१-१५ असोज २०६० | 18-30-Sep-1-2-Oct

युद्धमा के गर्नुहुन्छ के गर्नुहुँदैन

Share:
  
- आमोदवर्धन कौण्डिन्न्यायन

बहुसङ्ख्यक मानिसहरू जहिले पनि युद्ध–विरोधी हुन्छन् । तर आदिम कालदेखि आजसम्म युद्धहरू भइरहेका छन् । यसमा पूर्णविराम लगाउने प्रयासहरू सफल हुन सकेका छैनन् । यसै भएर हुन सक्छ, पौराणिककालमै युद्धका नियमहरू बनिसकेका थिए । आज जेनेभा सन्धि र अन्य अन्तर्राष्ट्रिय मानवीय कानूनहरूले समेट्ने गरेको युद्ध, युद्ध अपराध र युद्धबन्दीसम्बन्धी सवालहरूलाई हाम्रा धर्मशास्त्रहरूमा कसरी व्याख्या गरिएको छ त ? समस्त नेपालीको वार्षिक चाड दशैँको मुखमा आएर देशमा फेरि हिंसा भड्किएको अवस्थामा युद्धका नियम र सीमाका बारेमा शास्त्रीय प्रसङ्ग कोट्याउनु सान्दर्भिक नै ठहर्ला । यसबाट पाठकलाई आधुनिक परिप्रेक्ष्यमा हाम्रा शास्त्रीय कुराहरूको औचित्य कतिसम्म रहेको छ भनी विश्लेषण र तुलनात्मक अध्ययन गर्न त सहयोग पुग्छ नै, हाल गाउँ–शहर सबैतिर फैलिएको ‘युद्ध’ को अनुगमन गर्न र युद्धकारी पक्षहरूमध्ये कुन ‘राम’ कुन ‘रावण’ अथवा कुन ‘पाण्डव’ कुन ‘कौरव’ भनेर छुट्याउने शास्त्रीय आधार पनि प्राप्त हुन्छ । युद्धको औचित्य सम्बन्धमा सबै शास्त्रहरूको सार भनाइ एउटै पाइन्छ— युद्धमा संलग्न योद्धाले आततायी र दुष्टहरूको दमन गर्नुपर्छ; शस्त्रास्त्रको निर्माण निरपराध निःशस्त्र सज्जनहरूमाथि प्रहार गर्न भएको हैन । निःशस्त्र माथि प्रहार गर्ने व्यक्तिको घोर निन्दा गर्दै महाभारतमा भनिएको छ—

अशस्त्रं पुरुषं हत्वा सशस्त्रः पुरुषाधमः ।

*अर्थार्थी यदि वा वैरी स मृतो जायते खरः । । *

—अनुशासनपर्व ११ । ११२ (चित्रशालासंस्करण) ।

अर्थात्— शस्त्रास्त्रले सुसज्जित व्यक्तिले धनका निम्ति वा शत्रुनाशका निम्ति पनि निःशस्त्र व्यक्तिलाई मार्छ भने ऊ नीच कहलिन्छ । त्यस्तो नीच मानिस अर्को जन्ममा गधा हुन्छ । यस्तै कुरा मार्कण्डेयपुराणमा (१५ ।१८) पनि उल्लेख छ । युद्धको बेलामा पनि कस्ताकस्ता व्यक्तिलाई मार्नु वा आक्रमण गर्नुहुँदैन भन्ने विषयमा शास्त्रहरूमा धेरै विवेचना भएको छ । जस्तै—

न्यस्ताद्रद्रयुधप्रकीर्णकेशप्राञ्जलिपराङावृत्तानामार्या वधं परिचक्षते ।

—आपस्तम्ब धर्मसूत्र २ ।१० ।१२ ।

अर्थात्— हतियार भैंमा राखेको, केश फुकाएको, अञ्जलि (हात) बाँधेको, पछाडि फर्केको अवस्थामा आक्रमण गरी कसैको हत्या गरिनु निन्दनीय कार्य हो । यस्तै कुरा गौतमधर्मसूत्रमा (२ ।१ ।१७–१८) र महाभारत कर्णपर्वमा (६९ ।२५–२६) पनि छ ।

