२३-२९ फागुन २०७२ | 6-12 march 2016

अभया अभियान

Share:
  
१२ वर्षदेखि प्रत्येक ८ मार्चमा राजधानीमा भइरहेको एउटा फरक कार्यक्रम हो– वुमन इन कन्सर्ट।

अन्तर्राष्ट्रिय नारी दिवस (८ मार्च) मा दमित आवाज उठाउने आ–आफ्ना तरीका छन्। रक गायिका अभया सुब्बा यिनैमध्येकी एक हुन्। अभयाको निर्भय फाउन्डेसनले १२ वर्षदेखि यही दिन 'वुमन इन कन्सर्ट' प्रतियोगिता गर्दै आइरहेको छ, जहाँ महिला संगीतकर्मी मात्र प्रस्तुत हुने गर्छन्।

यस वर्ष पनि उनीसँगै १२ नयाँ महिला कलाकार अफ्रिता खड्गी, आसरा कुँवर, वर्षा राई मानन्धर, निशा भट्ट, प्रमिला राई, प्रीतिका थापा, श्री तारा, सुनिता थेगिम लिम्बू, सञ्जिमा लामा, मेघा श्रेष्ठ, इशारा चाम्लिङ र गोर्खालीज गर्ल्स समूह काठमाडौंको लैनचौर मैदानमा गुञ्जिने छन्। 'वुमन इन कन्सर्ट' मा उत्कृष्ट कला पस्कने गायिका वा ब्यान्डले रु.५० हजार, गीत रेकर्डिङ र म्युजिक भिडियो निर्माणको प्रोत्साहन पुरस्कारसमेत पाउनेछन्।

सांगीतिक समूह अभया एण्ड स्टिम इन्जुन्सकी नेतृत्वकर्ता अभया 'महिलाको आत्मबल बढाउन र कन्सर्टमा उपस्थित दर्शकमा महिला विरुद्धका हिंसाबारे जानकारी दिन' कन्सर्ट आयोजना गरिएको बताउँछिन्। “मेरा लागि कन्सर्ट नै अभियान हो”, उनी भन्छिन्।

सजना


कवि प्रहरी

बेदौली–३, नवलपरासीका श्यामसुन्दर यादव (३६) 'त्रिवेणी' त्यो वेला (२०५८ साल) प्रहरी सेवामा प्रवेश गरे, जतिवेला देशमा माओवादी हिंसा चर्कंदै थियो। यस्तोवेला किन प्रहरीमा गएको भन्ने चिनेजानेकाको प्रश्नले उनी हैरान हुन्थे। सबैलाई एकैपटक उत्तर दिन उनले यस्तो गजल लेखे–

संकटकाल थियो र पो जागीर खाएँ

देश नै बेहाल थियो र पो जागीर खाएँ।

सूर्य–चन्द्र अंकित झण्डा फर्फराउने म नेपाली

राष्ट्रियताको सवाल थियो र पो जागीर खाएँ।

अहिले कपिलवस्तुस्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत यादवले ९ फागुनमा भोजपुरी र अवधीमा लेखिएको गीति संग्रह अपन गीत र गजल, हाइकू समेटिएको सगरमाथा शीर्षकका दुई कृति सार्वजनिक गरे। चार कृतिका धनी उनी यतिवेला आफ्नै रचना र स्वरमा अल्बम निकाल्ने सुरमा छन्। “भित्रैबाट लेखौं लेखौं लाग्छ”, यादव भन्छन्, “ब्यारेक पुगेपछि दिनभरिका कुरा सम्झन्छु, लेख्न बस्छु।”

जागीरका क्रममा बसेका जिल्लाहरूले लेखनको विषय दिएको यादवको अनुभव छ। माओवादी हिंसा र प्रहरीका तल्ला कर्मचारीका व्यथाबारे पनि उनले थुप्रै रचना जन्माएका छन्। “तर, तिनलाई जागीर सकिएपछि मात्रै निकाल्छु”, उनी भन्छन्।

दीपक


उडानसँगै उद्घोषण

एयर होस्टेस जेनीलाई उडानभन्दा उद्घोषणमा आनन्द मिल्छ।

खोटाङकी जेनी शेर्पा (२१) पाँच वर्षदेखि सञ्चार क्षेत्र र कलाकारितामा छिन्। २०६७ सालमा राजधानीको सीजेएमसी एफएममा बाल कार्यक्रम चलाएकी उनले मिस शेर्पा–२०१२ मा 'मिस फ्रेन्डसिप' उपाधि जितेकी थिइन्। सञ्जीवनी, झट्का टेलिश्रृखला र भाले फाइट, मिस्टेक चलचित्रमा अभिनयका साथै विभिन्न विज्ञापन, म्युजिक भिडियोमा अभिनय र मोडलिङ गरेकी उनको पेशा भने एयर होस्टेस हो।

तारा एयरको उडानले जेनीलाई देशका विभिन्न ठाउँमा पुर्‍याए पनि उनको उद्घोषण यात्रा भने वेग्लै छ। उद्घोषणकै लागि उनी धरान, पोखरा, नेपालगञ्ज, ओखलढुंगा, बैतडीदेखि दुबईसम्म पुगेकी छिन्। “उड्नभन्दा उद्घोषणमा आनन्द मिल्छ”, उनी भन्छिन्, “मोडलिङ र अभिनयले काममा ऊर्जा थप्छ।”

अनुशील

comments powered by Disqus

रमझम