेदनीतिको गुरुयोजना अनुसार पहाडबाट तराई छुट्याउने चलखेल मात्र छेडिएको छैन, पहाड मधेशको बीचमा एउटा बडो विद्वेषको विषवृक्षलाई बढाउन प्रशस्त मलजल गरिंदैछ। यसको परिणामलाई हाम्रा राजनीतिक कर्णधारले राम्रोसँग हृदयङ्गम गर्नुपर्ने वेला आएको छ।

विश्वलाई हल्लाउने त्यतिवेलाको अर्को घटना भनेको जापानले रूसमाथि विजय प्राप्त गर्नु थियो। उदीयमान अंगे्रजी साम्राज्यलाई पहिलो चोटि गोरखालीले पराजय भोगाएका थिए भनेजाज्वल्यमान अर्को यूरोपेली शक्ति रूसलाई शोगुनको निरंकुश शासनबाट स्वतन्त्र भएको करीब तीन दशकमै जापानले पराजय भोगायो। यस युद्धमा जापानलाई नेपालले पनि सघाएको थियो। त्यसवेला एशियामा यूरोपियन साम्राज्यलाई टक्कर दिने यिनै दुई शक्ति देखिए। जसले उस वेला विश्वलाई झ्कझ्क्याएको थियो।


श्री ३ महाराज रेजिडेन्ट कर्णेल र्‍याभिन्सा संवाद

रेजिः लार्ड कर्णेलले (कर्जन इण्डिया आउनालाई) राजा रानी सित विदावारी भैसके. यी वायसरायहरूमा सवभन्दा ठूला (नामवर) भयेपछि विलायेतमा प्राइमिनिष्टर हुने कुरा गर्छन्. महाराजसंग यसपाली (हजुरसंग गयेको हिउदो) कलकत्तामा लामु कुरा भयेमा नेपाल हेर्न आउने कुरा लाठ साहेवले बिर्सेको होवैन. कर्जन आउने (आउकी भनी कर्जनले) प्रयोजन उनीले पठाउन नपाउदै यताबाट अगावै निम्तो गये कति राम्रो हुन्थ्यो. महाः लार्ड कर्जन वायसरायहरूमा सबभन्दा ठूला वायसराय हुन्.

प्राइमिनिष्टर पनि हुनेछं (लार्ड कर्जन बहूत अकलमन्द हुन्. बुद्धिका जोर्ले विलायतको प्राइमिनिष्टर हुनामा केही ताज्जुव छैन) नेपाल आउने कुरा गर्नु हुने छैन (लाठ सावले फेरि कुरा उठाउनु होला भन्ने मनमा लाग्दैन) मैले अवजेक्सन उठायेको बिर्सिसक्नु भयेको होवैन (मेरो अवजेक्सन कदापि भुल्नु हुने छैन. महाराज वीरशंशेरले १२ वर्ष प्राइमिनिष्टरलाई ठूलो जोरावर भइसकेपछि पनि यो कुरा आंट्न सक्नु भयेन (सकेनन्)

रेजि.(मेरो पालामा) यत्ति काम भइदिये देखि मेरो नाउ पनि वेस चल्ने थियो. कर्जन उसवेला मसंग सोध्दा माराजबहुत पावरफुल भैवक्सेको छ भनेको अहिले झन् ज्यादा पपुलर भैबक्सेकोले पनि नेपाल आउने कुरा उठाउने छन्. यो कुरा नहुनु त म केही देख्दीन. (यो कुरा बिर्सलान् भन्ने लाग्दैन नेपाल आउनाले बिगार हुने म केही देख्दीन.)

महा.अघि सर वीरको पाला कर्जन नेपाल आउने कुरा उठ्दा जेनरल वाइलिसंग कुरा भयेको डायरीमा हेर्नुहोला तेसवेला कुरा हुदा (भयेका बखतमा) म पनि सामेल्मा हुनाले मलाई भयेका कुरा राम्रो याद छ मैले अवजेक्सन मुनासीव वाहापछि बुझ्नुहोला।

रेजी.जेनरल वाइलिको डायरी म हेरूंला. तै राम्रो गवर गरी हेर्नुहोला पछि कर्जन विलायत गएर प्राइमिनिष्टर भयेपछि कस्तो काम लाग्ला.