तवाहंवादिनं क्लीबं निर्हेतिं परसङ्गतम् ।

न हन्याद् विनिवृत्तं च युद्धप्रेक्षणकादिकम् । ।

—याज्ञवल्क्यस्मृति १ । ३२६

अर्थात्– आत्मसमर्पण गरेको, अशक्त, निःशस्त्र, अर्कै सित भिडन्त गरिरहेको र आफै युद्धमा संलग्न नभै युद्धको निरीक्षण मात्र गर्ने व्यक्तिलाई पनि मार्न पाइँदैन । यसबाट युद्धको समाचार सङ्कलन–निरीक्षणादि गर्ने पत्रकार वा मध्यस्थकर्तालाई युद्धरत कुनै पक्षले पनि आक्रमण गर्न नहुने कुरा स्पष्ट हुन्छ । सुग्रीवसित लडिरहेका वालीलाई रामले लुकेर बाण हानेपछि वालीले रामको आलोचना गर्दै त्यसरी प्रहार गर्नु युद्धधर्मविरुद्ध र कायर काम हो भनेको प्रसङ्ग रामायणको कथा पढेका÷सुनेका धेरै नेपालीहरूलाई पनि सम्झ्ना हुनुपर्छ । धर्मपूर्वक लड्ने वीर पुरुष स्वर्ग जान्छन् वा उनीहरूको सद्गति हुन्छ भन्ने कुरा गीताको “हतो वा प्राप्स्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम्” (२ । ३७) इत्यादि प्रसिद्ध श्लोकले पनि बताउँछ । कस्तो कस्तो अवस्थामा केकसरी युद्ध गर्नु न्यायपूर्ण हो र केकसरी युद्ध गर्नुचाहिँ अनुचित हो भन्ने सम्बन्धमा थुपैै्र शास्त्र–वचनहरू उल्लेख गर्न सकिन्छ । जस्तै—

गो–ब्राह्मण–नृप–स्त्री–धन–दार–जीवितरक्षणाद् ये हतास् ते स्वर्गलोकभाजः, वर्णसङ्कररक्षार्थं च ।

—विष्णुधर्मसूत्र ३ । ४४

अर्थात्— गाई, ब्राह्मण (ब्रह्मज्ञानी विद्वान्), राजा, स्त्री, धन, पत्नी र आफ्नो जीवनको रक्षा गर्दा तथा वर्णसङ्करताको परिहार गर्न खोज्दा जो व्यक्ति मारिन्छन्, ती स्वर्गलोक जान्छन् ।

गोग्रहे देशविध्वंशे देवतीर्थविपत्सु च ।

उत्तमाधममध्येषु बाध्यमानेषु देहिषु । ।

आत्मानं तत्र सन्त्यज्य स्वर्गवासं लभेच् चिरम् ।

—मूल गरुडपुराण २ । ३८ ।१९

अर्थात्— गाईहरूको अपहरण हुन लाग्दा, देशको नाश हुन लाग्दा, देवताका मन्दिर र तीर्थस्थलहरू भ्रष्ट गरिन लाग्दा तथा आफ्नो राष्ट्रका उत्तम वा अधम वा मध्यम जुनसुकै श्रेणीका मनुष्यहरू शत्रुबाट पीडित हुँदा शत्रुसित लडेर देहत्याग गर्ने व्यक्तिले चिरकालतक स्वर्गभोग गर्न पाउँछ । कतिपय अवस्थामा त युद्ध नगर्नु वा युद्धबाट भाग्नु पनि अनुचित हुन जाने कुरा पनि शास्त्रमा बताइएको छ । जस्तै—

अपसरति यो युद्धाज्जीवितार्थी नराधमः ।

जीवन्नेव मृतः सोद्रपि भुङ्क्ते राष्ट्रकृतं त्वघम् । ।

मित्रं वा स्वामिनं त्यक्त्वा निर्गच्छति रणाच्च यः ।

सोद्रन्ते नरकमायाति सजीवो निन्द्यतेद्रखिलैः । ।

—शुक्रनीति ४ ।७ ।३२८–३२९

अर्थात्— जो निकृष्ट मनुष्य बाँच्ने लोभले युद्धबाट पछि हट्छ, त्यो जिउँदै मरेको हो, त्यसले राष्ट्रवासी सबैले गरेको पापको फल पाउँछ । मित्रलाई वा स्वामीलाई छोडेर जो मनुष्य युद्धबाट भाग्छ, त्यो मरेपछि नरकमा पर्छ र जीवित अवस्थामा पनि सबैबाट निन्दित हुन्छ । यस्तैयस्तै कुरा पद्मपुराणको सृष्टिखण्डमा (६५ ।८२,८३) पनि छन् । यसबाट सत्य, धर्म र न्यायका निम्ति लड्दालड्दै मर्नु बरु उत्तम कुरा हो भन्ने र अन्यायपूर्वक जित्नु चाहिँ अत्यन्त निन्दनीय कुरा हो भन्ने पनि प्रमाणित हुन्छ । यो कुरा अझ् स्पष्टसँग महाभारत शान्तिपर्वको— “धर्मेण निधनं श्रेयो न जयः पापकर्मणा” (९५ ।१७) भन्ने उक्तिबाट बुझ्न्छि । आपूmलाई मार्न आउनेलाई मार्नुपर्छ भन्ने कुरा पनि धेरै ठाउँमा पाइन्छ । जस्तै—

गुरुं वा बालवृद्धौ वा ब्राह्मणं वा बहुश्रुतम् ।

*आततायिनमायान्तं हन्यादेवाद्रविचारयन् । । *

—मनुस्मृति ८ ।३५०

अर्थात्— आफुलाई मार्न जाइलाग्दै गरेको व्यक्ति गुरु, बालक, वृद्ध अथवा विद्वान्, ब्राह्मण जोसुकै भए पनि अरू केही विचार नगरी उसलाई मार्नू । सदाचारी, न्यायपरायण तथा प्रजावत्सल राजाका निम्ति लडेर मर्ने सैनिकले स्वर्गभोग पाउने र त्यसको विपरीत आचरण भएका राजाका तर्पmबाट लडेर मर्ने सैनिकले नरक जानुपर्ने कुरा योगवासिष्ठमा बताइएको छ । जस्तै—

शास्त्रोक्ताचारयुक्तस्य प्रभोरर्थेन यो रणे ।

मृतो वाद्रथ जयी वा स्यात् स शूरः शूरलोकभाक् । । ३ ।३१।२४

अयथाशास्त्रसञ्चारवृत्तेरर्थेन युध्यते ।

यो नरस्तस्य सङ्ग्रामे मृतस्य निरयोद्रक्षयः । । ३ ।३१।२६

अर्थात्— शास्त्रमा बताएको आचरणले युक्त भएका (सदाचारी) राजाको आदेशबाट जुन पुरुष युद्धमा लड्छ, त्यो पुरुष मरे पनि जिते पनि वीर पुरुषले पाउने लोक (सम्मान) को भागिदार हुन्छ । तर दुराचारी राजाको निम्ति युद्ध गर्ने पुरुष युद्धमा मरेमा कहिल्यै क्षय नहुने नरकमा पर्छ । युद्धमा पक्रिएका व्यक्तिलाई मानवोचित व्यवहार पनि नगरिने गरेको कुरा आजभोलि सुनिन्छ । यस्ता विषयमा विष्णुधर्माेत्तरपुराणमा यस्तो भनिएको छ—

