राहत खोइ?

Share:
  
लमजुङका महाभूकम्प र पहिरो पीडितले अहिलेसम्म पनि राहत पाएका छैनन्।

तस्वीरहरूः युवराज श्रेष्ठ
लमजुङ, इलमपोखरी, सानोकाभ्रेका भूकम्पपीडित मंगले गुरुङ दम्पती ।
उत्तरी लमजुङको घेर्मु गाविसको माथिल्लो चिप्लावासी पहिरोपीडित बनेको १५ वर्ष बितिसक्यो। १२ वैशाखको महाभूकम्प र त्यसपछिका परकम्पनहरूले उनीहरूको त्रासदीलाई अझ् बढाएको छ। पहिरोले खेतबारी उजाड बनाएको गाउँलाई भूकम्पले घरविहीन बनाएको चिप्लाका बेलजंग गुरुङ बताउँछन्। “भूकम्पपछि टहरो वा भत्किएकै घरलाई सामान्य मर्मत गरेर बसेका छौं”, गुरुङ भन्छन्, “४१ घरपरिवारको बढी बिजोग छ।”

पूरै गाउँ बगाउने पहिरोको खतरामा रहेको चिप्लामा भूकम्पपछि सुक्खा पहिरो बढेको छ। स्थानीय धनबहादुर गुरुङका अनुसार, पहिरोले अहिलेसम्म सबैजसो खेतबारी बगाइसकेको छ। गाउँको विद्यामन्दिर प्राविका प्रअ भक्तबहादुर गुरुङ पहिरोले भत्काएको कक्षाकोठा बनाउने ठाउँसम्म नभएको बताउँछन्। लमजुङको राईनास नगरपालिका–१० सालघारीका आठ घरपरिवार पनि त्यस्तै समस्यामा छन्। पहिल्यैबाट पहिरोग्रस्त गाउँ महाभूकम्पपछि चिरा–चिरा परेको स्थानीय अर्जुन गुरुङ बताउँछन्। उनी भन्छन्, “सबै जना भत्किएको घरमाथि पाल टाँगेर बसेका छौं।”

भत्किएको घर माथि त्रिपाल टाँगेर बसेकी माथिल्लो चिप्लाका सविता गुरुङ पानी भर्न दुई–तीन घण्टा हिंड्नुपर्ने बताउँछिन्। पहिरो र भूकम्पले बाटो पनि लगेको छ। भूकम्पलगत्तै अस्थायी टहरामा बसेका सालघारीका पीडितहरू हिउँद शुरू भएपछि पुरानै ठाउँमा फर्किए, तर उनीहरू खानेपानी, शौचालय, बाटो जस्ता न्यूनतम आवश्यकताको अभावमा छन्। त्यसमाथि सताउँदैछ, आउँदो बर्खाको चिन्ताले। सालघारीका अर्जुन गुरुङ भन्छन्, “सरकारले घर बनाउन दिने भनेको राहत चाँडै दिए तयारी गर्न सजिलो हुनेथियो।”

सुन्दरबजार नगरपालिका–११ हाँडेटारकी सानुमाया कुमाल बर्खा अघि नै बास बनाउन सरकारले दिने भनेको राहतको पर्खाइमा छिन्। त्यस्तै मध्य नेपाल नगरपालिका–३ जिताकी शुभद्रा पौडेलले सरकारबाट आफूहरूले केही राहत नपाएको बताइन्। जिल्ला प्रशासन कार्यालयको रेकर्डले लमजुङका ५ हजार ६६७ परिवार भूकम्पपीडितले शुरूको रु.१५ हजार राहत अझै नपाएको देखाउँछ।

मध्यनेपाल नगरपालिका जिताकी भूकम्पपीडित शुभद्रा पौडेल।

घेर्मु गाविसको माथिल्लो चिप्ला निवासी भूकम्प तथा पहिरोपीडित शिरमाया गुरुङ।

जिल्लामा भूकम्पबाट १३ हजार ८०१ घर ध्वस्त भएका थिए। तीमध्ये ८ हजार १३४ परिवारले रु.१५ हजार राहत पाएको देखिन्छ। तत्काल राहतका लागि लमजुङमा रु.१७ करोड आएको थियो। त्यसमध्ये रु.२ करोड वितरण गरिएको छैन। त्यतिले नपुग्ने भएकोले थप रकम माग गरिएको र त्यो आएपछि वितरण गरिने प्रमुख जिल्ला अधिकारी मोहन अकेलाले बताए। फलेनी गाविसका सचिव गणेशबन्धु रेग्मी यसले गर्दा एउटै गाउँमा कसैले पाउने, कसैलाई पर्ख, पर्ख भन्नुपर्ने अवस्था रहेको बताउँछन्। गत मंसीरभित्र वितरण गर्ने भनिएको 'न्यानो राहत' पनि लमजुङमा वितरण हुनसकेको छैन। त्यसको लागि रु.१२ करोड चाहिनेमा रु.८ करोड मात्र आएकोले वितरण रोकिएको प्रजिअ अकेलाले बताए।

भूकम्पबाट बढी प्रभावित लमजुङको दूधपोखरी, विचौर, इलमपोखरी, कोल्की, पाचोकलगायतका उच्च स्थानका पीडितहरूका लागि गर्मी मौसमको शुरूआत भने प्राकृतिक राहत भएको छ। इलमपोखरीका पूर्णबहादुर गुरुङ चाहिं अझै पनि आगो बालेर रात कटाइरहेको बताउँछन्।

युवराज श्रेष्ठ, लमजुङ

comments powered by Disqus

रमझम