३० फागुन - ६ चैत २०७२ | 13-19 March 2016

विकासको अपूरो बहस

Share:
  

नयाँ संविधानप्रति 'बेखुसी' भारतले असोज पहिलो साता नेपालमा नाकाबन्दी थोपरेपछि उत्पन्न मानवीय संकटोन्मुख स्थितिमा भारतमाथि निर्भर व्यापारलाई विविधीकरण गर्दै आत्मनिर्भरतामा जोड दिने बहस तीव्र बन्यो। बहसभित्र अनेक विषय, योजना र तर्क सुनिए पनि चीनसँगको व्यापारिक नाका खुला/सुधारले नै प्रधानता पायो।

त्यहीवेला व्यवस्थापिका–संसद्को विकास समितिका सभापति रविन्द्र अधिकारीले यो बहस समितिभित्र ल्याए, सरोकारवालासँग छलफल चलाए। तातोपानी र रसुवागढी जस्ता चल्तीका नाकाको स्थलगत अध्ययनपछि अन्य नाका समेत खोल्नुपर्नेमा जोड दिए। सरकारले रसुवागढी–केरुङ जोड्ने सडक दुई वर्षभित्र दुई लेनमा स्तरोन्नतिको निर्णय गर्दै त्यसको जिम्मा नेपाली सेनालाई सुम्पनुमा अधिकारीको भूमिकाले पनि काम गर्‍यो।

पुस्तक समृद्ध नेपाल

लेखक रविन्द्र अधिकारी

प्रकाशक फाइनप्रिन्ट बुक्स

पृष्ठ २३९+२१

मूल्य रु.३७०

नाकाबन्दीकै बीच नेकपा (एमाले) का सांसद् अधिकारीले आफ्नो पुस्तक समृद्ध नेपाल सार्वजनिक गर्न भ्याए, जसलाई उनले 'युवा राजनीतिज्ञको विकास दृष्टि' भनेका छन्। लेखकको दाबी झ्ौं के यो पुस्तक उनको 'विकास दृष्टि' नै हो त? पुस्तकको भूमिकामै योजनाविद् प्रा. पीताम्बर शर्माले यसप्रति सटिक टिप्पणी गरेका छन्। शर्माले भनेका छन्, “पुस्तकमा प्रकाशित लेखहरूमा अधिकारीको वैचारिक धरातल उजागर हुँदैन, उनी व्यवहारवादीका रुपमा नै बढी प्रस्तुत हुन्छन्।”

एमाले केन्द्रीय सदस्य अधिकारी पार्टीभित्र र बाहिरसमेत आशलाग्दा युवा नेता मानिन्छन्। एमालेभित्र 'राजनीतिक क्रान्ति पूरा भएको र अब आर्थिक क्रान्ति/समृद्धिको युग शुरु भएको' बहस चलिरहेको छ। पार्टीभित्रैको यो बहसमा योगदान पुग्ने गरी समृद्धिको खाका प्रस्तुत गर्न भने लेखक चुकेका छन्।

चार खण्डमा विभाजित पुस्तकको पहिलो खण्डमा नाकाबन्दी र महाभूकम्पको आलोकमा मुलुकको आर्थिक निर्भरता केलाइएको छ भने दोस्रो खण्डमा विकासका विभिन्न आयामको संश्लेषण गर्न खोजिएको छ। तेस्रो खण्डमा विकासका पूर्वाधारका कुरा गर्ने लेखक अन्तिम खण्डमा नेपाल–भारत सम्बन्धमा विकासको पाटो खोतल्दै एशियाली मुलुकको आर्थिक विकासमा नजर लगाउँछन्।

विभिन्न पत्रिकामा प्रकाशित अधिकारीका लेखसमेत समाविष्ट पुस्तकमा विकास, योजना र आर्थिक विषय सम्बन्धित उपयोगी सूचना र जानकारी समेटिएका छन्। विकास समितिको सभापतिको हैसियतले उनले प्राप्त गरेका कतिपय सूचना वास्तवमै नयाँ लाग्छन्। तर, तिनको फितलो प्रस्तुतिले पुस्तक 'सूचनाको जंगल' बनेको छ। सम्पादन अभाव खट्किन्छ। परिपक्व नभएका कतिपय सन्दर्भ पढिरहँदा लाग्छ, थप केही समय र मिहिनेत परेको भए पुस्तक वास्तवमै मुलुकको समृद्धिको खाका बन्न सक्थ्यो।

त्यसो त लेखकले निसंकोच स्वीकारेका पनि छन्– 'यो विकासको दृष्टिकोण नभई मेरो अनुभव र अध्ययनले देखेको दृष्टि मात्र हो।' हुन पनि समृद्ध नेपाल पढिरहँदा अधिकारीमा 'एक कुशल विकासवादी वामपन्थी विचारक' बन्ने सम्भावना भने प्रशस्त देखिन्छ, त्यस्तो विचारक जसबाट आगामी दिनमा स्पष्ट विकास दृष्टिको आश गर्न सकिन्छ।

रामेश्वर बोहरा

comments powered by Disqus

रमझम