छतमा पनि च्याउखेती

Share:
  

जाँगरिलोलाई जहीं तहीं, अल्छीलाई कहीं न कहीं भन्ने भनाइ झापा बुधबारे– ६ की मेनका नेपालले चरितार्थ पारेकी छन्। उनले घरको छतमै च्याउ खेती गरेर मासिक रु.१२ हजार आम्दानी गरिरहेकी छन्। छतमै च्याउ रोपेर चार जनाको परिवारको राम्रै गुजारा भएको मेनकाको भनाइ छ। सिजनमा दैनिक १५ देखि २० केजी च्याउ उनको घरबाटै बिक्छ। बाँकी रह्यो भने चारआली र बिर्तामोड बजार पुर्‍याउँछिन्। “वर्षमा दुई लाख रुपैयाँसम्मको च्याउ बेच्छौं' मेनका भन्छिन्, “घरमै बसी–बसी यहाँभन्दा कति खोज्नु?”

गोपाल गडतौला, झापा


पोखरामा प्रहरीले एसएलसी गर्नैपर्ने

एसपी केदार रिजाल।
पोखराको पर्यटकीय क्षेत्रमा १३ फागुनदेखि एसएलसी पास गरेका प्रहरी मात्र खटिएका छन्। एसपी केदार रिजाल पोखरा प्रहरीको प्रमुख भएपछि प्रहरीलाई पर्यटनमैत्री बनाउन यो अभियान शुरू भएको हो। यही अभियान अन्तर्गत लेकसाइड क्षेत्रको सुरक्षा हेर्ने वडा प्रहरी कार्यालय बैदामबाट एसएलसी पास नगरेका २४ प्रहरीलाई अन्यत्रै सरुवा गरिएको छ। त्यहाँ प्रहरी निरीक्षकको कमाण्डमा ७० प्रहरी छन्।

अहिले अंग्रेजीमा संवाद गर्न सक्ने प्रहरीलाई जिल्लाभरिबाट खोजीखोजी बैदाममा ल्याइँदैछ। पर्यटकसँग कसरी व्यवहार गर्ने भन्ने तालीम पनि प्रहरीलाई दिने योजना बन्दैछ। पर्यटकका स–साना समस्या ठाउँमै समाधान गर्न सक्ने क्षमता प्रहरीमा हुनुपर्छ भन्ने आफ्नो सोच रहेको एसपी रिजाल बताउँछन्। उनी भन्छन्, “शहरका अरू ठाउँमा पनि एसएलसी उत्तीर्ण गरेका प्रहरी मात्रै खटाउने योजना छ।'

एसएलसी पास गरेका ट्राफिक प्रहरीले मात्र अब पोखराको सडकमा ड्युटी गर्न पाउने छन्। त्यसो त, ट्राफिक प्रहरीका लागि एसएलसी पास गरेको हुनैपर्ने नियम पहिले पनि थियो। तर, एसएलसी पास गरेको जनशक्ति कम भएकाले पास नभएकालाई पनि ट्राफिक प्रहरी बनाइएको छ। पोखरामा एसएलसी पास गरेका ट्राफिक मात्र खटाउन केन्द्र तथा अरू जिल्ला प्रहरीले सहयोग गर्नुपर्ने एसपी रिजाल बताउँछन्। यहाँ कार्यरत एक प्रहरी निरीक्षकसहित ५६ ट्राफिक प्रहरीमध्ये एसएलसी पास गर्ने आधा मात्रै छन्।

प्रहरीलाई पर्यटनमैत्री बनाउने यो अभियानबाट पोखरा पर्यटन परिषद् खुशी छ। बैदाममा कार्यरत प्रहरीलाई प्रशिक्षण दिने तयारी गरिरहेको परिषद्का अध्यक्ष सूर्यबहादुर भुजेल भन्छन्, “पर्यटन मैत्री वातावरण बनाउने दायित्व हाम्रो पनि त हो।”