महा.कर्जन आउनाले मेरो बेहत्तर होला. यो कुरा मान्दछु. तर सबै भाइ भाइदारको चित्त नबुझाई नहुने हुनाले चित्त बुझाउन गाह्रो हुनेछ.

रेजी.अघि सर वीरको पालामा र अैलेको जमाना धेरै फरक भइसक्यो. अैलेको घर विजुली बत्ति कस्तो छ. सबै थोकमा तरकी भैसकेको छ (जति तरकी हुदै जान्छ. उति आफूलाई अनेक कुरा चाहिने हुन्छ. यसैले सरवीरको पालामा याहाँको जस्तो विजुलि फर्निचरहरू थियो कि?)

महा. विजुली बत्ति सरवीरको पालामा पनि थियो. तर यस्तो साफ भयेन तडक भडक सजिसजाउलाई उनका पालामा ज्यादा थियो. फर्निचरहरू उनको पालामा धेरै थियो. अैले त मकाहा के छ. उनको बैठक इत्यादि साहेवले (देख्नु) भयेको छैन.

रेजी.रूस जापानको लडायींमा रूसलाई दबाउदै गयो. ज्यानको बहुत नास भयो तर घाइतेमा सयेकडा २ देखि मर्दैनन् अनि मेजर ह्वाइट्ले भन्थ्यो.

महा.दुवैतिर धेरै मारियो बोरवार (वर्ल्ड वार)मा त २ परसन्ट भन्दा ज्यादा मरेनन्. केही फन्ड उठाइ जापानिजलाई पठाउने कुरा केही साहेवसंग कप्तानले सुनाउदा (गर्‍या)थ्यो कि?

रेजि.सुनाथेथ्यो (मसंग कुरा गरेथ्यो) बहुत बढिया हो कति जति चन्दा उठ्यो.

महा.अन्दाजी ३००० रूपैया उठेको छ. पठाईदिनु भनि दियें

रेजि.रेजीडेन्सीमा काम गर्ने कालिगरहरूलाई महिनाको १६।१७ रूपयां दिने गरे तापनि राजि गराई (मिहिनेतसाथ) कार्यालय सकीन भनि वभर्सियर्ले (मसंग भन्थ्यो) सस्तो वसाहामा दियेको ज्याला बमोजीम दि आयाको छ. (बजारमा भन्दा पनि ज्यादा कम रेजीडेन्सीमा पाउंछन् अरे भनी मेजर ह्वेटले भन्थ्यो. हो किन तेसो भये बजारमा चलेको दरभन्दा काममा कामा लिन चाहन्न.

महा.बजारमा चलेको ज्यालाको करीब आधी ज्याला रेजीडेन्सीमा पाउने गरेको छ. येस्मा अघि लेख पढी पनि यति धेरै भयेको छ. अघि सस्तो वेसाहा बखत भयेका ज्यालाको निरख अझसम्म पनि वहि कायम रहन गयेको छ. ज्याला वही बमोजीम दि आयाको छ. पैले र अैले अनाजको भाउ धेरै फरक भैसकेको हुनाले (कालिगढहरू रेजिडेन्सीमा काममा पठाउदा राजिसंग नजाने हुनाले केही जबर्जस्ती देखाउनुपर्ने भयेको छ यसै विसयेमा) साहवसंग असल मिजासके बखतमा कुरा गर्नु भनि कप्तानलाई भनेको पनि छु. साहेवसंग कुरा पनि गर्लान्.

रेजी.महाराजबाट कुरा गर्नु पठाउनु भयेमा सधैं मेरो मिजाज असलै रहन्छ. चलेका दर भन्दा कम ज्याला कालिगढहरूलाई दी रेजिडेन्सीमा काम लिन अयोग्य हो– त्यस्तो दरमा.

comments powered by Disqus

रमझम