धर्मको धन्दा

Share:
  
- सुशीला बुढाथोकी
अनाथ, असहाय र गरीब परिवारका बालबालिकालाई संरक्षण दिने भन्दै खुलेका अधिकांश बालगृह र स्कूलले इसाईधर्म प्रवर्द्धन गरिरहेका छन्।

फेसबूक पोष्टः नेपाली क्रिश्चियन मिनिस्ट्रजका संस्थापक आमोस तिवारी 'बाल बाइबल' पुस्तक बाँड्दै।
गत ८ पुसमा केन्द्रीय बालकल्याण समितिले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ भद्रवासस्थित 'इटरनल वर्ल्ड मिनिस्ट्री' बालगृहबाट ४ देखि १३ वर्षसम्मका ५६ बालबालिकालाई उद्धार गर्‍यो। समितिले सुर्खेत, सिन्धुपाल्चोक, हेटौंडा र काठमाडौंका ती बालबालिकालाई दर्ता त के न्यूनतम सुविधा समेत नभएको बालगृहमा बाइबल पढाउने गरेको भेटिएपछि उनीहरूको उद्धार गरेको थियो। तर, बालगृहको कानूनी हैसियत र मापदण्डको विषयले महत्व पाउँदा अन्य विषय ओझेलमा परे।

त्यस्तै भएको थियो, एक वर्षअघि 'आमाघर' सञ्चालक दिलशोभा श्रेष्ठ प्रकरणमा पनि। 'आमाघर' मा काम गर्ने एक महिलालाई यौन गतिविधिमा लगाएको आरोप लागेकी श्रेष्ठले विना दर्ता संचालन गरेको बालगृहबाट केन्द्रीय बालकल्याण समितिले ३४ बालबालिकाको उद्धार गरेको थियो। राष्ट्रिय मानवअधिकार आयोगले ८ जेठ २०७१ मा श्रेष्ठलाई अघिल्लो आरोपबाट सफाइ दिएसँगै विभिन्न समुदायका बालबालिका भेला गरी इसाई धर्म सम्बन्धी सामग्री पढाएको विषय सेलायो। त्यो वेला आफूहरूको चासो बालगृहको मापदण्ड र बालबालिकाको अवस्थामा केन्द्रित भएको अनुगमन टोलीमा रहेकी समितिकी कार्यक्रम व्यवस्थापक नमूना भुषाल बताउँछिन्। “मिडियाले पनि उनको सेवालाई ठूलो बनायो”, उनी भन्छिन्, “अरू कुरा गौण भए।”

दिलशोभा श्रेष्ठ इसाई मण्डली (कलंकी) की सदस्य हुन्। उनले इसाई धर्म प्रचार गर्दा सन्तुष्ट लाग्ने 'गुड न्यूज' नामक इसाई आस्थाको एफएम रेडियोलाई बताएकी छन् (सु.www.youtube.com/watch?v=dUHQwtD3UMU) उनले अहिले पनि ललितपुरको धापाखेलमा ९० जना बालबालिका राखेकी छन्। धेरैजसो हुम्ला, जुम्लाबाट ल्याइएका ती बालबालिकालाई श्रेष्ठले धापाखेलकै 'ह्याप्पी' इन्टरनेशनल स्कूलमा पढ्ने व्यवस्था मिलाएकी छन्। दुई महीना 'ह्याप्पी होम' मा बसेका नौ वर्षका नवीन लामा (नामथर परिवर्तन) का अनुसार, त्यहाँ हरेक बिहान र साँझ् प्रभूको प्रार्थना गराइन्छ।

आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०६९ मा बालबालिकालाई कुनै आस्था वा धर्म ग्रहण गर्न बाध्य बनाउने वा लोभ्याउने वा उक्साउने गर्न/गराउन नपाइने व्यवस्था छ। (हे.बक्स)त्यस्तै, बाल अधिकार सम्बन्धी महासन्धिको धारा १४ ले बालबालिकाको धार्मिक स्वतन्त्रताको व्यवस्था गरेको छ। तर, समाजसेवाको आवरणमा खोलिएका बालगृह र विद्यालयहरूले यस्ता नियम कानून पालना गरेका छैनन्। केन्द्रीय बालकल्याण समितिका अनुसार, हाल नेपालमा संचालित ५७७ बालगृहमा ७ हजार ९८९ बालक र ८ हजार ४११ बालिका गरी कुल १६ हजार ४०० बालबालिका छन्। तीमध्ये अधिकांश बालबालिका उजुरी गर्न सक्ने अवस्थामा नरहेको समितिको प्रतिवेदनमा उल्लेख छ।

नेपालमा इसाई चलखेल पुस्तकका लेखक प्रा. डा. शास्त्रदत्त पन्त बालावस्थामा सिकेको कुरा जीवनपर्यन्त प्रभावकारी हुने भएकोले शिक्षाको बहानामा बालबालिका लक्षित इसाई कार्यक्रम भइरहेको बताउँछन्। “पश्चिमी मुलुकका ठूला सिनेटर, प्राध्यापकलगायतले नेपालमा कस्तो योजना सफल हुन्छ भनेर अध्ययन गरेरै बालबालिका रोजेका छन्”, पन्त भन्छन्, “उनीहरूको योजना सफल भइरहेको छ।”

फैलिंदो सञ्जाल

पास्टर बाबु भर्गिसले वीरगंजमा खोलेको ब्लेसिङ चिल्ड्रेन्स् होम (बीसीएच) का ८० जना बालबालिकाले दशैं–तिहार मनाउन पाउँदैनन्, तर क्रिसमस धुमधामले मनाउँछन्। भर्गिस नेपाली बाइबल स्कूलका निर्देशक र थुप्रै चर्चका संस्थापक पनि हुन्। बीसीएच संचालनमा उनलाई अमेरिकाको इटरनिटी बाइबल कलेजका प्राध्यापक प्रेस्टन स्पि्रङकलले आर्थिक सहयोग गर्छन्। वेबपेज टचनेपाल डट ओआरजीमा राखिएको विभिन्न तस्वीर र भिडियो (http://markavery.smugmug.com/Nepal2013/i-xPwb9Xn/A) ले स्पि्रङकलसँग भर्गिस र दिलशोभा श्रेष्ठको सक्पर्क–सम्बन्ध तथा इसाई गतिविधि स्पष्ट पार्छ।

बाइबल प्राप्त गरेपछि बालिका।
अर्का पास्टर नवराज सञ्जेलको ललितपुरको नखिपोटस्थित अनाथालयमा अहिले २४ बालबालिका छन्। उनको स्माइल मिनिस्ट्री नेपाल नामक वेबपेज र यही नामको फेसबूकमा अनाथालयका बालबालिकाले प्रभूको प्रार्थना गरेको र क्रिसमस मनाएको तस्वीर/भिडियोहरू छन्। त्यस्तै, ललितपुर–१३ कुसुन्तीस्थित भिजन नेशनल, नेपालको 'मर्सी मिसन होम' मा ४ देखि १४ वर्षसम्मका ६१ बालबालिका छन्। नेपाली पास्टरहरूलाई तालीम र चर्च स्थापनामा क्रियाशील इसाई संस्था भिजन नेशनलको मुख्यालय भारतमा छ। नेपाल र भारतका सयभन्दा बढी चर्च संगठित 'भिजन नेशनल, नेपाल' का निर्देशक अमेरिकाका जोएल ग्यारिसन हुन्। मर्सी मिसन होमको इसाई गतिविधि (http://visionnationals.org/our-mission/in-nepal/) मा हेर्न सकिन्छ।