रणे प्रहाराभिहते शत्रौ नैवाद्रस्ति पातकम् ।

जित्वा गृहीते निहते तस्मिन्नेवाद्रस्ति पातकम् । ।

रणे जितं तु यः शक्तः पश्चात् पातयते नरः ।

स याति नरकं घोरं बहून्यब्दशतानि च । । ३ ।२५२ ।६–७

अर्थात्— युद्धमा शस्त्रास्त्रप्रहारबाट शत्रुलाई मारेमा पाप लाग्दैन, तर युद्धमा नै शत्रुलाई जितेर पक्रेर मारेमा पाप लाग्छ । जुन शक्तिशाली व्यक्तिले युद्धमा जितेपछि शत्रुलाई पक्रिएर मार्दछ, त्यो व्यक्ति शयौँ वर्षसम्म घोर नरकमा पर्छ । यसै विषयमा अत्यन्त उदार व्यवस्था हाम्रो शास्त्रमा भएको कुरा पुष्टि गर्ने महाभारतको एउटा वचन पनि हेरौँ—

भग्नशस्त्रो विपन्नश्च कृत्तज्यो हतवाहनः ।

चिकित्स्यः स्यात् स्वविषये प्राप्यो वा स्वगृहे भवेत् ।

- निव्र्रणश्च स मोक्तव्य एष धर्मः सनातनः । ।

—शान्तिपर्व ९५ ।१३–१४

अर्थात्— शस्त्र भाँचिएको, विषम अवस्थामा परेको, धनुको ताँदो काटिएको र रथका घोडा मारिएको शत्रुपक्षको घाइते व्यक्तिलाई आफ्नो देशमा वा घरमा लगेर उपचार गर्नुपर्दछ र सञ्चो भएपछि उसलाई मुक्त गर्नुपर्छ, यो नै सनातन धर्म हो । यस श्लोकबाट धर्मयुद्धमा पक्रिएका शत्रुसैनिकलाई युद्धबन्दी बनाएर धेरै समयसम्म राख्न पाइने व्यवस्था समेत हाम्रा शास्त्रमा नभएको कुरा झ्ल्कन्छ । आजभोलि निःशस्त्र सर्वसाधारण व्यक्तिसमेत मारिने गरी सार्वजनिक स्थलहरूमा शक्तिशाली बमहरू लुकाएर राख्ने, विमानबाट बम खसाल्ने जस्ता कामहरू समेत हुन थालेका छन् । तर हाम्रा शास्त्रहरूमा भने यसरी छलछाम गरेर, झ्ुक्याएर निरपराध र असहाय मानिस मार्नु साह्रै निन्दनीय कार्य मानिएको छ । छलछद्मपूर्वक आमविनासकारी र घातक हतियारको प्रयोग गर्न नहुने कुरा शास्त्रमा यसरी प्रकट गरिएको छः

न कूटैरायुधैर्हन्याद् युद्धमानो रणे रिपून् ।

न कर्णिभिर्नापि दिग्धैर्नाद्रग्निज्वलनतेजनैः । ।

—मनुस्मृति ७ ।९०

अर्थात्— युद्धस्थलमा लड्दै गर्दा छलछद्मपूर्ण हतियारद्वारा शत्रुलाई न मार्नू, साथै काँटादार बाणले, विष लेपिएका बाणले र अग्निप्रद अग्रभाग भएका अस्त्रले पनि प्रहार नगर्नू । यसप्रकार शास्त्रीय युद्धधर्मले विश्वमा वास्तविक रूपमा नै सत्य, न्याय, धर्म, शान्ति इत्यादि सद्गुणहरूको संस्थापन गर्ने उद्देश्यले मात्र युद्ध गरिनुपर्ने कुरा देखाएको छ ।


