२३-२९ फागुन २०७२ | 6-12 march 2016

देउवाको पल्ला गह्रौं

Share:
  
- पुरञ्जन आचार्य
नेपाली कांग्रेसको सभापतिमा रामचन्द्र पौडेलको सन्देश तलसम्मका प्रतिनिधिमा पुगेकै थिएन।

संस्थापन समूहबाट सभापतिका लागि तयार भएका सुशील कोइरालाको अचानक देहावसान भएपछि त्यसमा रामचन्द्र पौडेललाई स्वीकार्य बनाइए पनि उनका लागि तलैबाट प्रतिनिधि चयन भएका छैनन्। २५ माघ अगाडि संस्थापन खेमाका सबै प्रतिनिधि सुशीलका नाममा चयन भएका थिए। रामचन्द्र कुनै गुटको नेता होइनन्। शशांक कोइराला परिवारको उत्तराधिकारीका रूपमा महामन्त्रीका उम्मेदवार भएका हुन्। हिजो सुशीलसँग लागेर पौडेलको विरोध गर्ने शशांक नै आज पौडेललाई संस्थापनको नेता मानेर कोइराला परिवारको विरासत जोगाउन महामन्त्रीका लागि तम्सिएका छन्।

देउवालाई सहजता!

प्रतिनिधि चयन या संस्थापन (सुशील) या त देउवा समूहका नाममा भएका थिए। सुशीलका नाममा चयन भएका प्रतिनिधिहरू उनको देहावसानपछि छिन्नभिन्न जस्तै भएका छन्। त्यसलाई एकत्रित गर्ने चुनौती तीन कोइराला (शशांक, शेखर र सुजाता) मा छ। पूर्वाञ्चलबाट चुनिएका संस्थापन खेमाका धेरै प्रतिनिधि काठमाडौं आएपछि देउवातिर लागेका छन्। यो चुनौतीको सामना कोइरालाहरूको समीकरणले गरिरहेको छ।

यसरी पौडेलभन्दा देउवा सहज स्थितिमा छन्। एक वर्ष अघिदेखि नै सभापतिको तयारीमा लागेका देउवाको पक्षमा अघिल्लो महाधिवेशनको तुलनामा प्रतिनिधि बढेका देखिन्छन्। देउवाले पहिल्यैबाट हाँक्दै आएको समूहमा कोइरालाहरूसँग असहमत ठूलो संख्या छ। कोइराला समूहबाट पछिल्लो समय उछिट्टिएकाहरू पनि त्यहीं पुगेका छन्। देउवाको छत्रछायाँमा उपगुटले संरक्षण पाउँछ भनेर पनि त्यहाँ पुग्नेको संख्या बढेको छ। केही पुराना त्यागी र गणतन्त्र नरुचाएका नेताहरू पनि त्यहीं छन्। संस्थापन समूहका प्रतिनिधिहरू चाहिं सभापति कसलाई छान्ने भन्ने अलमलमै छन्, अझै।

संस्थापनकै 'बी' समूहका रूपमा खडा कृष्णप्रसाद सिटौला र गगन थापाहरूको समूह मुद्दा र राजनीति दुवै हिसाबले पछिल्लो दशकको सक्रिय समूह हो। तीन समूहमध्ये राजनीतिक रूपमा 'सोलिड' र 'फ्रेस' यही समूह छ। 'सेन्टर टु दी लेफ्ट' यो समूहसँग मुद्दा छ। मुद्दा कार्यान्वयनको तहमा पनि सक्रिय समूह हो, यो। यति हुँदाहुँदै पनि सबभन्दा कमजोर समूह पनि यही हो। उता देउवा समूहमा पहिलो पुस्ताका 'सेन्टर टु राइट' नेता धेरै छन् देखिन्छन्। विरासत–विरासत भनिरहेका 'सेन्टर टु लेफ्ट' पौडेल सुधारवादी कुरा गर्छन् भने उनका महामन्त्रीका उम्मेदवार शशांक 'एक्स्ट्रिम राइट' पथका। गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामै पुनर्विचार हुनुपर्छ भन्ने उनको विचार छ।

संस्थापन भनिने पौडेल समूहमा कृष्ण सिटौला, अर्जुननरसिंह केसी, गगन थापा कसैले पनि ठाउँ पाएनन् भन्ने सन्देश गएको छ। वास्तवमा संस्थापनको नाममा चलाइरहेको गिरोहले संस्थापनलाई बन्नै दिंदैन। त्यहाँ 'कन्जरभेटिभ' हरूको पर्खाल छ। त्यसले गर्दा गगन र सिटौलाहरूलाई अप्ठ्यारो भयो। महाधिवेशनबाट विजयी नै भयो भने कांग्रेसको यो संस्थापन कालान्तरमा वागमती र गण्डक क्षेत्रमा केन्द्रित हुनेछ। यसमा समावेशीपन पनि देखिदैन।

