रामचन्द्र पौडेल
२०४८ सालको आम निर्वाचनपछिको सरकारमा स्थानीय विकास तथा कृषिमन्त्री र २०५१ को मध्यावधि निर्वाचनपछि प्रतिनिधिसभाको सभामुख बनेका पौडेल २०५६ को आम निर्वाचनपछि उपप्रधान तथा सञ्चारमन्त्री र लगत्तैको मन्त्रिपरिषद्मा उपप्रधानसहित गृहमन्त्री भए। २०६२/६३ को जनआन्दोलनपछिको सरकारमा भने उनी शान्ति तथा पुनःनिर्माणमन्त्री बने। २०४८ यताका सबै निर्वाचन जितेका पौडेल समकक्षीहरूका नजरमा कांग्रेसभित्रका 'भाग्यमानी' नेतामध्ये पर्छन्। माधवकुमार नेपाल नेतृत्वको सरकार विघटनपछिको प्रधानमन्त्री निर्वाचनमा भने उनी १७औं पटकसम्म पराजित भए।
गुटबन्दी नगर्ने 'मध्यमार्गी' धारका नेताको परिचय बनाएका पौडेल आफूलाई समाजवादका अनुयायीका रूपमा उभ्याउन सफल छन्। यद्यपि, गुटबन्दी गर्न नसक्नु नै उनको अक्षमता पनि बन्यो। अहिले सभापति पदका प्रत्यासी शेरबहादुर देउवाले २०५९ सालमा पौडेलले नै पार्टी विभाजन गर्न आफूलाई उक्साएर अन्तिम घडीमा धोका दिएको आरोप लगाउँदै आएका छन्। पौडेलले २०५७ को होलेरी काण्डपछि गृहमन्त्रीबाट राजीनामा गरेर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई संकटमा पारेको र त्यहींबाटै लोकतन्त्रमाथि संकट आएको ठान्ने कांग्रेसजन पनि छन्।
स–साना कुराबाट तरंगित भइहाल्ने स्वभावका पौडेलबाट आफ्नो राजनीति सुरक्षा नहुने ठान्ने नेता–कार्यकर्ता कांग्रेसमा मनग्य छन्। उनीहरूको बुझ्ााइमा, कांग्रेसभित्र पौडेल 'सेकेण्ड म्यान' का उत्तम नेता हुन्।
जित्ने आधार
सादा जीवनशैली र लोकतन्त्रप्रति निष्ठा।
बीपीले भनेका संभावनायुक्त पाँच युवामध्येका एक।
स्थापनाकालदेखिको संस्थापन रहेको कोइराला परिवारको साथ।
प्रभावशाली नेताहरू प्रकाशमान सिंह, रामशरण महत, महेश आचार्यलगायतको सहयोग।
कांग्रेसको संस्थापन भनिने पंक्तिको उम्मेदवार।
हार्ने कारण
वंशवादी विरासत जोगाउन प्रयासरत रहेको आरोप।
संस्थापन पक्षमा भएको फुट।
आम कांग्रेस चरित्र विपरीतको स्वभाव र व्यवहार।
संस्थापनलाई पटक–पटक अप्ठेरोमा पारेको विगत।
मधेश नबुझेका नेता।
शेरबहादुर देउवा
बीपीले 'सम्भावनायुक्त गुड ब्वाइ' भनेका देउवा कोइराला परिवारसँगको निकट सम्बन्धकै सिंढी चढेर २०५२–६१ को अवधिमा तीनपटक प्रधानमन्त्री बने। पोखरा महाधिवेशनमा गिरिजाप्रसाद कोइराला विरुद्ध सभापतिमा उम्मेदवारी दिएका उनले त्यसयता संस्थापन विरोधी खेमाको नेतृत्व गरे। २०५९ सालमा संसद् विघटन गरेर 'प्रजातन्त्रलाई दरबारमा बुझ्ााएको' आरोप खेपेका देउवाले त्यसलगत्तै पार्टी विभाजन गरे। २०६१ मा राजा ज्ञानेन्द्रले सरकार अपदस्थ गरेर प्रधानमन्त्री देउवालाई 'अक्षम' भन्दै १० महीना नजरबन्द गरे।
