२३-२९ फागुन २०७२ | 6-12 march 2016

माछालाई एक जीवन

Share:
  
मत्स्यविज्ञ कृष्णगोपाल राजवंशीले नेपालको जैविक विविधता संरक्षणमा अतुलनीय योगदान दिएर गएका छन्।

रारा दहमा मात्र पाइने असला र नेपालमा पाइने महाशेर (शहर) को एक प्रजाति (तल)।
माछा पानीको प्राणी हो। यो जमीनमा बाँच्न, हावामा उड्न सक्दैन तैपनि माछा प्रजातिको संख्याले विश्वको जैविक विविधतामा जलचर, थलचर र नभचर सबै मेरुदण्ड भएका प्राणी प्रजातिको संख्यालाई उछिन्छ। माछा प्रजातिको विश्व संख्या २२ हजारभन्दा धेरै छ। दोस्रोमा चराचुरुङ्गी प्रजातिको संख्या १० हजार पुग्छ भने स्तनधारीको संख्या मात्र चार हजार पुग्न आउँछ।

जमीनप्रधान देश नेपालमा समुद्र, सागर छैन। तैपनि २३० प्रजातिका माछा हाम्रा नदीनाला, तालतलैया, दह, पोखरी र कुण्डहरूमा सुरक्षित छन्। हाम्रो पानी सामुद्रिक जस्तो नुनिलो नभएर स्वच्छ छ। विश्व वैभवमा स्वच्छ पानीका माछा प्रजातिको संख्या ८ हजार ४११ यकिन गरिएको छ। त्यस अर्थमा विश्वको २.७ प्रतिशत भन्दा धेरै स्वच्छ जल मत्स्य सम्पदा नेपालमा मौजुद छन्।

नेपाली संस्कृतिमा सगुन हो– माछा। अष्टमंगल भित्रको एक मंगल माछा हो। त्यसो त हिन्दू धर्मावलम्बीहरू विष्णु भगवानको पहिलो अवतारको रूपमा माछालाई पूजा आराधना गर्दछन्। त्यही माछा नेपालीको प्रिय एवं पौष्टिक आहाराभित्र पनि पर्छ।

कृष्णगोपालका कृति

नेपालको जैविक विविधतामा मत्स्य सम्पदाको अवस्था बुझ्ने हेतुले आजभन्दा ३६ वर्ष पहिले २०३६/३७ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान (नेराप्रप्र) को विज्ञान विभाग अन्तर्गत एउटा कृति तयार गर्ने योजना बनेपछि मैले प्रतिष्ठानको तर्फबाट मित्र कृष्णगोपाल राजवंशीलाई उक्त कार्य सम्पन्न गर्न आग्रह गरें। त्यसवेला सरकारको कृषि विभाग अन्तर्गत मत्स्य विकास शाखा प्रमुख रहेका उनको कृति 'अ जनरल विब्लिओग्राफी अन फिस एण्ड फिसरिज अफ नेपाल' २०३९ वैशाखमा नेराप्रप्रबाट प्रकाशित भयो।

त्यसको ३० वर्षपछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको सहयोगमा नेपाल मत्स्य विकास समाजले राजवंशीजीको परिमार्जित कृति प्रकाशित गर्‍यो। यो आलेखमा ती दुई कृतिको बीचमा स्रष्टाको स्मरण र श्रद्धाञ्जलीभाव प्रकट गर्ने जमर्को गरेको छु। नेराप्रप्रबाट प्रकाशित राजवंशीजीको पुस्तकमा त्यसवेला उपकुलपति रहेका अहिलेका राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको ज्यादै खँदिलो, स्वादिलो र कालजयी प्रकाशकीय आज ३४/३५ वर्षपछि पनि उत्तिकै महत्वपूर्ण–सान्दर्भिक छ। (हे. बक्स)

राजवंशीजीको पुस्तकको ९६ पृष्ठसम्म मूल पाठ समेटिएको छ, जहाँ नेपालका रैथाने माछा वैभव १७१ प्रजाति भएको खुल्न आउँछ। पुस्तकले कोशी, गण्डकी र कर्णाली जलाधार भित्रका नदी तथा अन्य कुन जलाशयबाट ती माछा पत्ता लागेका हुन् भन्ने यकिन जानकारी गराउँदछ। प्रत्येक प्रजातिको वैज्ञानिक नाम तथा नेपाली वा स्थानीय नाम देवनागरीमा उल्लेख छ। नेपालमा माछा विषयको अध्ययन, अनुसन्धान र अन्वेषणहरूको इतिहास केलाउने क्रममा कर्णेल कर्कपाटि्रकको ऐतिहासिक विवरण सन् १७९३ देखि यता सन् १९८१ सम्म दुई शताब्दीमा भएका वैज्ञानिक अनुसन्धानका ३३० वटा प्रकाशित कृतिलाई आधार बनाएर यो पुस्तक तयार भएको छ।