माधव बराल, पोखरा


पावरहाउस छेउमा टुकीको धिप्धिप्

माओवादी हिंसाको निहुँमा बुटवलको थापा इन्जिनियरिङ कम्पनी बीचमै उठेर हिंडेपछि रोकिएको रुकुम सदरमुकाम मुसीकोटबाट २५ कोस टाढाको तकसेरा गाविसस्थित उपल्लोसेरा जलविद्युत् आयोजना १५ वर्षदेखि अलपत्र छ। २०५२ सालमा शुरू भएको २५ किलोवाटको यो आयोजना २०५४ सालदेखि बन्द छ।

दुर्गम क्षेत्र विकास कार्यक्रमको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा निर्माण शुरू गरिएको आयोजनाले ८० घर उज्यालो पार्ने लक्ष्य राखेको थियो। करीब रु.५० लाख रकम खर्च भइसकेको यो आयोजनाको पावरहाउस र नहर निर्माण हुनुको साथै पोलहरु गाड्ने काम समेत भइसकेको थियो। रु.५ लाखभन्दा बढीको श्रमदान गरेका स्थानीयवासी भने पावरहाउसका लागि ल्याइएका मेसिनहरु जीर्ण भएको हेर्दै टुकीले काम चलाइरहेका छन्।

लक्ष्मण केसी, रुकुम


झण्डा गाडेर विरोध

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका नेता/कार्यकर्ताले कोशी उच्च बाँध निर्माणको विरोध गर्दै १५ फागुनमा निर्माणस्थल बराह क्षेत्रमा पार्टीको झ्ण्डा गाडेका छन्। झ्ण्डा गाडेपछि पार्टीका पोलिटब्युरो सदस्य खड्गबहादुर विकले त्यसलाई निकाल्ने जो कोहीलाई कडा कारबाही गर्ने चेतावनी दिए। माओवादीले २६९ मिटर अग्लो हुने भनिएको कोशी उच्च बाँध निर्माणको विरोध गर्दै आएको छ। माओवादीको झ्ण्डा गाड्ने कार्यक्रममा पत्रकार भवानी बराल, वामपन्थी नेता साध्यबहादुर भण्डारी, माओवादी नेता सावित्रीकुमार काफ्लेलगायतले भारतलाई कोशी बाँध बनाउन दिएर सरकारले गल्ती गरेको बताएका थिए।

सोहन श्रेष्ठ, धरान


'ठिटाहरु सारङ्गीले क्यै दिन्न भन्छन्'

“यसैको पूजा गर्छम्, साँझ्–बिहान यसैको आराधना हुन्छ, यसैले खान दिएको छ, यसैको कमाइले परिवार पाल्या छौं, भगवान भन्या नि यस्तै त होला नि!” दाङको तुलसीपुर बजार नजिकै रक्षाचौरका शालिकराम गन्धर्व (५३) भन्छन्। उनी अहिलेसम्म मन्दिर गएका छैनन्। उनका लागि घरै मन्दिर हो र सारङ्गी भगवान। सारङ्गीलाई भगवान र परम्परागत संगीत साधनालाई पूजा ठान्ने गन्धर्वहरूलाई अब भने चिन्ता लाग्न थालेको छ– अबको पुस्ताले सारङ्गी सम्हादैनन् कि भनेर। ४० वर्ष सारङ्गी रेटेका शालिकराम भन्छन्, “आजकलका ठिटाहरू त सारङ्गीले क्यै दिन्न, अरू नै काम गर्ने हो पो भन्छन्।”

उनी सारङ्गी बजाउँदै र गाउँदै मेची–कालीभित्रका अधिकांश नेपाली समाजमा पुगिसकेका छन्।

कुनैबेला १२ जनाको परिवारसम्म उनले एउटै सारङ्गीको भरमा पालेका थिए। अहिले पनि ६ जनाको परिवार त्यही सारङ्गीको भरमा छ। अब त्यो स्थिति नरहेको उनले बताए। ३२ घर गन्धर्व रहेका रक्षाचौरमा १२–१५ जना बुढाले मात्र सारङ्गी बजाइरहेको शालिकरामले बताए। जनगणना २०६८ को तथ्याङ्क अनुसार, देशभर गन्धर्वको जनसंख्या ५३ हजार ८०० छ भने दाङमा करीब ६००।

