३० फागुन - ६ चैत २०७२ | 13-19 March 2016

भूकम्पमा भित्री सुरक्षा

Share:
  
थोरै मात्र ध्यान दिने हो भने पनि भूकम्पका वेला घरभित्रका सामान झरेर, लडेर, फुटेर हुने क्षतिबाट सजिलै बँच्न सकिन्छ।

१२ वैशाखको भूकम्पको परकम्प आउन अझै रोकिएको छैन। त्यसैले पनि भूकम्पको भयले छाडेको छैन। भयसँगै भूकम्पबाट कसरी जनधनको सुरक्षा गर्ने भन्नेबारे पनि मानिस पहिलेभन्दा बढी सचेत हुन थालेका छन्। सचेतनासँगै कतिपयले तयारी पनि थालेका छन्।

भूकम्पले घर र भवनको संरचनामा क्षति पुगेको टाढैबाट देखिन्छ। तर, गैरसंरचनात्मक क्षतिबारे खासै वास्ता हुँदैन। घरभित्रका सामान खसेर, फुटेर, ढलेर आर्थिक मात्र होइन मानवीय क्षतिसमेत पुगेका थुप्रै घटना देखिएका छन्।

भूकम्पले ललितपुर उपमहानगरपालिका १२ मंगलबजारकी कोमल शाक्य (३५) को घर चर्कियो। कम्पनले भित्तामा झुण्ड्याएको सामान पनि झर्‍यो, फुट्यो। तर, अबको स्थिति फरक छ। भूकम्पबाट हुनसक्ने क्षति कम गर्न उनले फोटो फ्रेम, घडी राख्न अंकुशे किला प्रयोग गरेकी छिन्। गह्रौं सामान दराज तथा र्‍याकको तल्लो तहमा राखेकी छिन्।

“थौरै खर्चमा सामान व्यवस्थापन भएको छ” शाक्य भन्छिन्, “छिमेकीलाई पनि सिकाएकी छु।” उनीसँगै मंगलबजारकी रेश्मा शाक्यले पनि फलामे सिक्री, पेच किला, प्लाष्टिक वाल प्लग, काठका पाता प्रयोग गरेर घरभित्रका सामग्री सुरक्षित गरेकी छिन्।

सानो प्रयास

भूकम्प सुरक्षाका क्षेत्रमा कार्यरत विदेशी सहयोगका लागि जापानी नागरिकहरूको समिति साप्लानीरका कार्यक्रम संयोजक सरिता श्रेष्ठ घरमा राखिने सामानलाई सानो प्रयासले व्यवस्थित र सुरक्षित गर्न सकिने बताउँछिन्। यसका लागि सामानको स्थान परिवर्तन गर्ने, अंकुस वा हुक लगाउने, टेको तथा आड लगाउने उपाय अपनाउन सकिन्छ। वेलावेला जाँच र मर्मतसम्भार गर्नुपर्छ। सरिताका अनुसार, गह्रौं सामान दराजमाथि तथा र्‍याकका माथिल्लो तहमा राखे क्षति हुने संभावना बढी हुन्छ। उनका अनुसार, गैरसंरचनात्मक सामानको चुस्त व्यवस्थापन गर्न नसके घर, भवन भत्किएर हुने बराबरकै क्षति व्यहोर्नुपर्छ। उनी भन्छिन्, “भूकम्पबाट हुने करीब ५० प्रतिशत क्षति गैरसंरचनात्मक सामानका कारण भएको पाइन्छ।”

खस्न सक्ने, पल्टन सक्ने, सर्न सक्ने, फुट्न तथा चर्कन सक्ने सामान सुरक्षित गर्न फलामे सिक्री, पेच किला, प्लाष्टिक वाल प्लग, फलामे पाता, काठका पाता, अंकुशे किला, लचकदार पाइप, बेड एङ्गल, नाइलनको डोरी, फित्तालगायतका सामान प्रयोग गर्न सकिन्छ। गमला तथा पानीका ट्यांकी वरिपरि फलामको बार लगाउन सकिन्छ। दराज तथा र्‍याकलाई सुरक्षित राख्न फलाम तथा काठका 'एल' आकारका हुक बनाएर दायाँ–बायाँ अड्याउन सकिन्छ। ग्याँस सिलिन्डरलाई फलामे सिक्रीले बाँध्न सकिन्छ।

यही सुरक्षाविधि पछ्याउँदै पाटन, ललितपुरकी समा शाक्य (३८) ले गमलाहरू पर्खालबाट हटाएर भुईंमा राखेकी छिन्। भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का पैरवी प्रबन्धक खड्गसेन ओली भूकम्पबाट थप जोखिम बढ्न नदिन, भएको जोखिम घटाउन यसखाले पूर्वतयारी अत्यन्त उपयोगी हुने बताउँछन्।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम