२३-२९ फागुन २०७२ | 6-12 march 2016

प्रबलपछि राजेश

Share:
  
'न्यूयोर्क फेशन विक' मार्फत अर्का नेपाली राजेश धाख्वा विश्व फेशनमा स्थापित हुने दौडमा छन्।

अमेरिकाका क्षमतावान् फेशन डिजाइनर प्रबल गुरुङले सन् २००९ मा 'न्यूयोर्क फेशन विक' मा भाग लिएपछि नै 'प्रबल गुरुङ' कलेक्सन स्टोर खोलेका थिए। त्यसयता प्रबलले कहिल्यै पछाडि हेर्नु परेन, आज उनी अमेरिकाकी प्रथम महिला मिसेल ओबामादेखि बेलायती युवराज्ञी केट मिडल्टन, गायिका लेडी गागालगायतका थुपै्र ख्यातिप्राप्त व्यक्तित्वका मनपर्ने डिजाइनरमा कहलिसकेका छन्।

प्रबलको पदचिह्न पछ्याउँदै अर्का नेपाली डिजाइनर राजेश धाख्वाले पनि न्यूयोर्कमा 'आरडी चाहत न्यूयोर्क' खोलेका छन्। नेपालबाट न्यूयोर्कको यात्रा तय गर्न उनले पनि न्यूयोर्क फेशन विकलाई नै सिंढी बनाए।

६ फागुनमा आयोजित न्यूयोर्क शाखाको उद्घाटनमा धाख्वाले विभिन्न देशका फेशन डिजाइनरमाझ आफ्ना कला सार्वजनिक गरेका थिए।

'इष्ट मिट्स वेष्ट' थिममा डिजाइन गरिएका उनका पहिरनलाई 'एसएमजी ग्लोबल न्यूयोर्क फेशन विक' की कार्यकारी निर्माता समिना मुगल र न्यूजर्सीका नगर प्रहरी एडवार्ड आर. सुहलेनले सराहना गरेका थिए। “न्यूयोर्कसम्म आइपुगेकोमा मलाई गर्व महसूस भइरहेको छ”, १९ वर्षदेखि ललितपुरमा 'चाहत बुटिक' सञ्चालन गरिरहेका उनी भन्छन्, “न्यूयोर्कको ग्ल्यामरलाई मेरा डिजाइनले थप रौनक थप्नेछन् भन्ने आशा लिएको छु।”

मिस नेपाल, मिस एशिया प्यासिफिक जस्ता थुप्रै प्रतिष्ठित कार्यक्रममा पहिरन डिजाइन गरिसकेका धाख्वाले जापान, फ्रान्सलगायत देशमा पनि आफ्नो प्रतिभा देखाइसकेका छन्।

सजना

comments powered by Disqus

रमझम