३० फागुन - ६ चैत २०७२ | 13-19 March 2016

देउवाको दिन

Share:
  
- सइन्द्र राई
कोइराला नेतृत्वको संस्थापनलाई पराजित गर्दै नेपाली कांग्रेसको सभापति निर्वाचित शेरबहादुर देउवा आन्तरिक तथा बाह्य राजनीतिमा सहकार्य, सद्भाव र एकताको नीति लिए राजनेता सावित हुनेछन्।

श्रीधर पौडेल
दोस्रो चरणको निर्वाचनमा प्रष्ट बहुमतले नेपाली कांग्रेसको सभापति निर्वाचित भएपछि आफ्ना समर्थकहरूबीच शेरबहादुर देउवाले '६०/४० को भागबन्डा सकिएर कांग्रेस एक भएको छ, अब मैले भनेअनुसार पार्टी चल्छ' भन्दै पार्टीभित्र कुनै पक्षले हेपिएर बस्नुपर्ने दिन सकिएको उद्घोष गरे।

असन्तुष्ट पक्षको अगुवाई गर्दै संस्थापनतर्फबाट सभापतिका उम्मेदवार बनेका रामचन्द्र पौडेललाई ५२७ मतको अन्तरले पराजित गरेका देउवाले तत्काललाई पार्टीमा परिवारवाद भत्काएका छन्। पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने प्रतिबद्धतासहित मत मागेका उनले संस्थापनबाट आफूले खेपेजस्तो पीडा अरूलाई नदिने आशयको अभिव्यक्ति दिए।

काठमाडौंमा भएको १३औं महाधिवेशनले कोइराला परिवारका सदस्यलाई दोस्रो तहका नेतामा सीमित गरे पनि चुनावी परिणाम र दुवै पक्षका अभिव्यक्तिले गुटबन्दीरहित कांग्रेस बन्ने आधारलाई भने कमजोर बनाएको छ। देउवाले आफूले भनेअनुसार पार्टी चल्ने बताएर अर्को प्यानलबाट निर्वाचित पदाधिकारी एवम् सदस्यहरूलाई चेतावनी दिन खोजेको संस्थापन पक्षको बुझाइ छ। तर, देउवा पक्षका नेता बालकृष्ण खाँड भन्छन्, “सबैको कुरा सुनेर निर्णय लिने नेतालाई कामअघि शंका गर्नु राम्रो होइन।”

कांग्रेस विधान अनुसार, कुनै उम्मेदवारले खसेको मतमा ५० प्रतिशत कटाउन नसक्दा सभापति पदमा दोहोर्‍याएर मतदान गर्नुपरेको र धेरै उम्मेदवारी परेकाले गणनामा ढिलाइ हुँदा २०–२३ फागुनका लागि निर्धारित महाधिवेशन लम्बिंदै गएको छ। २३ फागुनको निर्वाचनमा सहभागी ३ हजार १४८ प्रतिनिधिमध्येबाट देउवाले १ हजार ५६४, पौडेलले १ हजार १६० र कृष्णप्रसाद सिटौलाले ३२४ मत पाए पनि कसैको ५१ प्रतिशत पुगेन। त्यो दिन ११ मत नपुगेर कांग्रेस सभापति बन्न नसकेपछि देउवा सिटौला स्वतः बाहिरिएको दोस्रो चरणको मतदानमा १ हजार ८२२ मत ल्याएर विजयी भए भने पौडेलले १ हजार २९५ पाए।

त्यसको भोलिपल्ट आएको महामन्त्री र कोषाध्यक्ष पदको निर्वाचन परिणाममा भने देउवा खेमाका उम्मेदवारहरू पराजित भए। त्रिपक्षीय प्रतिस्पर्धामा महामन्त्री र कोषाध्यक्षमा संस्थापनका शशांक कोइराला र सीतादेवी यादव निर्वाचित भइन्। शशांकले १ हजार ४१७, देउवा प्यानलका अर्जुननरसिंह केसीले १ हजार १७ र सिटौला प्यानलका गगन थापाले ५८४ मत प्राप्त गरे भने कोषाध्यक्षमा संस्थापनका सीतादेवीले १ हजार २१७, देउवा प्यानलका चित्रलेखा यादवले १ हजार २०९, सिटौला प्यानलका उमाकान्त चौधरीले ४५७ मत पाए। ढिलोगरी आइरहेको मतपरिणामले ६४ जना केन्द्रीय सदस्यमा भने देउवाको पल्ला गह्रौं हुने देखाएको छ।