पाँच भागमा विभाजित पुस्तकको पहिलो खण्डमा अन्वेषण, अध्ययन र अनुसन्धानको विकास क्रमलाई स्थापित गर्ने प्रयास गरिएको छ भने दोस्रो खण्डमा संस्थागत विकासको विवरण छ। तेस्रो खण्डमा प्रकाशित सबै कृतिहरूको विधिवत् सूचीकरण भएको छ। चौथो खण्डमा नेपालका सम्पूर्ण माछा प्रजातिको फेहरिस्त दिइएको छ भने पाँचौं र अन्तिम खण्डमा आर्थिक दृष्टिले महत्वपूर्ण केही माछाको सचित्र वर्णन छ। कलाकार गंगाराम प्रधानका सुन्दर रेखाचित्रहरूले असला, महाशेर (शहर) का दुई प्रजाति, कत्लेका तीन प्रजातिका साथै रोहु, नैनी (मृगाल) लगायत बढी खेती गरिने आयातीत प्रजातिहरू कमन कार्प, सिल्भर कार्प, ग्रास कार्प र बिगहेड कार्पलाई सजिलै चिह्न सक्ने आधार प्रदान गरेको छ।

स्व. कृष्णगोपाल राजवंशी।

माछामाथि दोस्रो कृति

राजवंशीजीले नेपालको मत्स्य वैभवको विस्तृत जानकारी दिने हेतुले २०३९ वैशाखमा प्रकाशित 'अ जनरल विब्लिओग्राफी अन फिस एण्ड फिसरिज अफ नेपाल' लाई मूल आधार बनाएर सन् २०१२ मा अर्को पुस्तक निकाले– 'वायोडाइभर्सिटी एण्ड डिस्ट्रिब्युसन अफ फ्रेस वाटर फिसेज अफ सेन्ट्रल (नेपाल) हिमालय रिजन'। ३० वर्षको दौरानमा विभिन्न वैज्ञानिक नेपालको माछा वैभवमा ५९ नयाँ प्रजाति थपेर १७१ बाट २३० पुर्‍याउन सफल भएका छन्। तीमध्ये १६ प्रजातिका माछा नेपालको सिमानाभन्दा बाहिर पाइएको छैन। समुद्र सतहभन्दा २९०० मिटर अग्लो पर्वतीय जलाशय रारा दहमा पाइने तीन प्रजातिका असला माछा अन्यत्र पाइँदैन। नेपाल बाहिर नपाइने जीव र वनस्पतिहरूबारे हिमाल खबरपत्रिका (हे. 'जो नेपाल बाहिर कतै जाँदैन, कतै पाइँदैन' १६–३२ जेठ २०५८) मा पनि उल्लेख छ।

राजवंशीजीको नयाँ कृतिले २३० प्रजातिका माछाको वैज्ञानिक वर्गीकरणका अतिरिक्त तिनीहरूलाई कोशी, गण्डकी, कर्णाली र महाकाली जलाधारका कुन नदीनालामा पाइन्छ भन्ने विश्लेषणात्मक तालिकामा बाँधिएको छ। पुस्तकमा नेपालका प्रमुख ताल, पोखरी एवं सिमसारहरूको छुट्टाछुट्टै लगत प्रस्तुत छन्। प्रत्येकको नाम, तिनको जिल्ला, गाउँ विकास समिति तथा क्षेत्रफल समेत अंकित छन्। पुस्तकमा नेपालको जलविद्युत् परियोजनामा माछाको संरक्षण र विकासका सम्भाव्यताहरू केलाएर सन् २०१०/११ सम्मको परियोजना र तिनका क्षमताका फेहरिस्त पनि छन्। मत्स्य विकासको दृष्टिले नेपालको जलसम्पदा र विद्युत् परियोजनाहरूका विवरण ज्यादै मननीय छन्।

पुस्तकले नेपाललाई मध्य हिमालको परिभाषाभित्र राखेर विश्लेषणात्मक भौगोलिक विवरणहरू प्रस्तुत गरेको छ। १३६ पृष्ठ मूल पाठ भएको पुस्तकको मूल्य रु.४०० छ। पुस्तकको बिक्रीवितरण नेपाल मत्स्य विकास समाजबाट हुने गरेको छ। जीव विज्ञानका विद्यार्थी, मत्स्य विकासका प्राविधिज्ञ एवं जैविक विविधता संरक्षण र सम्वर्द्धनमा चासो राख्नेहरूको लागि दुवै पुस्तक निःसन्देह रुपमा महत्वपूर्ण सन्दर्भ–ग्रन्थ बनेका छन्। लेखक कृष्णगोपाल राजवंशी ९ माघ २०७२ मा परलोक भएबाट नेपालले एक जना वरिष्ठ जीव वैज्ञानिक गुमाएको छ। उनले आफ्नो ७६ वर्षे आयु माछाको अध्ययन, अनुसन्धान, मत्स्य विकास र प्रविधि विस्तारमा लगाए। हामी उनका साथीहरू राजवंशीजीमा माछा देख्दथ्यौं र माछामा राजवंशी।

