२३-२९ फागुन २०७२ | 6-12 march 2016

डेटलाइन वीरगञ्ज

Share:
  
मधेशमा जन्मे–हुर्केका पहाडी मूलका पत्रकार गिरीश गिरीले वीरगञ्जमार्फत समग्र मधेश आन्दोलन चियाउने प्रयत्न गरेका छन्।

हजुरबुबा विष्णु गिरी वडाध्यक्ष थिए। बुबा गोपाल गिरी २०६० सालमा राजाको प्रत्यक्ष शासनकालमा वीरगञ्जका मेयर बने, जसलाई माओवादीले हत्या गर्‍यो। बुबाको हत्यापछि परिवार राजनीतिबाट टाढियो। तर, गिरीशलाई भने जन्मेहुर्केको यो शहरले झन्–झन् तानिरह्यो। कारण, वीरगञ्जका अनेक आयाम छन्, जसलाई देखेर बारम्बार गिरीश आफैं चकित हुन्थे।

पछिल्लो मधेश आन्दोलनको केन्द्र उही वीरगञ्ज नै थियो। भारतीय नाकाबन्दीका कारण वीरगञ्ज भएर इन्धनलगायतका सामान नआउँदा पूरै नेपाल निसास्सियो। धर्ना, झडप, हत्या, कालोबजारीबाट यो शहरलाई जति असर कसैलाई परेन।

त्यहीवेला गिरीश आफ्नो शहर पुगे। आन्दोलनकारी, सर्वसाधारण, सरकार सबैको रूप र भाषा नियाल्ने प्रयत्न गरे। र, आफू कार्यरत सेतोपाटी डिजिटल पत्रिकामा केही लेखहरू लेखे। लेखप्रति ओइरिएका प्रतिक्रिया पढे, सुनेपछि उनलाई लाग्यो, केही हजार शब्दले वीरगञ्ज बुझाउन नसक्ने रहेछ। 'वीरगञ्जः मेरो शहरको कथा' पुस्तक विस्तारमा वीरगञ्ज चिनाउने उनको त्यही प्रयासको प्रतिफल हो।

'पहाडले मधेश बुझ्ोन' गिरीशको यो पुस्तक पनि यही पुरानै टिप्पणीमै केन्द्रित छ। तर, मूलका हिसाबले पहाडी तर बसोबासले मधेशी गिरीशको मधेशलाई हेर्ने आँखा फरक छ। उनकै शब्दमा 'राजधानीकै परिवेशको अनुकूलतामा मधेशप्रति धारणा बनाउनेहरूको मस्तिष्कको ढक्कन खोल्न' नै उनले यो पुस्तक लेखेका हुन्। “सदियौंदेखि नेपालमै बसेकाहरूलाई 'भारतीय' भन्दा उनीहरूको मनमा पर्ने चोटको आकलन हामीले गर्न सकेका छैनौं”, उनी भन्छन्, “थारु जातिलाई आदिवासी भन्ने हामी बज्जिका भाषीलाई चाहिं पराइ ठान्छौं।”

अढाइ दशक अघि वीरगञ्जबाटै पत्रकारिता थालेका उनले कान्तिपुर र नागरिक दैनिकमा काम गरे। चार वर्षजति अष्ट्रेलियामा विताए। तर, पुस्तक लेखनको मोह भने उनमा पहिल्यैदेखि थियो। आनी छोइङ डोल्माको 'फूलको आँखामा' पुस्तक नेपालीमा अनुवाद गरेर उनले तत्कालको हुटहुटी शान्त पारे। वीरगञ्जकै फूटबल टोलीमाथि 'टीम नेपाल' वृत्तचित्र समेत बनाए।

२०५२ सालमै राजधानी बसाइँ सरे पनि वर्षको दुई/तीन पटक उनी शहरसँगको नाता नवीकरण गर्न घर पुगिरहन्थे। उनको पुस्तक पनि यही फेरोबाटै शुरु हुन्छ। काठमाडौंबाट वीरगञ्ज जाने क्रममा सिमराबाटै राजमार्ग अवरोधको सामना गर्ने उनी ढुंगा हानिरहेका पात्रका कथामा हराउँछन्। जन्मस्थल पुग्नुको जटिलता वर्णन गर्दै अघि बढेको पुस्तक काठमाडौं फर्केपछि सकिन्छ। तर, अवरोध सकिंदैन।

संस्मरणात्मक पुस्तकमा गिरीशले वीरगञ्ज शहर जन्मेको कथादेखि विकासक्रम, ऐतिहासिक प्रसंग, रोचक र रहस्यमयी पात्रका भोगाइहरू उल्लेख गरेका छन्। “सडकमा बाँचिरहेकाहरू नै मेरा पुस्तकका खास पात्र हुन्, जसको भोगाइले शहर मात्र होइन, देशकै वर्तमान बोल्छ”, लेखकको दाबी छ। गिरीशले वीरगञ्जको राजनीति, सद्भावना पार्टी गठनको इतिहास, रैथाने र भारतबाट आएका नयाँ मधेशीको नालीबेली केलाउने कोशिश पनि गरेका छन्। लेखक भन्छन्, “मधेशी र मधेशका नाममा गरिएका फट्याईं पनि लेखेको छु।”

नेपाली साहित्यमा शहरमाथि लेखिएका कमै कृति छन्। यसै साता सार्वजनिक हुने यो पुस्तकले शहर साहित्यतर्फ पाठक र लेखकको चासो बढाउने आशा गर्न सकिन्छ। “पुस्तक वीरगञ्जमार्फत समग्र मधेश चिनाउने आँखीझ्याल बन्ने विश्वास लिएको छु”, गिरीश भन्छन्।

डम्बरकृष्ण श्रेष्ठ

comments powered by Disqus

रमझम