निर्विकल्प सहकार्य

१०औं महाधिवेशनमा गिरिजाप्रसाद र १२औंमा सुशील कोइरालासँग पराजित देउवाले ७० वर्षदेखि अपराजित कांग्रेस संस्थापनप्रतिको धारणा नै बदलेका छन्। बीपी कोइरालाको निधन अघिसम्म आफ्नै नियन्त्रणमा राखेको पार्टी त्यसपछि कान्छोभाइ गिरिजा र सानीआमाका छोरा सुशीलले नेतृत्व गर्दासम्म बलियो टक्कर दिन सक्ने गैर–कोइराला नहुँदा कांग्रेसभित्र संस्थापन भनेकै कोइराला भन्ने बुझाइ थियो।

राजनीतिक विश्लेषक नीलाम्बर आचार्य देउवाको जितले कांग्रेस राजनीतिमा महत्वपूर्ण अर्थ राख्ने बताउँछन्। यसपटक कुनै कांग्रेसजनले पनि चुनाव लडेर नेतृत्व लिनसक्छन् भन्ने सन्देश आएको उनको बुझ्ाइ छ। २०१२ मा सुवर्णशमशेर राणा र २०४८ सालमा कृष्णप्रसाद भट्टराई सभापति भए पनि पार्टीमा कोइराला परिवारकै दबदबा थियो।

तत्कालीन पार्टी सभापति सुशील कोइरालाको २६ माघमा निधन भएपछि संस्थापन विभाजित हुँदाको लाभसँगै चातुर्यपूर्ण प्रयत्नमार्फत देउवाले सहज जित हात पारे। गिरिजाप्रसादको साथ पाएर राष्ट्रिय नेताको हैसियत बनाएका सिटौला र युवा नेताको बलियो व्यक्तित्व बनाएका गगन थापाले छुट्टै प्यानल तयार पारेर संस्थापनलाई चुनौती दिइरहँदा देउवाले छरिएका स–साना मत आफ्नो पक्षमा पारे। उनले खुमबहादुर खड्का, कुलबहादुर गुरुङ, अर्जुननरसिंह केसीदेखि कोषाध्यक्षको टिकट नपाएपछि असन्तुष्ट बनेका संस्थापनका पुराना नेता फरमुल्लाह मन्सुरलगायतका नेताहरू महाधिवेशनको मुखमा आफूतिर ताने। पौडेलले भने कोइराला परिवारको समेत प्रष्ट विश्वास जित्न सकेनन्।

महाधिवेशन प्रतिनिधि छनोटको गणितीय हिसाबमा करीब डेढ सय मतले पछिपरेका देउवाले आफ्नो पक्षमा परिणाम ल्याउन संस्थापक नेताहरू कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाबाट सिकेका चुनावी कौशल प्रयोग गरे, विशेषगरी आफूले जित्दा समर्थकहरूको दिन फेरिने विश्वास दिलाउँदै। यद्यपि, संस्थापनलाई हराउन भूमिका खेलेका यिनै नेताहरूको व्यवस्थापन देउवाका लागि नयाँ कार्यकालको चुनौती हुने देखिन्छ।

सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनीत गर्ने कांग्रेस विधान संशोधन गर्न महाधिवेशन अघि तयार नभएका देउवाले आफ्ना पक्षका झ्ण्डै आधा दर्जन नेता व्यवस्थापन गर्न कठिन हुने देखिन्छ। यसअघिका महाधिवेशनबाट एउटै प्यानलका पदाधिकारी निर्वाचित हुँदै आएकोमा यसपटक महामन्त्री र कोषाध्यक्ष अर्को प्यानलबाट आएकाले पनि आगामी ५ वर्ष देउवाले भने जसरी चल्ने देखिंदैन। पराजयपछि वरिष्ठ नेताको हैसियत पाएका पौडेलले घुमाउरो भाषामा देउवालाई असहयोगको संकेत दिइसकेका छन्। चुनावी नतीजाले सहकार्यमा जोड दिएको बताउने राजनीतिक विश्लेषक आचार्य भन्छन्, “५७ वर्षका शशांक पारिवारिक लिगेसीबाहेक युवा मतको समेत प्रतिनिधित्व गर्दै महामन्त्री निर्वाचित हुनु देउवाका लागि थप चुनौती हो।”

२०४८ यताका सबै संसदीय निर्वाचन जितेका देउवा प्रधानमन्त्री रहँदा २०५२, २०५८ र २०६२ साल नेपाली लोकतन्त्रमाथि खतरापूर्ण वर्ष सावित भएका थिए। त्यो अँध्यारो पाटोलाई विस्मृत पार्दै राजनेतामा स्थापित हुन उनले आन्तरिक र बाह्य राजनीतिमा सहकार्यको सूत्र प्रयोग गर्नुपर्नेछ। देउवा निकट एक नेता भन्छन्, “सरकार बदल्ने भन्दा पनि संविधान कार्यान्वयन र राष्ट्रिय समस्यामा जोड दिंदा चुनौती घट्छ।”

