कुम्भको सौन्दर्य

Share:
  
- शंकर तिवारी
संविधानसभाबाट संविधान जारी गरेको श्रेयका साथ महाधिवेशनमा जुटेको देशकै ठूलो दल नेपाली कांग्रेसप्रति नेपालीको एउटा ठूलो हिस्साको आशा र छरछिमेक तथा बाँकी संसारको रुचि केन्द्रित छ।

गोपेन राई
नेपाली कांग्रेस पार्टीको १३औं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिने क्रममा सोसलिष्ट इन्टरनेशनलका महासचिव लुई आयलाले 'यो महाधिवेशन अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनका लागि दिशानिर्देशक हुने' बताए। कांग्रेस अधिवेशनको महत्व दर्शाउन यो भनाइ पर्याप्त छ। नेपाली राजनीतिको दिशा र दशा बदल्न सक्ने कांग्रेस पार्टीको सामर्थ्य बुझ्ेकाहरूले कांग्रेसजनको यो विशाल कुम्भ मेलालाई सुरुचिपूर्वक हेरिरहेका छन्।

२० वर्षलाई एउटा पुस्ता मान्ने हो भने नेपाली कांग्रेसमा तीन पुस्ताले लगानी गरेको छ। जसरी हिन्दूस्तानलाई अंग्रेजबाट आजाद बनाउन भारतीय राष्ट्रिय कंग्रेस पार्टीलाई ६/७ दशक लाग्यो, त्यसैगरी नेपालमा नेपाली कांग्रेसलाई राजनीतिक आन्दोलनको सर्वोच्च उपलब्धि गणतन्त्र हासिल गर्न त्यति नै समय लाग्यो। पहिलो संविधानसभा निर्वाचनमा द्वितीय स्थानमा खुम्चिंदा नेपाली कांग्रेस पार्टीको औचित्य सकिएको दाबी गर्नेहरूको कमी थिएन, तर दोस्रो संविधानसभा निर्वाचनमा स्थिति उल्टिएर लोकतन्त्र संस्थागत गर्ने ऐतिहासिक अभिभारा पायो।

संविधानसभाबाट संविधान जारी गर्ने आफ्नो स्थापनाकालीन 'अजेण्डा' पूरा गरेपछिको यो पहिलो महासम्मेलन हो, कांग्रेसको। संविधान जारी भएपछि महाधिवेशन गर्ने ठूलो पार्टी पनि कांग्रेस नै भएको छ।

२०४६ पछिको खुला परिवेशमा जन्मेको पुस्ताले कांग्रेस पार्टीको ऐतिहासिक विरासत थाहा पाउने अपूर्व अवसर हो, यो। यो पुस्तालाई पार्टीको औचित्य सम्झाउने, बुझाउने समय पनि यही हो। किनकि, नेपाली लोकतन्त्र टिकाउने, संविधानसभाबाट बनेको संविधान जोगाउने ल्याकत यो पुस्ताले राख्छ। तीव्र गतिमा मध्यम वर्गमा रूपान्तरित भइरहेको यो पुस्तामा पार्टीको पकड दह्रो हुँदा कांग्रेसको भविष्य सुरक्षित रहन्छ। १३औं अधिवेशनको पहिलो र महत्वपूर्ण सौन्दर्य यही हो।

नेतृत्व चयनको पारदर्शी प्रक्रिया यो महाधिवेशनको दोस्रो सौन्दर्य हो। २४० निर्वाचन क्षेत्र, भ्रातृ संस्था, प्रवासका जनसम्पर्क समिति तथा शुभेच्छुक संस्थाहरूबाट चयन भएर आएका ३ हजार २१८ जना प्रतिनिधिले नयाँ नेतृत्व छान्नेछन्। महाधिवेशनले दोस्रो पटक ७५ प्रतिशत केन्द्रीय कार्यसमिति निर्वाचित गर्नेछ। पुरानो अञ्चल संरचनाको साटो प्रादेशिक संरचना अवलम्बन गरेको यो महाधिवेशनले एक प्रदेशबाट दुई केन्द्रीय सदस्य निर्वाचित गर्दैछ।

निर्वाचनबाट विजयी हुने पहिलो महामन्त्री प्रकाशमान सिंह थिए। अहिले चर्चित युवा नेता गगन थापाले उम्मेदवारी दिएपछि पार्टी महामन्त्रीको निर्वाचन अझ् चाखलाग्दो भएको छ। यसलाई पार्टी सभापतिको निर्वाचन जति नै महत्वका साथ हेरिएको छ। वंश परम्पराबाट दीक्षित पार्टीमा नयाँ पुस्ताको नेतृत्व दाबी आफैंमा नवीन रचनात्मक संघर्षको द्योतक हो। यो महाधिवेशनमा परम्परागत उत्तराधिकारीहरूले आफ्नो योग्यता पुष्टि गर्नुपर्नेछ। उत्तराधिकार वा त्यसबाहिर जहाँबाट आए पनि प्रजातान्त्रिक विधिबाट निर्वाचित नेतृत्वले पार्टीलाई सबल बनाउनेछ।

देशलाई कुनै परिवारको नियन्त्रणबाट मुक्त गरेको पार्टी पारिवारिक कब्जामा रहनु भनेको आफ्नै इतिहासका प्रति अन्याय भएकोले आगामी दिनमा कांग्रेस पार्टीभित्र निर्वाचन विधिले अझ् महत्व पाउनेछ। १३औं महाधिवेशनले त्यसको ढोका खोलेको मात्र हो। विख्यात राजनीतिशास्त्री/समाजशास्त्री रवर्ट मिसेल्सले भनेको 'आइरन ल अफ आलिगार्की' तोडिने सम्भावना देखिनु कांग्रेस पार्टीमा आन्तरिक लोकतन्त्र मजबूत हुने संकेत हो।

गणतन्त्रको लडाईंमा खारिएको पुस्ताले कांग्रेस पार्टीभित्र गणतन्त्रको शालीन लडाईं लड्नु १३औं महाधिवेशनको तेस्रो सौन्दर्य हो। यो पुस्ताले पारिवारिक उत्तराधिकारीलाई आफ्नो योग्यता पुष्टि गर्न बाध्य पारेको छ। देशको सबभन्दा पुरानो दल भएकोले कांग्रेसमा यस्तो परिस्थिति पैदा भएको हो। क्वारेन्टाइन (परीक्षण) अवधि पूरा नभएको भनिएको पुस्ताले पार्टीभित्र नयाँ रक्तसञ्चार प्रवाहित गरेको छ। 'डेट एक्सपायर्ड' भएका र 'क्वारेन्टाइन' पूरा नभएका भनिएका पुस्ता बीचको लडाईंको संयोजनले नयाँ नेतृत्वलाई गतिशील बनाउने आशा गर्न सकिन्छ। पुस्तान्तरणको यो प्रक्रियाले महाधिवेशनको सौन्दर्यमा रौनक थपेको छ।

लगालग तीन वटा महाधिवेशन राजधानी काठमाडौंमा गरेर कांग्रेस पार्टीले विकेन्द्रीकरणको भावना आत्मसात् गरेको संकेत भने दिएको छैन। आगामी महाधिवेशनहरू अगाडि पार्टीले यसमा ध्यान दिनुपर्ने देखिन्छ।

comments powered by Disqus

रमझम