३० फागुन - ६ चैत २०७२ | 13-19 March 2016

विपुलको ह्याटि्रक

Share:
  
कवि तथा गीतकार भैरवनाथ रिमाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिंदै। साथमा गायक दीप श्रेष्ठ र हिट्स एफएमकी मन्दिरा ढुंगेल।

अजर जंगमको 'जिन्दगीले हिसाब माग्छ' गजल 'हिट्स एफएम म्युजिक अवार्डस् २०७२' मा सर्वोत्कृष्ट ठहरिएको छ। यही गीतबाट अजरका बुबा दीपक जंगमले सर्वोत्कृष्ट संगीतकार र किरण कँडेलले सर्वोत्कृष्ट संगीत संयोजनको उपाधि जिते। भूपेन्द्र महतको शब्दमा रहेको यो गजलले दीपक खरेल, रविन शर्मा, विपुल क्षेत्री र नाइट ब्याण्डलाई पछि पार्दै 'रेकर्ड अफ द इयर' र सर्वोत्कृष्ट एकल गायन–पुरुषको पुरस्कार पनि हात पार्‍यो।

हिट्स मिडिया प्रा.लिद्वारा २८ फागुनमा सुन्धारास्थित नेपाल आर्मी अफिसर्स क्लबमा आयोजित अवार्ड वितरण कार्यक्रममा दार्जीलिङका नेपालीभाषी विपुल क्षेत्रीले सबैभन्दा बढी, तीन विधामा अवार्ड जिते। उनले सर्वोत्कृष्ट पप गायन–पुरुष, सर्वोत्कृष्ट पप/रक कम्पोजिसन र सर्वोत्कृष्ट पप/रक 'अल्बम अफ दि इयर' को उपाधि उचाले। 'गाईजात्रा' बोलको गीतका लागि 'ह्वाट द फंक' ले सर्वोत्कृष्ट समूह गायन र सर्वोत्कृष्ट रक भोकल पर्फमेन्सको अवार्डमा नाम लेखायो।

समारोहमा कवि तथा गीतकार भैरवनाथ रिमाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो। “मैले अनेक विधामा कलम चलाए पनि गीतले नै मलाई परिचित बनायो”, सम्मान ग्रहण गर्दै रिमालले भने। रिमालका 'उदास मेरो जीवन कथा', 'जुन फूल मैले', 'हुँ यात्री एउटा', 'झस्किएछ मन मेरो' जस्ता गीत लोकप्रिय छन्।

'केवल सासले भन्यौ' गीतका लागि पुष्कर पराजुलीले सर्वोत्कृष्ट गीतकारको उपाधि जितिरहँदा गायक रविन शर्माले 'अल्बम अफ द इयर' को ट्रफी उचाले। सर्वोत्कृष्ट एकल गायन–महिलाको अवार्ड संगीता राना प्रधानले जितिन् भने सर्वोत्कृष्ट लोक–दोहोरी गीतको विधामा अन्जानबाबु अब्बल ठहरिए।

महिला पप गायनमा क्रिश्मा अविगलले 'मेरी आमा' मार्फत सिने गुरुङ, निखिता थापा, श्रेया सोताङ र तृष्णा गुरुङलाई पछि पारिन्। बेस्ट भोकल कोलाब्रेसनमा 'दीप बनोस' बाट सत्य–स्वरुपराज आचार्य, नव गायकका रूपमा 'विस्तारै विस्तारै' बाट रोहित जोन क्षेत्री र सर्वोत्कृष्ट पार्श्व (चलचित्र) गीतमा 'पारि त्यो डाँडामा' बाट कालीप्रसाद बाँस्कोटा चुनिए।
समारोहमा कुमार बस्नेत, दीप श्रेष्ठ, कर्ण दास, तृष्णा गुरुङ, बानिका प्रधानलगायतका मंकी टेम्पल, ह्वाट द फंकलगायत सांगीतिक समूहले प्रस्तुति दिएका थिए। हिट्स एफएम म्युजिक अवार्डको यो १९औं श्रृंखला हो।

सजना बराल

comments powered by Disqus

रमझम