नेपाली 'क्रिश्चियन मिनिस्ट्रीज' का संस्थापक निर्देशक रहेका अर्का पास्टर आमोस तिवारीले फेसबूक पेज www.facebook.com/Nepali-Christian-Ministries-344960062300379 र nepalichristianministries.org मा नेपाली बालबालिकाबीच बाइबल शिक्षा लोकप्रिय भएको देखाउन थुप्रै तस्वीर राखेका छन्। nepalichristianministries.org का अनुसार, तिवारी १० वर्षदेखि १४ वटा अनाथालयमा प्रवचन दिनेदेखि इसाई धर्मका प्रचार सामग्री वितरणमा सक्रिय छन्। अर्को वेबसाइट (Www.youtube.com/watch?v=W18QC0wIxLw) मा अमेरिकी क्रिश्चियन संस्था इथ्रीपार्टनर्सकी प्रतिनिधि लिसा स्टेवार्टको नेपालमा सम्पन्न 'आई एम सेकेन्ड' नामको बाइबल अध्ययन कार्यक्रमले इसाई धर्मप्रति ८०० किशोरकिशोरीलाई उत्सुक पारेर नयाँ अनुयायी बनाउने कार्यक्रम ल्याउन प्रेरित गरेको अनुभव सुन्न सकिन्छ।

नेपालमा इसाई धर्म प्रवर्द्धन गरिरहेका सबैजसो बालगृहले आकर्षक वेबसाइट, ब्लग र सामाजिक सञ्जालमार्फत सम्पर्क बढाएका छन्। २९ सेप्टेम्बर २०१४ मा ग्रेस एडभेन्चर नामक समूहले युट्यूबमा राखेको 'होप फेमिली नेपाल अर्फन्स् ग्रिटिङ यू' नामक भिडियोमा नेपालको एउटा अनाथालयका सिर्जना प्रजा (१५), विवेक प्रजा (१०), दिलीप प्रजा (८), सगुन (११), साधना शिवभक्ति (९), सितेश प्रजा (१०), सिजन प्रजा (८), सन्तोष प्रजा (१५), फिलिप प्रजा (१०), प्रवि थामी (११), उमेश राई (७), सन्तोषी थामी (१०), सोमा राना (९), श्यारोन (८), दिलकुमार (११), पदम थापा (१२), जेसिल्भा मगर (९), मर्कस मगर (७), अम्बिता मगर (७) र अस्मिता मगर (७) ले आफूलाई बाइबल पढ्न मन लाग्ने, भविष्यमा मिसनरीमा काम गर्ने कुरा अंग्रेजीमा सुनाउँछन्। (हे. www.youtube.com/watch?v=w6kpAMTvuF8)। १३ मिनेट लामो यो भिडियोमा सात वर्षका बालबालिकाले आफूलाई बाइबल मनपर्ने बताएका छन्।

गत ५ पुसमा नेपाल माउन्टेन चर्चको नाममा युट्यूबमा राखिएको ४१ सेकेन्डको भिडियोमा पहाडी क्षेत्रको कुनै घरमा करीब ७० जना बालबालिकाले इसाई भजन गाइरहेको देखिन्छ। त्यसअघि २७ मंसीर २०६९ मा युट्यूबमा राखिएको 'जोइनिङ ह्यान्ड्स नेपाल' नामको भिडियोमा पनौती नजिकैको एक बालगृहको दृश्य छ, जसमा बालबालिकाले आफ्नो नाम नेपालीमा बताउँदा भिडियो खिच्ने विदेशीले अंग्रेजी नाम भन्न लगाउँछन्। (हे.www.youtube.com/watch?v=S-qGXGYRQto)

