हतियारपछि कलम

Share:
  
आजका क्याम्पस प्रमुख गोविन्द भट्टराई (५३) भारतीय सेनाका पूर्व हवल्दार हुन् भन्दा पत्याउनै मुश्किल पर्छ।

गोपाल गडतौला
उवेला पाँचथर, थर्पुका अधिकांश युवाको सपना नै लाहुर जानु हुन्थ्यो। गोविन्द भट्टराई तिनैमध्ये एक थिए। छुट्टीमा आएका पल्टनेहरूले रौसीरौसी सुनाएका लडाईंका साहसिला कथा उनी ध्यानदिएर सुन्थे। साथीहरूसँगै कसरत गर्थे। उनलाई थाहा थियो, बाहुन–क्षेत्री थरकाले लाहुरे हुनु झ्ानै सजिलो छैन। तर, जिजीविषा मरेको थिएन।

एकदिन गोविन्दले छिमेकी लाहुरे दाइलाई पल्टनबाट आएको चिट्ठीको खाम फेला पारे। खाममा पल्टनको ठेगाना लेखिएको थियो। भोलिपल्टै उनले 'म स्नातक पढ्दैछु, भारतीय सेनामा भर्ती हुन चाहन्छु' भन्ने बेहोरा खुलाएर चिठी पठाए। अर्को महीना गोविन्दकै नाममा आसामको गुहाटीस्थित भारतीय सेनाको प्रान्तीय मुख्यालयबाट भर्ती खुलेको जानकारीसहितको पत्र आयो। २०४१ सालको एक बिहान उनी आसामतिर लागे।

शारीरिक र मानसिक सबैखाले परीक्षामा उत्तीर्ण गोविन्द आफ्ना ६८० नम्बरी मध्ये दोस्रा निक्लिए। २१ वर्षको उमेरमा उनको पहिलो पोष्टिङ इण्डियन आर्मी सर्भिस कोर (आईएएससी) अन्तर्गत महाराष्ट्रको औरंगबाद डिभिजन हेडक्वार्टरमा भयो। २०४९ सालमा उनी उत्तरी श्रीलंकाको टि्रंकोमालीस्थित भारतीय सैनिक डिभिजन खटाइए, जहाँ विद्रोही लिबरेसन अफ तमिल टाइगर्स इलम (लिट्टे) विरुद्ध भारतीय सेना तैनाथ थियो। भारत फर्केर झ्ान्डै एकदर्जन प्रान्तमा खटिए। पल्टनमै रहँदा उनले चण्डीगढस्थित बुन्देलखण्ड विश्वविद्यालयबाट अंग्रेजीमा स्नातक र स्नातकोत्तर सिध्याउन भ्याइसकेका थिए।

२०५६ सालमा सेनाले १५ वर्ष सेवा अवधि पुगेकालाई पेन्सनसाथ स्वेच्छिक अवकाश दिने बतायो। “रहर पूरा भइसकेको थियो, हातमा डिग्रीको सर्टिफिकेट पनि थियो”, उनी सम्झन्छन्।

परिवार थर्पुबाट झापास्थित दमक झारिसकेको थियो। ३६ वर्षीय गोविन्दलाई परिवारसँग आरामले सेवानिवृत्त जीवन बिताउने अवसर थियो। तर, एकवर्षपछि नै उनी दमकको सिद्धार्थ उच्चमाविमा अंग्रेजी पढाउन थाले। शिक्षाशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि गरे। २०५९ सालदेखि दमकको मदन भण्डारी प्रतिष्ठानको स्वास्थ्य विज्ञान क्याम्पसमा नियुक्त भए। तीन वर्षदेखि उनी यही क्याम्पसका प्रमुख छन्।

गज्जब त के छ भने पढाउँदाताका गोविन्दसँग परिचितमध्ये अधिकांशलाई उनी सेवानिवृत्त सैनिक हुन् भन्ने थाहै छैन। कारण, उनको सरसंगत पल्टने भन्दा बढी प्राज्ञिक व्यक्तिहरूसँग छ।

दुई छोरीका बुबा गोविन्दका लागि जीवन फरक फरक स्वादको परिकार हो। सैनिक, शिक्षापछि अहिले शेयर बजारमा चासो राखिरहेका उनी भन्छन्, “मलाई नयाँ चुनौती, नयाँ संगत र नयाँ अनुभव गर्न मनपर्छ।”

गोपाल गडतौला, झापा

comments powered by Disqus

रमझम