दोस्रो संविधानसभा निर्वाचन परिणामले पनि दलीय सहकार्य विना सफल नभइने प्रष्ट पारेको छ। देउवाले महाभूकम्प, नाकाबन्दी र मधेश आन्दोलनबाट सिर्जित समस्यादेखि संविधान कार्यान्वयनसम्मका चुनौतीलाई अवसर बनाउनुपर्ने कांग्रेस नेता प्रदीप पौडेल बताउँछन्। असन्तुष्टहरूको नेतृत्व गर्दै आएका देउवाले त्यसका लागि सबैको नेता हुने स्वभाव र कार्यशैली विकास गर्नुपर्नेछ।

पार्टीभित्रै पनि संवैधानिक राजतन्त्रात्मक मान्ने पुरानो पुस्तादेखि धर्मनिरपेक्ष समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर युवासम्मलाई मनाउँदै संविधान कार्यान्वयन गर्नुपर्ने अवस्था छ। देउवा निकट नेता खाँड वामपन्थीहरूको सहकार्यमा संभव भएको संविधान कार्यान्वयन गर्न सहकार्यकै बाटो हिंड्नुपर्ने बताउँछन्।

एक दशकयता नयाँ नेतृत्व उत्पादन नै जाम हुने गरी रोकिएका भ्रातृ संस्थाहरूको महाधिवेशन ६ महीनाभित्र गराउने प्रतिबद्धता जनाएका देउवाले तत्काल विभाग गठन गरी पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो बनाए भने त्यहींबाटै सफलता शुरू हुनेछ। कुनै वेला आफूलाई साथ दिएका र अहिले नजिकिएका नेताहरूको केन्द्रीय समितिमा बोलवाला हुने अवस्था भने देउवाका लागि राम्रो संकेत भएको छ।

नयाँ जोश, पारा पुरानो

२०६३ पछिको पुस्ताको प्रतिनिधित्व गर्ने युवा नेता गगन थापा र उनका समकालीनहरूको उम्मेदवारी यो महाधिवेशनमा चर्चाको विषय बन्यो। तेस्रो धारका रूपमा उम्मेदवारी दिंदै थापाले ल्याएको मत नयाँ नेतृत्वलाई चुनौतीका रूपमा पर्याप्त बन्यो। करीब ३१ सय महाधिवेशन प्रतिनिधिमध्ये ५८४ जनाले गगनलाई रुचाउनु युवा हस्तक्षेपको थालनी भएको कांग्रेस नेताहरू स्वीकार्छन्।

१२ सयभन्दा बढी नयाँ अनुहार सहभागी महाधिवेशनबाट थुप्रै पुराना अनुहार अनुमोदित हुनुमा भने युवा नेताहरूबीच एकता नदेखिनु, परम्परागत गुटमार्फत सुरक्षित हुने चाहना राख्नु र राज्यशक्तिको प्रयोग गरेकाहरूको सञ्जाल नतोडिनु कारक देखिन्छ। केन्द्रीय सदस्यका उम्मेदवार रामहरि खतिवडा पार्टीका सीमित कार्यकर्ताबीच नेता बनिरहने परम्परागत राजनीति नभत्किएसम्म युवा पुस्ताको आगमन सहज नहुने बताउँछन्।

विद्यार्थी राजनीतिमार्फत उदाएका देउवा सभापति निर्वाचित भए पनि कांग्रेसभित्र विरासतको राजनीति गर्नेहरूको सहजता कायमै रह्यो। २०५७ सालपछि पतिको विरासतमा राजनीति थालेकी सीतादेवी यादव सिरहा जिल्ला सभापतिबाट सीधै केन्द्रीय कोषाध्यक्षमा निर्वाचित हुनुले त्यही देखाएको छ। माओवादी हिंसात्मक राजनीतिक कालमा जिल्ला सभापति रहेका पति चन्द्रनारायणको हत्या भएपछि उनी कार्यवाहक हुँदै दुई पटक सभापति बनिन्।

१२औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका बीपी पुत्र शशांक पनि सीतादेवी यादवजस्तै ठूलो मतअन्तरसहित महामन्त्री निर्वाचित हुनुमा विरासतकै राजनीतिले काम गरेको छ। कांग्रेसका ठूला हस्तीहरू पछि पर्दै गर्दा शशांक र यादव बाहेक गिरिजापुत्री सुजाता, गणेशमान सिंहपुत्र प्रकाशमान, महेन्द्रनारायण निधिपुत्र विमलेन्द्र, केशव कोइरालापुत्र शेखर आदिलाई उति असहज देखिएन।

comments powered by Disqus

रमझम