गत वर्ष इलामको महमाई–९ डुङडुङेमा अन्तर्राष्ट्रिय स्वयंसेवकहरूले साना तारा सामुदायिक स्कूल बनाइदिएको भन्दै अमेरिकाकी रेगन क्रेमरले आफ्नो वेबसाइटमा भिडियो कथा राखेकी छन्। यो स्कूलका संस्थापक रुबेन (टंक) राईले रसुवा, मोरङ, भक्तपुर र मकवानपुरमा अनाथालय खोलेका छन्। उनको वेबसाइट 'चर्च इन नेपाल' मा स्कूल जानुअघि बालबालिकाले प्रार्थना गरेको भिडियो देखिन्छ। (www.churchinnepal.org/?linkId=78)। त्यस्तै, पास्टर डी.के डेनियल लिम्बूको काठमाडौंस्थित 'न्यू होप फर चिल्ड्रेन' नामक बालगृहमा राखिएका १५ बालबालिकालाई क्रिश्चियन संस्कारमा हुर्काइरहेको भन्दै विदेशी सहयोगको अपेक्षाका साथ वेबसाइटमा लामो लेख राखिएको छ (हे.http://cameneti.net/hope-children/)। लिम्बूलाई अष्ट्रेलियाबाट बिल बहरमन परिवारले सहयोग गरिरहेको वेबसाइटमा उल्लेख छ।

स्रोतः समाज कल्याण परिषद्

अर्का पास्टर कृष्णबहादुर परियारले अमेरिकाको न्यू लाइफ चर्चको आर्थिक सहयोगमा काठमाडौंमा नेपाल चिल्ड्रेन वेलफेयर एसोसिएसन र चितवनमा न्यू लाइफ चिल्ड्रेन होम खोलेका छन्। परियार अध्यक्ष रहेको न्यू लाइफ क्रिश्चियन मिनिस्ट्रिजले काठमाडौं, इलाम, गोरखा, ललितपुर र चितवनमा चर्चहरू खडा गरेको छ। त्यस्तै, अमेरिकी क्रिश्चियन संस्था होप वर्ल्ड वाइडले काठमाडौंको बालाजुमा २० वर्षअघि खोलेको आशा विद्याश्रमको वेबसाइटमा इसाई आस्था लुकाइएको छैन।

बालबालिकाको दुरुपयोग

नेपालमा इसाई धर्म प्रचारको लागि खोलिएका बालगृह र स्कूलहरूले अमेरिका, बेलायत, अष्ट्रेलिया, कोरिया, जर्मनी, सिंगापुरलगायतका इसाई धार्मिक संस्था तथा व्यक्तिहरूबाट करोडौं आर्थिक सहयोग लिएका छन्। (हे. टेबल) उनीहरूले नेपालका अनाथ र बाबुआमा भएकै बालबालिकालाई पनि 'प्रभुका सन्तान' भन्दै खोजीखोजी बालगृहहरूमा भेला पार्ने गरेका छन्। उनीहरूले त्यस्ता बालबालिकाको तस्वीरसहित दुःखका कथा देखाउँदै दाताबाट रकम उठाउने गरेको देखिन्छ। नेपाली इसाईहरूलाई सहयोग गर्ने विदेशीहरूले ती 'दुःखी बालबालिकालाई प्रवचन, शिक्षा र तालीम दिएर स्वयंसेवक बनाउन' अर्थ संकलन गर्छन्।

यस्तो रकम नेपालमा कति आउँछ र बालबालिकाको लागि कति खर्च हुन्छ भन्ने यकिन तथ्यांक कतै भेटिदैन। कम लगानीमा नयाँ पुस्तामा 'प्रभुको सुसमाचार' पुर्‍याउन बालबालिकालाई माध्यम बनाउने अभियान बढेको देखिन्छ। वयस्क व्यक्ति वा परिवारमा धर्म प्रचार गर्दा बढी खर्च र कम सफल हुने भएकोले अन्तर्राष्ट्रिय इसाई संस्थाहरूले सीधै बालबालिकामा पुग्न बालगृह र अनाथ स्कूलमा लगानी बढाएका छन्। केन्द्रीय बालकल्याण समितिकी कार्यक्रम व्यवस्थापक भुषाल यसरी बालबालिकाको दुरुपयोग भए पनि केही गर्न नसकिएको बताउँछिन्।