पहिलो कृति

वि.सं. २०३९

दोस्रो कृति

वि.सं. २०६९

नेपालदेखि संसारसम्म

भारतको गोरखपुर विश्वविद्यालयबाट (सन् १९६२–६४) जीव विज्ञानमा स्नातकोत्तर गरेपछि जर्मनीको ह्यामवर्ग इर्लान्जेन विश्वविद्यालयबाट मत्स्य विकास सम्बन्धी विशेष डिप्लोमा (१९६४–६७) गरेका राजवंशीले नेपालको मत्स्य विकास सेवामा २४ वर्ष विताए। त्यसपछिका दिनहरूमा मत्स्य विशेषज्ञका रूपमा एफएओ, यूएनडीपी, एडीबी, विश्व ब्यांक आदि अन्तर्राष्ट्रिय संघसंस्थामार्फत अमेरिका, जापान, भूटान, श्रीलंका, पाकिस्तान, बाङ्लादेश, लाओस, केन्या, भारत र चीनका मत्स्य योजनाहरूमा योगदान गरे। उनी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ तथा नेपाल मत्स्य विकास समाजका आजीवन सदस्य थिए।

सुपुत्र डा. विजयको अस्तित्वले राजवंशीजीलाई भौतिक जीवन्तता प्रदान गर्ने नै छ। उपरोक्त दुई पुस्तक एवं अरू कृतिहरूले पनि उनलाई जिउँदो राख्न मद्दत गर्नेछ भन्ने विश्वासका साथ ४५ दिने पुण्यतिथि (२४ फागुन २०७२) को अवसरमा प्रिय मित्र कृष्णगोपाल राजवंशीप्रति श्रद्धाञ्जली अर्पण गर्दछु। ॐ नमः शिवायः।


प्रकाशकीय

नेपाली लोककाव्यमा– माझीले खोलामा जाल हान्छ, जालभित्र सुनको टीका लगाउने माछो पर्छ, माछाभित्र कलात्मक मञ्जुषा हुन्छ, मञ्जुषाभित्र अपूर्व सुन्दरी कन्या मुस्कुराइरहेकी हुन्छिन्। यो काव्यकल्पनालाई आज यथार्थको भाषामा यसरी भन्न सकिन्छ– नेपालका अपार जलभण्डारमा अन्वेषण गरौं, त्यहाँ नौबीस माछा पाइनेछन्, नौबीसे माछाभित्र समृद्धिकी सुन्दरी बालिका मुस्कुराउनेछन्। ती शुक्लपक्षको जून जस्तै हलक्कै बढ्नेछन् र यो अन्नपूर्ण र माछापुच्छ्रेको देशमा हामीलाई थालभरि भुजा र माछा पस्कनेछन्।

आज उत्तम पोषक तत्वको निम्ति विश्वले विशाल समुद्रहरूबाट मत्स्यदोहन गरिरहेको छ। हामीकहाँ समुद्र त छैन, तर प्रति वर्ष समुद्रको सारस्वरुप हिउँ आफ्नो शिरमा बोकेर उभिने हिमाल छ। हाम्रा असंख्य हिमशिखरबाट नदीनाला, तालपोखरी र मूल फुट्ने अनन्त स्रोतहरू निरन्तर निःसृत भइरहन्छन्। यो प्रदूषणरहित निर्मल शीतल जलभण्डारलाई मत्स्यविहार बनाएर त्यसबाट उत्तम तुष्टि र उत्तम पुष्टि प्राप्त गर्न सकिन्छ। अब त हामीहरू मत्स्य उत्पादनलाई पनि 'माछाखेती' को रूपमा लिन लागेका छौं। नेपाल प्राकृतिक सम्पदाको अध्ययन गर्नेहरूको निम्ति भूस्वर्ग नै मानिन्छ। नेपालमा करीब डेढ शताब्दीदेखि अहिलेसम्म हुँदै आइरहेको अध्ययन–अनुसन्धान र हाल भइरहेका उल्लेखनीय क्रियाकलापको प्रवाहमा देखापर्न आएको प्रस्तुत पुस्तकलाई हामी त्यही लोककथाको माछाभित्रको कलात्मक मञ्जुषाहरूको रूपमा लिन सक्छौं। यसलाई उघारेर हेर्ने हो भने नेपालको मत्स्य विकासको सुन्दर सम्भावना देखा पर्नेछ।

श्री कृष्णगोपाल राजवंशी जीवविज्ञानका विशिष्ट विद्वान् र नेपालका मत्स्य विशेषज्ञ हुनुहुन्छ। उहाँको योग्यता र विषय अनुभवको एक परिणामको रूपमा प्रस्तुत पुस्तकलाई लिन सकिन्छ। यस्तो उपयोगी पुस्तक तयार पार्नुभएकोमा प्रज्ञा–प्रतिष्ठानको तर्फबाट उहाँलाई धन्यवाद प्रदान गर्दछु।

हाम्रो विकासको साइतमा माछा शुभ शकुन बनोस्!

१५ श्रावण २०३८

माधवप्रसाद घिमिरे

उपकुलपति

नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान

comments powered by Disqus

रमझम