गजेन्द्र बोहरा, दाङ


नेपाली विद्यार्थीलाई अवार्ड

मार्टिन लुथर जुनिअर लिडरसीप अवार्ड ग्रहण गर्दै उद्धवकुमार शर्मा।
अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थी उद्धवकुमार शर्माले डाक्टर मार्टिन लुथर जुनिअर लिडरसीप अवार्ड पाएका छन्। अमेरिकाको म्यास्याचुसेट्सस्थित म्यास्याचुसेट्स इन्ष्टिच्युट अफ टेक्लोलोजी (एमआईटी) मा स्नातक गरिरहेका सोलुखुम्बु नेचा बेतघारीका शर्माले किङ लुथरको आदर्शलाई समुदायको विकासमा अनुसरण गरेको भन्दै ६ फागुनमा आयोजित एक समारोहबीच एमआईटीका कुलपति इरिक ग्रिम्सनले सो अवार्ड प्रदान गरेका थिए।

गत वर्ष अमेरिकाकै डेभिस पिस अर्गनाइजेसनबाट १० हजार डलरको एउटा परियोजना पाएका उद्धवले सो रकम नेचा बेतघारीको केदार माध्यमिक विद्यालयको आय वृद्धिका लागि तरकारी खेतीमा लगाएका छन्। तरकारीको आयबाट विद्यालयले कम्प्युटर शिक्षा शुरू गरेको छ (हे. हिमाल १६–३० पुस २०६९)। त्यही उदाहरणीय सामुदायिक कामको लागि शर्मालाई अवार्ड दिइएको एमआईटीले जनाएको छ। नागरिक आन्दोलनका अभियन्ता मार्टिनको सम्झ्नामा विश्वविद्यालयले हरेक वर्ष दुई विद्यार्थीलाई एक हजार डलर नगदसहित यो प्रतिष्ठित अवार्ड दिन गरेको छ।

ङिमा पाखि्रन, अमेरिका


मदिरा विरुद्ध महिला

बैतडी, खोड्पेको एउटा होटलमा बिहानको खानासँग दही माग्दा पाइएन, तर सँगैको टेबुलका एक ग्राहकले रक्सी मगाउँदा तुरुन्तै आइपुग्यो।

तस्वीरः बद्री पौड्याल
भगवती सिकाइ केन्द्रमा महिलाका साथ मदिरा विरुद्धको अभियानकी एक अगुवा जमुना भण्डारी (बीचमा)।
खोड्पे डडेलधुराबाट माथि पहाडतिर लागेपछि बैतडी र दार्चुला तथा बझाङ जाने राजमार्गको संगम हो। यो भेगतिर गाई–भैंसी नपाल्ने घरपरिवार विरलै छन्। तैपनि होटलमा दही नपाउनु, तर रक्सी सहजै पाइनुले सुदूरपश्चिम पहाडको सामाजिक समस्यालाई इङ्गित गर्दछ।

रक्सीको खपत जति नै डरलाग्दो छ― त्यसको दुष्परिणाम। स्वराड जागरण मञ्च, मेलौलीका संयोजक सुरेन्द्रसिंह भाटका अनुसार २०६८–६९ मा मात्रै तल्लो स्वराड भनिने बैतडीको दक्षिण–पश्चिम भेगका १३ गाविसमा मदिराको कारण १९ जनाको मृत्यु भयो। गएको ५ माघको वर्षा र हिमपातबीच मेलौलीबाट गिरेगाडा फर्किएको जन्तीका तीन जनाको ग्वाल्लेकको जंगलमा चिसोले कठ्यांग्रिएर मृत्यु भएको थियो। बिहेमा रक्सी खुब चलेको स्थानीयहरू बताउँछन्।

