२७ फागुन २०६९ | 10 March 2013

वागमतीमा सङ्लो पानी

Share:
  
- मिलन बगाले
सबैको अतिक्रमणले ढलमती बनाएको वागमतीलाई त्यस्तै साझा प्रयासले मात्र फेरि चोखो बनाउन सक्छ।

तस्वीर: विक्रम राई
ढलमती बनेको वागमती नदी। तस्वीरमा देखिएको सुकुम्वासी बस्ती हाल सरकारले हटाइसकेको छ। (कम्प्युटर मोन्टाज तस्वीर)
नदी सभ्यता बिगार्नेलाई गाली गर्दागर्दै हुतराम वैद्य बूढो भए। वागमती―विष्णुमती सङ्लिनुपर्ने उनको सोच भने अझै बूढो भएको छैन, भलै नदीहरू सङ्लिने छाँट नदेख्दा उनको मन धमिलिएको होस्। हिन्दू धर्मले वरुण देवताको बास पानीमा दिसापिसाब गर्नुहुन्न भने पनि धर्मभीरु राणाहरूको शासन छँदै शहरी ढल नदीहरूमा झार्न थालिएको वैद्यबाले लेखेको 'वागमती सभ्यता संरक्षण सङ्घर्षका बाह्र वर्ष' पुस्तकमा उल्लेख छ।

राणाहरूले दिसापिसाब खसाल्न सिके पनि बालुवा ओसार्न सिकेका थिएनन्। बालुवा र सिमेन्ट मिसाएर घर बनाउने चलन त्यतिबेलासम्म यो खाल्डोमा आइसकेको थिएन। प्रजातन्त्रसँगै शहरमा सिमेन्ट संस्कृति भित्रियो र त्यसले बालुवा खोज्यो। अनि खानीतिर खोज्नुपर्ने बालुवा खोलाबाट झिक्न थालेपछि नदी सभ्यता एकादेशको कुरा हुँदै गयो। शिवअंग भनिने बालुवा झिक्न २०२० सालमा पहिलोपटक बुल्डोजर पसेदेखि वागमती―विष्णुमतीको दुर्दशा शुरू भएको हो। त्यसपछि नै हो, वागमतीले विषाक्त कालो लेदो बोकेर बग्नुपरेको।

काठमाडौंका मानिस अचेल ब्रह्मनालमा हैन, अस्पतालमा मर्छन्। त्यही भएर ब्रह्मनाल बचाउने चासो वैद्यबाहेक अरूको छैन। ७ मंसीर २०५२ मा 'वागमती बचाउन' जन्मिएको अधिकारसम्पन्न वागमती क्षेत्र ढल निर्माण/सुधार आयोजना कार्यान्वयन तथा अनुगमन समितिले नदीमा फोहोर फाल्नेलाई रु.१ लाख जरिवाना तिराउने र फौजदारी अभियोगमा तीन महीना जेल राख्ने निर्णय भने गरेको थियो। तर, त्यो निर्णयले वागमतीमा फोहोर फाल्नेहरूको केही लछारेको छैन, ढल झ्रिरहेकै छन्। कागजी नियमले वागमती सभ्यताको दिन फिर्ने सम्भावना देखिन्न।

राणाहरूले नदीमा ढल हाल्ने चलन चलाउँदा ढल सीमित र पानी असीमित थियो। वागमतीहरूलाई थोरै ढल पचाउन गाह्रो भएन। तर, ढल बढ्दै र पानी घट्दै जाँदा बालुवा नभएका नदीहरू ढलमती बन्दै गए। नदी सभ्यताको धार्मिक तथा सांस्कृतिक महत्व बिर्सेका योजनाकारहरूले वागमती परिवारका नदीहरूमा पानीको ठाउँ ढलले हड्पेको कहिल्यै देखेनन्। न त उनीहरूले जप, तप, ध्यान, स्नान गर्ने नदीकिनारको महत्व नै सम्झे। योजनाकारहरूले यस्ता कुरा सम्झेका भए उपत्यकाका नदीकिनारहरू राँगाभैंसीको 'खुल्ला बधस्थल' बन्ने थिएनन्।

अरू सरकारी मान्छे र ठेकेदारहरूले पनि नदीको पानी स्वच्छ पार्ने बालुवा फगत पैसा कमाउने साधन मात्र ठाने। त्यही भएर सभ्य–भव्य राजधानीका वासी, होटल तथा कल कारखानाहरूले चर्पीको मलमूत्र र रसायनपानी फ्याँक्ने सजिलो निकास बनाएका वागमतीहरूमा जिविसहरूले बालुवा ठेक्का लगाए। चौतर्फी आक्रमण र अतिक्रमणबाट आत्तिएका नदी परिवारलाई बचाउन विदेशी संस्थाहरूले पनि डलरको सक्दो कारोबार गरे। यी सबैको परिणाम, अहिलेका नदीहरू बग्न नसकेर जम्न बाध्य छन्। तिनमा माछा त के, भ्यागुतोको पनि जीवन कल्पना गर्न सकिन्न।

१९९० सालको भुईंचालोमा धारा, पँधेरा, कुवा भत्केपछि वागमतीहरूकै पानी खाएर काठमाडौंवासी शहर पुनर्निर्माणमा जुटेका थिए। त्यो बेला वागमतीहरूको पानी स्वच्छ, सङ्लो र जीवनदायी थियो भनिरहनु पर्दैन। तर; ढल मिसान, बालुवा दोहन र जमिन अतिक्रमणबाट तीव्र बनाइएको वागमती सभ्यता विनासको क्रम अहिले लिंक रोडलगायतका बतासे विकास योजनासम्म आइपुगेको छ। अब हाम्रा नीतिनिर्माताहरूलाई कुनै विदेशीले 'तिमीहरूका कुरुप नदी बेस्सरी गन्हाए, अब सर्लक्कै ढाक्ने (स्ल्याव) ले छोपेर त्यसमाथि मोटरमा गुड' भनेर सल्लाह दिन बाँकी छ। यसलाई उनीहरूले पाप लुकाउँदै आधुनिक हुने उत्तम तरिका मान्ने होलान्।

शिवपुरीको वाग्द्वारबाट उत्पत्ति भएको १९६ किमि लामो वागमतीमा काठमाडौं उपत्यका र बाहिरका २४ नदी मिसिन्छन्। सुन्दरीजल तलबाट बिटुलिएको वागमतीलाई अब सबैको साझा पहलले मात्र फेरि चोखो बनाउन सक्छ। नदी सभ्यता बचाउन लागिरहेकाहरूको जय होस्!

comments powered by Disqus

रमझम