२३-२९ फागुन २०७२ | 6-12 march 2016

लुगा सुकाउने र्‍याक

Share:
  
लुगा सुकाउने समस्या समाधान गर्न बजारले ड्रइङ र्‍याकको विकल्प पस्किएको छ।

गोपेन राई
शहर–बजारमा जनघनत्व बढेसँगै बसोबासका अनेकन् अप्ठ्यारा थपिंदा छन्। जनसंख्यासँगै घर ठडिने क्रम बढ्दै जाँदा खुला स्थानको अभाव त भएकै छ। त्यससँगै बढ्दो जग्गाको भाउले घरहरुलाई कम्पाउण्ड बेगरको बनाउँदै लगेको छ। यस्तोमा अनेकन् बसोबासको समस्याभित्रै पर्न थालेको छ धोएका लुगा सुकाउने ठाउँको अभाव। झट्ट सोच्ने हो भने यो समस्या नै होइन जस्तो लाग्न सक्छ। “बाटोमै बाँस गाडेर डोरी टाँगी लुगा सुकाउने गरेका छौं”, बालाजु, बाइसधाराकी केशरी गुरुङ भन्छिन्, “कतिपटक त सुकाएका लुगा हराएका पनि छन्।”

खासगरी भाडामा बस्ने अधिकांशलाई यसले तनाव दिने गरेको छ। मर्का बुझ्ने कतिपय घरबेटीले कौसीमै लुगा सुकाउन दिन्छन्। तर, धेरैले यस्तो सहुलियत पाउँदैनन्। त्यसैले पनि राजधानीका अधिकांश घरमा कौसीका अतिरिक्त बार्दली, पर्खाल, झ्याल र शौचालयमा समेत लुगा सुकाइने गरेको छ। कोठाभित्रै डोरी टाँगेर लुगा सुकाउनु बाध्यता पनि छ। तर, बजारले यस्ता बाध्यता सम्बोधन गर्ने प्रयास गरेको छ।

बजारमा अहिले लुगा सुकाउने र्‍याक (ड्रइङ र्‍याक) देखिन थालेका छन्। कोठाभित्र डोरी टाँग्नुको सट्टा र्‍याक प्रयोग गर्दा सहज देखिन्छ। र्‍याकले कोठा सफा र व्यवस्थित देखाउन पनि मद्दत गर्छ। यस्ता र्‍याक पोर्टेबल (सजिलै सार्न मिल्ने) भएकाले कोठाभित्रै, बार्दलीमा वा झ्यालबाहिर पनि राख्न सकिन्छ। “खासगरी पानी ओभाएपछि लुगालाई ड्रइङ र्‍याकमा टाँग्नुपर्ने हो”, बागबजारस्थित ओएसिस फर्निसिङका श्याम भट्टराई भन्छन्, “तर, चिसै लुगा राखे पनि फरक पर्दैन।”

त्यसो त अचेल विद्युतीय ड्रइङ र्‍याक पनि प्रयोग गर्न थालिएको छ। तर, यस्ता र्‍याकले लुगा बिगार्ने मात्र होइन प्रयोगकर्ताको स्वास्थ्यमा समेत असर पार्न सक्ने बताइन्छ। त्यसैले साधारण र्‍याकमै घाम वा हावाबाट लुगा सुकाउनु उपयुक्त मानिन्छ। ठूला लुगाहरू डोरी वा ड्रइङ र्‍याकमा फिंजाए पनि मोजा, रुमाल, भित्री बस्त्र चाहिं 'मल्टी–क्लिप ह्यांगर' मै झुण्ड्याएर सुकाउन सकिन्छ।

'क्लोथ्स् हर्स' समेत भनिने ड्रइङ र्‍याकहरू छाता, खम्बा, कोक्रो गरी विभिन्न आकारका छन्। स्टील, काठ वा प्लास्टिकका र्‍याक किन्दा फोल्डिङ र नन–फोल्डिङ, उँचाइ बढाउन–घटाउन मिल्ने–नमिल्ने, चक्कासहित वा बाहेकका जस्ता विभिन्न विकल्प रोज्न सकिन्छ। कतिका लागि क्लोथ्स् हर्स भान्सामा भाँडा झुन्ड्याउन पनि सहयोगी बनेको छ।

विकसित मुलुकमा लुगा धुन र सुकाउनका लागि 'लाउन्ड्री रुम' नै बनाउन थालिएको छ। ती कोठामा वासिङ मशीन, क्लोथ ड्रायर, ड्रइङ र्‍याक, आइरन–बोर्ड आदि राखिन्छ। विस्तारै हामीकहाँ पनि लुगा धुने र सुकाउने छुट्टै कोठा बनाउने दिन आउला नै।

सजना बराल

comments powered by Disqus

रमझम