३० फागुन - ६ चैत २०७२ | 13-19 March 2016

विस्मृतिको बाटोमा

Share:
  
- गौरीबहादुर कार्की
१९९० सालको भूकम्पमा क्षतिग्रस्त हरिशंकर मन्दिरको पुनःनिर्माण तत्काल नथाल्ने हो भने मल्लकालीन सम्पदा माटोमा मिल्नेछ।

तीनतले हरिशंकर मन्दिर देखिने गरी हेनरी ओल्डफिल्डले वि.सं. १९१५ मा बनाएको तस्वीर।

तस्वीर सौजन्यः गौरीबहादुर कार्की
१७ औं शताब्दीको भगवान हरिशंकरको मूर्तिलाई हाल राष्ट्रिय कला संग्रहालय, भक्तपुरको लाल बैठकमा राखिएको छ।

यतिवेला १२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक र ऐतिहासिक मन्दिर, दरबारलगायतका सम्पदा पुनःनिर्माणको चर्चा भइरहेको छ। पुरातत्व विभागका अनुसार, भूकम्पबाट काठमाडौंका २५०, ललितपुरका १३० र भक्तपुरका ११६ (६७ पूर्ण र ३९ आंशिक) सहित मुलुकभर ७५४ सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। भक्तपुर नगरमा रहेका ८६० सम्पदा (१७२ मन्दिर, १९ मठ, ३७ सत्तल, २५६ पाटी, ८८ ढुंगेधारा, २५२ इनार र ३६ पोखरी) छन्।

यसपटकको भूकम्पबाट क्षतिग्रस्त कतिपय सम्पदा निर्माणमा प्रक्रिया समेत अघि बढिसकेको छ। तर, १९९० कै भूकम्पमा भत्किएको भक्तपुरको हरिशंकर मन्दिरलाई सबैले बिर्सिरहेका छन्।

सिद्धिलक्ष्मी मन्दिर पूर्व रहेको यो मन्दिरको पेटीको पहिलो सिंढीमा पहरेदारका रुपमा रहेका जोर सिंह अहिले चोकको मध्यभागमा भेटिन्छ। बाटो छेकिने गरी बनाइएको नेवारी भाषामा लाँ पाँ देग भनिने यो मन्दिरको मुख्य हरिशंकरको मूर्ति भक्तपुरको राष्ट्रिय कला संग्रहालयको लाल बैठकमा राखिएको छ। राजा जगतप्रकाश मल्लको पालामा बनेको यो मूर्ति अर्धनारीश्वर आकारमा छ। मूर्तिको दायाँ हातपट्टि हर अर्थात् शिव र बायाँपट्टि हरि अर्थात् नारायणको मूर्ति छ। शंकर र नारायणको संयुक्त मूर्ति भएकाले यसलाई शंकरनारायण पनि भनिन्छ। सर्प र नरमुण्डका माला लगाएका जटाधारी शिवले हात, गोडा र कानमा सर्पका गहना लगाएका छन्। माथिको हातमा त्रिशूल र तलको हातमा रुद्राक्षको माला छ। बायाँतर्फ विष्णुले हात गोडा र कानमा कमल पुष्प लगाएका, मुकुटमा कमल सिउँरेका, माथिको हातमा चक्र र तलको हातमा शंख लिएका छन्। यसपटकको भूकम्पले बैठक कक्षलाई पनि जोखिममा पारेको छ।

तीनतले हरिशंकर मन्दिर (रातो घेरामा) वि.सं. १९९० को भूकम्पभन्दा अघिको तस्वीर ।

१९९० सालको महाभूकम्पले भत्काएको हरिशंकर मन्दिर, च्यासिलिन मण्डप, ५५ झ्याले दरबार।

२०७२ साल अगाडिको तस्वीर

२०७२ को भूकम्पपछि। (हरिशंकर मन्दिर हुनुपर्ने ठाउँ रातो घेरामा) ।

त्यसो त १८६६, १८९१, १९६५ का महाभूकम्पले पनि भक्तपुरमा क्षति नपुर्‍याएको होइन, तर १९९० सालमा खासै बिगार नगरेका सम्पदा पनि यसपटकको भूकम्पमा भने बँचेनन्। लिच्छवि राजा नरेन्द्रदेवको शासनकाल (वि.सं. ६९१ देखि ७२८) देखि पटक पटक ३७५ वर्षसम्म नेपाल मण्डलको राजधानी भक्तपुर नै थियो।

नेपालको एकीकरणपछि उपत्यकामा त्यसअघि बनेका सम्पदाको उचित संरक्षण हुन सकेन। नयाँ बनाउनेतर्फ पनि शासक उदासीन देखिए। शिलाकार र शिल्पकार नै लोप हुन थाले। फ्रान्सेली लेखक डा. गुस्ताभले १९४३ सालमा काठ र ढुंगाको काममा २० जना प्राविधिक समेत नपाइएको भनी भोएज टु नेपाल पुस्तकमा लेखेका छन्। १९९० सालको भूकम्पपछिको पुनःनिर्माणमा पनि दक्ष कालिगडकै कमी देखिएको बताउने गरिन्छ।

comments powered by Disqus

रमझम