पौडेल समूहबाट सार्वजनिक नामहरू अत्यन्त 'कन्जरभेटिभ' देखिन्छ। यो समूह कोइराला परिवार र काठमाडौंकेन्द्रित देखिन्छ। त्यहाँ मधेशी, महिला, आदिवासी जनजाति, दलितलगायतको पहुँच एकदम कमजोर हुँदैछ। देशको 'मूड' हेर्दा संस्थापन समूहले गम्भीर पुनर्विचार गर्नुपर्ने देखिन्छ। बरु यसमा देउवाको समूह केही राम्रो देखिन्छ। त्यसको असर 'भोटिङ प्याटर्न' मा देखिनेछ।

'कम्फर्टेबल' शशांक!

पौडेल समूहबाट प्रभावकारी चाहिं कोइरालाहरू नै हुन्छन्, खासगरी विराटनगरका कोइराला परिवार। विराटनगरसँग सम्बन्ध टुटिसके पनि शशांकसँग बीपी कोइरालाको लिगेसी छ। शेखर र सुजातासँग चाहिं विराटनगरको लिगेसी छ। त्यहीकारण शशांकलाई कोइराला परिवार मिलाउने बाध्यता आइलागेको हो। यसमा सफल भएकोले महामन्त्रीमा उनको दावा अरूको भन्दा 'कम्फर्टेबल' मा देखिन्छ। उनीसँग पारिवारिक विरासत पनि छ, अर्को उनका प्रतिस्पर्धी पारिवारिक रूपमै विभाजित छन्, देउवा समूहबाट महामन्त्रीका प्रत्यासी अर्जुननरसिंह केसीलाई जुन ढंगले प्रतिनिधि चुनिएर आए, त्यसको लाभ छैन।

अर्को, कांग्रेसमा आन्दोलनबाट आएका गगन थापा जस्ता थुप्रै ऊर्जावान् युवा नेता हराएका छन्। 'मास बेस्ड' भनिए पनि कांग्रेस अहिले कम्युनिष्ट शैलीकै 'क्याडर बेस्ड' पार्टी हुनपुगेको छ। आर्थिकसँगै व्यक्तिगत मानसम्मान र प्रतिष्ठामा रुचि हुने कार्यकर्ताले 'मास' मा प्रभाव भएका नेतालाई हत्तपत्त छान्दैनन्। त्यो प्रवृत्तिले गगनलाई सहज नपार्न सक्छ। क्रियाशील सदस्यहरूबाट छानिएर आएका प्रतिनिधिहरूले पार्टीको मुख्य शक्तिकेन्द्र को हो भनेर हेर्छ। यो पंक्तिले शशांकलाई 'क्रस' गरेर अरूलाई भोट नहाल्ने सम्भावना बढी छ।

'कन्स्पिरेसी थ्यौरी'

कांग्रेसको नेतृत्वमा देउवालाई ल्याउन भारतले सहयोग गर्दैछ भन्ने चर्चा पनि चलाइएको छ। मुलुकका प्रमुख पदहरूमा कम्युनिष्टहरूले कब्जा गरे भन्ने चर्चा यही हल्लासँग जोडिएर आउँछ। यसबाट भारत समेत त्रसित देखिन्छ। अर्को, भूराजनीतिको कारणले पनि भारत त्रसित छ। किनभने यहाँ 'चाइना फ्रेन्ड्ली' समीकरण बनेको छ भन्ने भारतलाई परेको छ। संविधानमा 'हिन्दूराष्ट्र' नभएपछि नेपाल 'र्‍याडिकल कम्युनिष्ट पथमा गयो' भन्ने उसलाई परेको देखिन्छ।

अहिले महाधिवेशन प्रतिनिधिहरूको ठूलो संख्यामा हामी पार्टी सभापति मात्र हैन, भावी प्रधानमन्त्री पनि छान्दैछौं भन्ने मनोविज्ञान झ्ल्किन्छ। यसलाई भूराजनीतिसँग जोडेर हेर्दा त्यो उद्देश्य प्राप्तिका लागि देउवा नै प्रभावकारी उम्मेदवार हुनसक्छन् भन्ने भारतको सोच हुनसक्ने देखिन्छ। वास्तवमा यो 'कन्स्पिरेसी थ्यौरी' हो। संविधान निर्माणका क्रममा मधेश र थारूका मुद्दाप्रति कठोर देखिएका देउवाले 'कोर मधेश' भनिने प्रदेश नम्बर २ बाट धेरै प्रतिनिधि ल्याएका छन्। त्यो स्वाभाविक प्रक्रिया मात्रै होला त?

(वार्तामा आधारित)

comments powered by Disqus

रमझम