२०४८ यताका सबै निर्वाचन जितेका देउवामाथि २०६२/६३ को आन्दोलनपछि मूल कांग्रेसमा फर्केर ६०ः४० को भागबण्डे राजनीतिलाई संस्थागत गरेको आरोप लाग्ने गरेको छ। उनले पार्टी विभाजनपछि गरेको समावेशीकरणको आन्तरिक अभ्यास अहिले नेपाली राजनीतिको अभिन्न अंग बनेको छ। देउवालाई निर्णय क्षमता र राजनीतिक इमान भएको नेता मानिन्छ। यस्तो जससँगै पछिल्लो डेढ दशक पार्टीमा 'स्थायी प्रतिपक्ष' भएर नेपाली कांग्रेससँगै मुलुकको राजनीतिक विकासमा बाधा पुर्याएको, सुशासनलाई कमजोर पारेको लगायतका आरोप पनि लाग्दै आएको छ, देउवामाथि।
जित्ने आधार
राजनीतिक इमानमा प्रष्ट।
मधेशको नजरमा कोइरालापछिका अनुकूल।
समावेशी लोकतन्त्रको अग्रणी अभ्यासकर्ता।
नेता/कार्यकर्तालाई संरक्षण र प्रशस्त व्यक्तिगत गुन।
राजनीतिक व्यवस्थापकहरूको प्रभावशाली टीम।
तुलनात्मक रूपमा बढी अन्तर्राष्ट्रिय एक्स्पोजर।
हार्ने कारण
सदावहार संस्थापन प्रतिनिधित्वको अभाव।
पार्टी फुटाएको र प्रजातन्त्र दरबारमा बुझाएको आरोप।
एकतापछि पनि पार्टीमा ६०:४० को भागबण्डा र भ्रष्टाचार संस्थागत गरेको आरोप।
पारिवारिक विरासतको अभाव र न्यून प्रतिनिधि रहेको सुदूरपश्चिमबाट प्रतिनिधित्व।
विलासी जीवनशैलीको आरोप।
कृष्णप्रसाद सिटौला
नेता–कार्यकर्ताको मन जित्न सक्ने सिटौला २०५६ सालको संसदीय निर्वाचनमा विजयी भएपछि पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको नजिक भएर राष्ट्रिय राजनीतिको केन्द्रमा रहे। कोइरालाको 'प्रक्रिया होइन परिणाम खोज्ने' शैलीका लागि विश्वासिलो सहयोगी उनले हिंसात्मक आन्दोलनरत नेकपा (माओवादी) लाई शान्तिप्रक्रियामा ल्याउने १२ बुँदे समझदारी गराउनेदेखि संविधान निर्माणसम्मको काममा महत्वपूर्ण भूमिका खेले। गिरिजाप्रसादले २०६३ को संयुक्त सरकारमा सिटौलालाई गृहमन्त्री बनाए।
सिटौलाले कांग्रेसको १२औं महाधिवेशनपछि पार्टी महामन्त्रीमा मनोनीत भएर आफ्नो सञ्जाललाई देशव्यापी बनाए। दोस्रो संविधानसभामा संविधान मस्यौदा समितिका सभापति र अन्तरपार्टी संवादहरूको मुख्य सदस्यका रूपमा सक्रिय उनले गिरिजाप्रसादपछि सुशील कोइरालाको पनि नजिक रहेर संस्थापनलाई सहयोग गरे। १३औं महाधिवेशनमा आइपुग्दा उनी कांग्रेस सभापतिको दाबेदार बनेका छन्।
९ वर्षकै उमेरमा आमा गुमाएपछि दाजु–भाउजूको रेखदेखमा हुर्किएका सिटौला बाहिर जति सामान्य देखिन्छन्, विरोधीलाई प्रहार गर्न उति नै कडा मानिन्छन्। सात्विक सिटौला जय गुरुदेवका नामले चिनिने भारतका तुलसीदास महाराजको पन्थका दीक्षित हुन्।
जित्ने आधार
मिहिनेती, बोलेका कुरा पुर्याउन जोखिम मोल्न सक्ने।
स्पष्ट वक्ता।
पछिल्लो परिवर्तनको स्वामित्व बोक्न सक्ने नेता।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र संविधान निर्माणमा महत्वपूर्ण भूमिका।
हार्ने कारण
कांग्रेसजन सहज नबनेको उम्मेदवारीलाई अति महत्वाकांक्षी र कुनै षडयन्त्र अन्तर्गत भएको मानिनु।
बीपीको सम्पर्कमा हुर्केकाहरूबीच कनिष्ठ मानिनु।
अस्वाभाविक विद्रोही स्वभाव।
लेनदेन र लाभहानिमा विश्वास।
कार्यकर्तालाई गुन लाउने र संरक्षण गर्नेमा 'टेस्टेड' नहुनु।