समितिको क्रियाकलाप अनुगमन र मूल्यांकनमा सीमित छ। समितिको वार्षिक प्रतिवेदन २०७२ अनुसार, देशभर १ देखि १२ कक्षासम्म पढाइ हुने मदरसा (मुस्लिम) ७३५, गुम्बा ७६ र ६८ वटा आश्रम छन्। यसमा इसाईहरूले खोलेको बालगृह र विद्यालय समावेश छैन। यसमा एउटै अपवाद देखिन्छ, सैंबु ललितपुरस्थित १२ जना बालबालिका राखेको सिलोम चर्च। जिल्ला बाल कल्याण समिति काठमाडौंकी बाल अधिकार अधिकृत सुनिता शाह मदरसा र गुम्बा सहजै चिन्न र त्यहाँ के हुन्छ भनेर थाहा पाउन सकिने बताउँछिन्। “तर, इसाई धर्म प्रवर्द्धित गर्न खोलिएका बालगृह वा स्कूलहरूमा धार्मिक आस्था लुकाइएको हुन्छ”, शाह भन्छिन्।

कर्णालीका धेरै

काठमाडौं उपत्यका र बाहिरका सुविधासम्पन्न शहरहरूमा बालगृहको संख्या र कर्णाली अञ्चलका हुम्ला, जुम्ला, डोल्पा, मुगु र कालिकोट जिल्लाका विभिन्न गाउँबाट बालबालिका ओसारपसार एक साथ बढेको छ। 'आमाघर' संचालक दिलशोभा श्रेष्ठले ललितपुरको धापाखेलस्थित विश्वप्रताप आचार्यको 'ह्याप्पी होम' मा राखेका बालबालिका पनि कर्णालीकै बढी छन्।

कर्णालीमै संचालित बालगृहहरूमा कम बालबालिका छन्। जुम्लाको एकमात्र अनाथालयमा १२ बालिका छन् भने हुम्लाका चारवटा अनाथालयमा २० बालक र ७६ बालिका छन्। जबकि, यी दुई जिल्लाबाट एक हजारभन्दा बढी बालबालिका काठमाडौंका विभिन्न बालगृहमा रहेको अनुमान छ। युनिसेफ र महिला कानून तथा विकास मञ्चले सन् २००५ मा गरेको अध्ययनले त्यो समयसम्म हुम्लाबाट तीन सय बालबालिकालाई काठमाडौं र भारतका विभिन्न स्थानमा लगिएको देखाएको थियो।

भौगोलिक रूपमा बढी विकट कर्णालीका बालबालिका दलालले शहर लगेपछि अभिभावक पूरै बेखबर देखिन्छन्। दलालले 'राम्रो छ' भनेको भरमा बस्नुपर्ने कर्णालीका कतिपय अभिभावक ५, ७ वर्षसम्म आफ्ना बालबालिकासँग सम्पर्कविहीन हुन्छन्। बालगृहहरूमा कुन ठाउँबाट ल्याइएका कस्ता बालबालिका छन् भन्ने कुरा उद्धारपछि मात्र बाहिर आएको देखिन्छ। एक वर्षअघि काठमाडौंको बूढानीलकण्ठस्थित युनिभर्सल सोसल वेलफेयर नेपाल र गत पुसमा भद्रवासको इटरनल वर्ल्ड मिनिस्ट्रीबाट उद्धार गरिएका बालबालिका भने धेरैजसो सुर्खेत, सिन्धुपाल्चोक र लमजुङका थिए। दुवै संस्थाले बालबालिकालाई इसाई संस्कार सिकाएको भेटिएको थियो।

परिवारले हत्तपत्त सम्पर्क गर्न नसक्ने हुनाले पनि कर्णालीका बालबालिका खासगरी आस्थाको व्यापार गर्ने बालगृह संचालकहरूको रोजाइमा पर्छन्। लामो समय घरपरिवार र समाजबाट टाढा राख्न पाउँदा बालबालिकालाई कुनै धर्म विशेषका कुरामा एकोहोरो बनाउन सजिलो हुन्छ। कर्णालीका बालबालिका राखेको भनेपछि सरकारी निकायले समेत सहानुभूतिको दृष्टिले हेर्दा उनीहरूलाई झ्न् सजिलो भएको देखिन्छ।