सशस्त्र सङ्घर्षसम्बन्धी आधारभूत अन्तर्राष्ट्रिय नियमहरू

-घाइते, अशक्त र विरामी भई युद्धमा भाग लिन अक्षम व्यक्तिहरू तथा सङ्घर्षमा प्रत्यक्ष रूपमा भाग नलिने व्यक्तिहरूको जीवन र तिनका नैतिक तथा शारीरिक संरचनाको आदर हुनुपर्दछ । जुनसुकै परिस्थितिमा पनि तिनीहरूको सुरक्षा र तिनीहरूलाई विना भेदभाव दयालु व्यवहार गरिनुपर्दछ ।

-आत्मसमर्पण गर्ने अथवा घाइते भई लडाइँमा भाग लिन नसक्ने शत्रुलाई मार्न अथवा घाइते तुल्याउन निषेध गरिएको छ ।

-संघर्षमा भाग लिने पक्षहरूले आफूले कब्जा गरेको घाइते र विरामीहरूलाई एकत्रित गरेर राख्नु र तिनीहरूको हेरविचार गर्नुपर्दछ । यसरी सुरक्षा प्रदान गरिएका मध्येमा औषधि उपचारसम्बन्धी कर्मचारीहरू, प्रतिष्ठान, परिवहनका साधन र उपकरणहरू पनि पर्दछन् । रेडक्रस अथवा रेडक्रेसन्ट चिन्हले यस्तो सुरक्षा प्रदान गर्दछ र त्यस चिन्हको आदर गर्नुपर्दछ ।

-गिरफ्तार गरिएका युद्धरतहरू र विपक्षको कब्जामा रहेका असैनिक नागरिकहरूको जीवन, तिनीहरूको मर्यादा, व्यक्तिगत अधिकार र विश्वासको आदर गरिनुपर्दछ । सबै किसिमको हिंसा र बदला लिने किसिमबाट गरिने कारवाहीका विरुद्ध तिनीहरूलाई सुरक्षा प्रदान गरिनेछ । तिनीहरूले आफ्नो परिवारसँग पत्राचार गर्न र उनीहरूबाट सहायताका बस्तुहरू प्राप्त गर्न सक्नेछन् ।

-प्रत्येक व्यक्तिलाई आधारभूत न्यायिक प्रत्याभूतिको सुविधा प्राप्त हुनुपर्नेछ । कसैलाई पनि आफूले नगरेको कार्यको निम्ति जिम्मेवार ठह¥याइने छैन । कसैलाई पनि शारीरिक अथवा मानसिक पीडा, शारीरिक सजाय अथवा कठोर अथवा अपमानजनक व्यवहार गरिने छैन ।

-संघर्षमा संलग्न पक्षहरू र तिनका सशस्त्र सैनिकहरूको युद्धमा प्रयोग गर्ने तौरतरिका र साधन असीमित हुने छैनन् । अनावश्यक हानि–नोक्सानी पु¥याउने अथवा अत्यधिक पीडा दिने हातहतियार अथवा युद्धका तौरतरिका प्रयोग गर्न निषेध गरिएको छ ।

-असैनिक नागरिक र तिनका सम्पत्तिको सुरक्षा गर्ने दृष्टिकोणले संघर्षमा संलग्न पक्षहरूले जुनसुकै बेला पनि सामान्य नागरिक र युद्धरतलाई छुट्याउनुपर्दछ । असैनिक नागरिक आवादी अथवा व्यक्तिगत असैनिक नागरिकलाई हमलाको लक्ष्य तुल्याउनुहुँदैन । केवल सैनिक लक्ष्यहरूलाई मात्र आक्रमणको निसाना बनाउनुपर्दछ ।

(स्रोतः जेनेभा महासन्धि तथा तिनका अतिरिक्त सन्धिपत्रहरू सम्बन्धी आधारभूत नियमहरू, अन्तर्राष्ट्रिय रेडक्रस/नेपाल रेडक्रस सोसाइटी–२०५६)

comments powered by Disqus

रमझम