निर्विकल्प त पञ्चायत पो!

Share:
  
p9

प्रधानमन्त्री बाबुराम भट्टराईले आफूलाई ठाडै निर्विकल्प घोषणा गरे। आशा गरौं, उनी आफ्ना लागि उपलब्ध विकल्पहरूका बारेमा पनि सचेत नै होलान्। कुशाग्रबुद्धि भट्टराईले आफ्नो आकाशमा फेरिंदै गरेका बादलका रङहरू हेरेर मौसमको पूर्वानुमान गरेकै होलान्। 

'कहिल्यै सेकेण्ड नभएका' भट्टराईले वैद्य पछि पार्टीबाट बाहिरिने पालो आफ्नै हो भन्ने पनि बुझ्ेकै हुनुपर्ने हो। तर त्यो बहिर्गमनको समय उनले आफैं फास्ट फरवर्ड गरिरहेको देख्दा भने अचम्म लाग्छ। दैनिक पत्रपत्रिका पढ्ने फुर्सद भए 'जान्ने भएर बोल्यौ भने तिम्रा लागि प्रत्युत्पादक हुन्छ है' भनेर संस्थापनले दिनहुँ गरिरहेको खबरदारी उनले बुझनुपर्ने हो। 

राजनीति गर्नेहरूले विधिलाई बेवास्ता गरे भने स्याल शहर पस्न लाग्यो भन्ने बुझे हुन्छ। नेपालको राजनीतिमा सैन्यबल, धनबल, जनबल आदि विफल भएका घटनाहरू हेर्न इतिहासका धेरै पाना पल्टाउनै पर्दैन। बाबुरामले त्यो कुरा बुझेको छाँट देखाएनन्। १४ जेठ राति राष्ट्रपतिसमक्ष राजीनामा बुझाइदिएका भए पनि अहिलेसम्म उनी नै प्रधानमन्त्री हुने थिए। त्यसबाट उनी कामचलाउ भए पनि असंवैधानिक हुने थिएनन्। नागरिकहरूका सामु उनको नैतिक हैसियत बढ्ने थियो र भोलि पार्टीभित्रैबाट आक्रमण हुँदा पनि त्यही नैतिक बलले एक हदसम्म उनको प्रतिरक्षा गर्न सक्ने थियो। 

दुर्भाग्यको कुरो, न उनलाई कहिल्यै नैतिकता र विधिको राजनीतिमा विश्वास भयो न त उनकै संस्थापनले उनलाई नैतिकवान प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्न नै चाह्यो। उनले आफैंलाई व्यवस्थापिका संसद्को सदस्य नरहेको अवैध प्रधानमन्त्रीको रूपमा वरण गरे। यो पदलोलुपता एक दिन आफ्नै वृत्तबाट आफ्नै तेजोबधका लागि प्रयोग हुनेछ भन्ने कुरा बुझेर पनि शायद बुझ्पचाए, उनले। अब त उनी पदको प्रतिरक्षाका लागि झ्न्झ्न् गर्जिन थालेका छन् र झ्नै आलोचित भएका छन्। 

अहिले त प्रधानमन्त्री प्रतिपक्षको मात्र तारो बनेका छन्। तर अध्यक्ष कमरेडका 'प्रधानमन्त्रीले मसँग कुनै सल्लाह नगरी कसरी त्यस्तो अभिव्यक्ति दिनुभयो, म त्यसबारेमा उहाँसँग कुरा गर्छु। तर उहाँले तत्काल राजीनामा दिनुहुन्न' भन्ने जस्ता कुराले पार्टीभित्र उनको हैसियतको सीटीस्क्यान बाहिर आएको छ। बिर्सिनु नहुने, हालै पम्फा भुषालको अन्तर्वार्ता ('बाबुरामको बारेमा त मलाई केही भन्नु नै छैन। उहाँको त बाटै यही हो। बाबुरामलाई लोकतान्त्रिक गणतन्त्रभन्दा पर जानु छैन भन्ने शिक्षा त हामीलाई प्रचण्डले नै दिनुभएको हो') मा विश्वास गर्नेहरू पार्टीभित्रै पनि धेरै छन्। 
हेडक्वाटरले आफूलाई कसरी हेरेको छ र कार्यकर्तासामु आफ्नो कस्तो छवि प्रस्तुत गर्ने गरिएको छ भन्ने कुरा भट्टराईले बिर्सेको भए एकछिन फुर्सद निकालेर शक्तिखोर भिडियो हेरे वा खन्ना गार्मेन्टको टेप सुने पुग्छ। यस्तो अवस्थामा अवैधानिक सरकारको नेतृत्व गर्ने लहड र त्यसमा टाँसिइरहने रहरले उनलाई बाहिर–भित्र सबैतिरबाट कमजोर मात्र बनाउँछ। 

भनेको मितिमा चुनाव गराउन असम्भव छ भन्ने कुरा सबैलाई थाहा छ र त्यो असफलताको अभियोग आफ्नो टाउकामा नपार्न अध्यक्ष कमरेडले उनलाई 'अक्षम प्रधानमन्त्री' भन्दिए भने अनौठो नमाने हुन्छ। लाजिम्पाट दरबारका प्रवक्ताले कांग्रेस र एमाले सत्ताबाट फर्किनुको कारण 'उनैको एकलकाँटे अधिनायकवादी कार्यशैली र प्रवृत्ति' हो भनिसकेपछि हेडक्वाटरको आगामी चालको अनुमान गर्न गाह्रो छैन। 

अब उनैलाई सम्बोधन गरेर भनौं, “प्रधानमन्त्रीज्यू, तपाईं निर्विकल्प त परै जाओस्, विधिसम्मत समेत हुनुहुन्न। ८२ प्रतिशत मतबाट निर्वाचित हुँ भन्ने आफैंले नपत्याउने ध्वाँसले तपाईंलाई टेको लगाउँदैन। विकल्प नभएको भन्ने बित्तिकै पञ्चायत सम्झिने बानी लागेका नेपालीहरूलाई हँसाउन मनोज गजुरेलहरू छँदैछन्, तपाईंलाई के को दुःख?”

comments powered by Disqus

रमझम