मन्दिर, मेलापात र सार्वजनिक स्थलमा रक्सी खाएर अशिष्ट व्यवहार, झ्ैझ्गडा र अशान्ति त्यत्तिकै हुन्छ। मणिलेक उमावि, मेलौलीका प्राचार्य कृष्णसिंह नायक रक्सीले गर्दा घर–घरमा महिलामाथि हिंसा र सुन्नै नसकिने गालीगलौज, आर्थिक बर्बादी, केटाकेटीको पढाइमा असर, विद्यालयमा छात्राहरूको आउजाउमा अप्ठ्यारो, गाउँमा विकास, निर्माणलगायतका रचनात्मक काममा अवरोध हुने गरेको सुनाउँछन्।

गाउँ–गाउँमा रक्सी विरोधी अभियान पनि शुरू भएको छ। वर्ष दिनदेखि गाउँलाई मदिरा निषेधित क्षेत्र बनाउन कटिबद्ध बैतडीको रोडीदेवल–१, अर्तौलीको भगवती सिकाइ केन्द्र र बिजुलको आमतालिङ सिकाइ केन्द्रमा संगठित महिलाहरूले गाविसमा रक्सी खानेले रु.३ हजारदेखि रु.१२ हजार र पसलमा राख्ने तथा ओसारपसार गर्नेले रु.१० हजारदेखि रु.२० हजार जरिवाना तिर्नुपर्ने, रक्सी पसलको लाइसेन्स लिन र नवीकरण गर्न नपाइने नियम बनाएका छन्।

होटलछेउमा फालिएका रक्सीका बोतल।
यसबीच महिलाहरूले बिजुलमा मदिरा सेवन गर्ने एक स्थानीय र अर्तौलीमा गाउँको बाटो हुँदै ओसार्ने आम्चौरा गाविसका एक व्यक्तिलाई जरिवाना तिराउनुका साथै यस क्रममा समातिएको ४८ क्वार्टर रक्सी गाविसको रोहवरमा नष्ट गरेका छन्। यो मुद्दामा कारबाही गराएरै छोड्ने अठोट लिएकी जमुना भण्डारी भन्छिन्, “मलाई जसको श्रीमान्ले रक्सी खान्छ उही नेता बनेकी छ सम्म भने। म आफूले पीडा भोग्नु परे पनि अरू दिदीबहिनीले यस्तो भोग्नु नपरोस् भनेर नै रक्सी विरुद्ध लागेकी हुँ।”

गाउँ–गाउँमा जागरुक महिला र युवाहरूको अभियानमा समर्थन जनाउँदै तल्लो स्वराडका १३ वटै गाविसले गएको वर्ष रक्सी पसलको नयाँ अनुमति जारी र नवीकरण नगर्ने निर्णय गरेका थिए। तर यो वर्ष उनीहरू फेरि पछि हट्न थालेका छन्। हालसालै मेलौलीले रु.२५ हजार र रु.१० हजार शुल्क तोकेर नयाँ अनुमति र नवीकरणको सूचना टाँसेको छ भने सलेनाले २०–२१ पुसको गाविस परिषद् भेलामा 'सौहार्दपूर्ण वातावरण बनाउन' त्यस अवधिभर मात्र मदिरा बेचबिखन र सेवन नगरिदिन सूचना निकालेको थियो।

सरकारले केवल राजस्वको लोभले मदिरा खुला गर्नुलाई विडम्बना ठान्छन्, प्राचार्य नायक। “जनस्वास्थ्य, शिक्षा, समृद्धि र धार्मिक–सांस्कृतिक स्वच्छता सबै दृष्टिले राष्ट्रको लागि सकारात्मक मदिरा निषेध नै हो”, उनी भन्छन्, “जनता मर्ने र घर, परिवार, समाजमा अशान्ति फैलिने गरी आम्दानी बढाउनुलाई के उपलब्धि ठान्नु र!”

बद्री पौड्याल

comments powered by Disqus

रमझम