२०१४ डिसेम्बरमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले १० जिल्लाका १३१ बालगृहमा रहेका ४ हजार ३६५ बालबालिका (२ हजार २०३ बालिका समेत) माथि गरेको अध्ययनले उनीहरू गरीबीका कारण परिवारबाट बाहिरिएको देखाएको थियो। ती बालबालिका स्थानीय सरकारी निकाय, जिल्ला बालकल्याण समिति र चर्चको सिफारिश तथा व्यक्तिगत सम्पर्कका आधारमा बालगृहमा भर्ना भएको पाइएको थियो।

१२ वैशाख २०७२ को महाभूकम्पपछि बालबालिका ओसारपसार गर्ने दलाल र आस्थाका व्यापारीहरूले नयाँ स्रोत भेट्टाए– परिवारविहीन र परिवारसँग सम्पर्कविच्छेद भएका बालबालिका (हे. जततउकस्ररलभउबअिजगचअज।धयचमउचभकक।अय्करयचउजबलबनभर)। भूकम्पबाट बढी प्रभावित १४ जिल्लामा बाबुआमा दुवै गुमाएका १७६ र आमा वा बाबुमध्ये एक गुमाएका १ हजार ८३७ गरी २ हजार १३ बालबालिकाअनाथ भएका छन्। केन्द्रीय बालकल्याण समितिले भूकम्पछि अनाधिकृत ओसारपसार गरिएका २२७ बालक र १३१ बालिकाको उद्धार गरेको थियो।


'कर्णालीमा काठमाडौं लैजाने प्रतिस्पर्धा नै छ'

अमर बुढा

जैर गाविस–४, हुम्ला

ताहाचल क्याम्पसमा स्नातकोत्तर पढिरहेकोले मलाई काठमाडौं–हुम्ला गरिरहनुपर्छ। गाउँमा आएको छ भन्ने थाहा पाएपछि हुम्लाका धेरै अभिभावक आफ्ना बच्चाको सोधीखोजी गर्छन्। गाउँका मानिसहरूले आफ्ना बालबच्चा कता पुर्‍याएका हुन्छन् उनीहरूलाई केही थाहा हुँदैन। गाउँबाट एउटैले ६० जनासम्म बालबालिका ओसारेका छन्। बाबुआमाबाट पैसा लिएर बच्चा लैजानेहरू पनि धेरै छन्। एउटै बच्चाको बाबुआमाबाट २० हजारदेखि एक लाखसम्म लिएको सुनेको छु।

म आफैंले पनि पाँच जना बालबालिकालाई काठमाडौं ल्याएँ। तीमध्ये चारजना गाउँ फर्किसके, एकजना बोहराटारमा रहेको अनाथालयमा छ। उनीहरूले राम्रो शिक्षा पाउन् भनेर मैले आफ्नै खर्चले ल्याएँ, तर काठमाडौंका कुनै संस्थाले राख्न मानेनन्। तीमध्ये दुई जना मेरा आफ्नै टुहुरा साला थिए। तिनलाई लिएर काठमाडौं, भक्तपुर र ललितपुरका २५ वटा अनाथालय धाउँदा कसैले चासो दिएनन्। सबको भित्री चाहना पैसा पनि लिने थियो। यिनीहरू टुहुरै हुन् भन्दा पनि कसैले सुनेन। उता जिल्लामा उल्टै मलाई बालबालिका लगेर पैसा लियो भन्ने आरोप लाग्यो।

गाउँका मान्छेमा अहिले आफ्ना बालबालिकालाई पढ्न काठमाडौं पठाउने प्रतिस्पर्धा नै चलेको छ। संस्थाहरूले द्वन्द्वपीडित, आमाबाबुविहीन, गरीब, दलित र एकल महिलाका सन्तान नहेरी पैसा वा दाता हेर्छन्। मैले विना विधिविधान चलेको बालगृहहरू देखेको छु। अरूका बालबच्चा पाँच, सात महीनापछि अलपत्र पार्नेहरू पनि छन्।


