पात्र र पाठकमाथि अन्याय

Share:
  

यायावरकी पात्र जुनेलीमाथि हदैसम्मको अन्याय भएको पाठकको आरोपको प्रतिफल हो जुनेली– उपन्यासकार ब्रजेशले भनेका छन्।

उपन्यासकारले मानसिक समस्याग्रस्त चिरागले चिकित्सक सेपालिकालाई इमेलमार्फत जुनेली को कथा भन्न लगाएका छन्। कथा भन्ने नौलो शैली छ। सरल छ। तर, कथावाचक चिराग हुन् या उपन्यासकार भन्नेमा भने पाठक बरोबर अलमलमा परिरहन्छन्।

पुस्तक जुनेली

विधा उपन्यास

लेखक ब्रजेश

प्रकाशक बुक–हिल पब्लिकेशन

पृष्ठ २२३

मूल्य रु.३९९

जुनेली गाउँले युवतीको पीडाको कथा हो, जो जीवनभर हिंसामा परिरहन्छे। प्रेमीसँग परिबन्दमा विवाह गर्छे। पतिसँगको सुखभोगमा भौंतारिरहन्छे। बाल्यकाल र किशोरावस्थाका केही क्षण उसको जीवनमा खुशी कतै भेटिंदैन।

छोरीलाई पढाउने चलन नभएको गाउँमा विद्यालय जान पाएकी, वैकुण्ठलाई माया गरे पनि कालोरामप्रति आकर्षित जुनेलीलाई दीन–हीन बनाउँदै लेखकले हेटौंडास्थित बाबाकहाँ पुर्‍याउँछन्। र, अन्त्यमा चोभारको मन्दिरमा 'कुमारी' बनाउँछन्। उपन्यासमा यसपछिको प्रष्ट कारण खुल्दैन। त्यसो त जुनेली मा जुनेली मात्रै होइन, चिराग, डाक्टर सेपालिका र कमल जस्ता पात्र पनि छन्। पात्रबीचको सम्बन्ध बुझाउन धेरै पाना खर्चिएका लेखकले सेपालिका र शरदबीचको अभिसारको 'मसला सिन' कतिसम्म अनावश्यक छ भन्ने ख्याल नगरेको देखिन्छ। एकजना प्रहरी अधिकृतले कलेजको साथी अकस्मात् भेट्दा प्रयोग गरेको अश्लील शब्द अस्वाभाविक नमानिएला तर, त्यस्ता शब्दहरुको अचाक्ली प्रयोगलाई कुनै कोणबाट पनि स्वाभाविक मान्न सकिंदैन।

उपन्यासभित्रका उपकथाहरुले मूलकथा बलियो बनाउने क्षमता राख्दैनन्। मिराबाईका भजन र हरिवंश रायबच्चनका कविताका पंक्ति नराखिएका भए पनि खासै फरक नपर्ने देखिन्छ। उपन्यासका घटनाहरुबीच लेखकको टिप्पणीलाई प्रयोग मान्न सकिए पनि त्यसैका कारण पुस्तक पढ्नयोग्य बनेको छैन।

उपन्यासले महिलाको सामाजिक अवस्था र संवेदनशीलता केलाउने प्रयास गरेको छ। तर, कथ्य शैली र घटनाहरुले पाठकलाई त्यसतर्फ जागरुक बनाउँदैन। चलचित्रका कथा/पटकथा लेखक ब्रजेशको उपन्यास पनि मसला चलचित्र जस्तै यौन, हिंसा र नाटकीय घटनाले भरिपूर्ण लाग्छ। तर, यी सबै मसलाले पनि उपन्यास भद्दा र फितलो बन्न पुगेको छ। अरु त अरु जुनेलीमाथि न्याय गर्ने प्रयासमा लेखिएको भनिएको सिक्वेलले उसैमाथि थप अन्याय गरेको भान हुन्छ।

सञ्जीव शर्मा


तीनदशकका कविता

सर्वाङ्ग नाङ्गो आकाश ओढेर

विश्वासहीनतालाई काखी च्यापेर

लुरुलुरु घरदेखि क्रमशः अफिस

अफिसदेखि सडक, बजार र भट्टीहरूमा

मान्छे यसरी विभाजित भएको छ!

–विभाजित मान्छे

कवितायात्रामा प्रमोद प्रधान २०३० को दशकदेखि नै सुनिएको नाम हो। १७ वर्षकै उमेरमा रातभरिका सुस्केराहरू (२०३२) कवितासंग्रह प्रकाशित गरेका उनको एक उदास साँझ तेस्रो कविता संग्रह हो। यसमा उनले पुराना संग्रहबाट छानिएका, संग्रहित हुन बाँकी तर छापिसकेका कविता समावेश गरेका छन्।

पुस्तक एक उदास साँझ् लेखक प्रमोद प्रधान

विधा कविता

प्रकाशक विवेक सिर्जनशील

प्रकाशन प्रालि

पृष्ठ १२०+४

मूल्य रु.१७५

५५ वटा कविताको यो संग्रहमा कवि प्रधान मूलतः विसंगति विरुद्ध उभिएका छन्। तर, उनी आफ्ना कुरा भन्न मानसिक अन्तरद्वन्द्व र बिम्ब प्रयोग गर्न रुचाउँछन्। एकान्तगीत मा स्व–चिन्तामा मग्न उनी म इतिहासको जंगबहादुर हुँ र २०४० कवितामा परिवर्तनको उद्घोष गर्छन्। प्रधानको पछिल्लो लेखनीको भावधारा मृत्युमा लहसिएको देखिन्छ। आफूलाई एक्लो मैनबत्तीसँग तुलना गर्ने एक उदास साँझ्ा यसैको उदाहरण हो।

पत्रकारितामा लामो समय विताएका प्रधानको कवितामोहले थुप्रै कविता त जन्माएको छतर, उनका सम्झिरहने कविता भने थोरै मात्र छन्। कविताको कला र दार्शनिक पक्षमा थोरै मात्र ध्यान दिने हो भने अबका कविता उत्कृष्ट बन्नेमा आशावादी हुन सकिन्छ।

रविन

comments powered by Disqus

रमझम