चर्चभित्रै बालगृह

हिमालयन फाउन्डेसन नेपालका संस्थापक पास्टर देवीलाल (डेभिड) प्रसाईको काठमाडौंको धापासीस्थित हिमालयन होप चर्चमा १५ बालबालिका छन्। बालबालिका बिहान चर्चभित्रै प्रार्थना गरेर दिउँसो नजिकैको स्कूल जान्छन्। २०६४ सालमा समाज कल्याण परिषद्मा दर्ता भएको यो संस्थाले नेपालमा स्वयंसेवकको काम मिलाइदिने, संस्कृति आदानप्रदान गर्ने, अर्गानिक कृषि कार्यक्रमलगायतको बहनामा विदेशका इसाई स्वयंसेवक परिचालन गर्छ।

पाटनको कुमारीपाटीस्थित कोइनोइना चर्चले 'मर्सी होम' र कुसुन्ती चर्चले 'टिमोथी होम' नामक अनाथालय सञ्चालन गरिरहेको छ। त्यस्तै, काठमाडौंको ग्रेटर ग्रेस चर्चमा २० बालबालिका राखेको ग्रेस रिभाइभल मिसनको वेबसाइट ग्रेसगिभिङ डटकमले अन्य समुदायलाई क्रिश्चियन जीवनशैलीमा ढाल्नु आफ्नो मूल 'मिसन' भएको खुलाएको छ। ग्रेस रिभाइभल मिसनले क्रिश्चियन जीवनशैली भएको परिवारमा बस्दा बालबालिका असाध्यै खुशी भएको पनि उल्लेख गरेको छ।


मापदण्ड अनुसार...

आवासीय बालगृहको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०६९ अनुसार बालगृहले वेलावेलामा बालबालिकाको सांस्कृतिक पृष्ठभूमि अनुसारको पोशाक र भोजन उपलब्ध गराई निजी पहिचानबोध गराउनुपर्छ। बालबालिकालाई नागरिक शिक्षा, जीवनोपयोगी ज्ञान, व्यावसायिक सीप र सामाजिकीकरण तालीमको व्यवस्था पनि मिलाउनुपर्छ। यस अन्तर्गत सामाजिक चालचलनसँग परिचित गराउन राष्ट्रिय चाडपर्व, सामाजिक, धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरूमा बालबालिकालाई संलग्न गराउनुपर्छ। यस अनुसार–

१. बालगृहले बालबालिकालाई धार्मिक क्रियाकलाप वा धार्मिक शिक्षा, विमर्श र उपदेशमा भाग लिने वा नलिने निर्णय गर्ने स्वतन्त्रता दिनुपर्ने।

२. कुनै धर्म वा आस्थाको अनुसरण गरे वा नगरे बापत बालबालिकालाई विशेष सुविधा वा उपहार दिने वा नदिने गर्नुहुँदैन।

. बालबालिकालाई निजको धार्मिक आस्था वा निष्ठामा परिवर्तन गर्न वा उसको सांस्कृतिक रूपमा अस्वीकार्य धार्मिक वा सांस्कृतिक अभ्यास गराउनुहुँदैन।

. आफ्ना सेवाहरू ब्ाालबालिका कुनै आस्थाविशेषको भए मात्र उपलब्ध गराउने शर्त राख्नुहुँदैन।

. बालबालिकालाई आ–आफ्नो धार्मिक वा आध्यात्मिक जीवन र आस्था निर्वाध अभ्यास गर्न दिनुपर्ने।

६. बालबालिकाले चाहेमा निज बालबालिकाको जन्म भएको परिवारले पालना गर्ने आफ्नो धर्म वा आस्थाको बारेमा पत्ता लगाउन सहयोग गर्नुपर्ने।

comments powered by Disqus

रमझम