३० फागुन - ६ चैत २०७२ | 13-19 March 2016

रेकर्डिस्ट राग

Share:
  
- सजना बराल
रेडियो नेपालको एनालग स्टुडियोबाट डिजिटल रेकर्डिङ युगसम्म आइपुग्दा रेकर्डिङ स्टुडियोको संख्या ह्वात्तै बढेको छ। रेकर्डिस्ट पनि नयाँ छन्।

बाँसुरी बजाउँदाखेरि नै संगीतको चारवर्षे अध्ययन गरेकाले रेकर्डिङको काम अप्ठ्यारो लागेन।

मित्र लामा

गीत होस् वा सांगीतिक धुन, त्यसलाई श्रोतासम्म पुर्‍याउन माध्यम चाहिन्छ। रेकर्डिस्ट त्यस्ता माध्यम अर्थात् 'पुल' हुन्। राजधानीका १०० भन्दा बढी रेकर्डिङ स्टुडियोमध्येको नामी, संगम रेकर्डिङ स्टुडियोका मित्र लामा (४८) त्यस्तै एउटा पुल हुन्।

कुशल बाँसुरीवादक बन्न भारतको सिक्किमबाट काठमाडौं आएका लामा केही वर्ष वाद्यवादनमै रमाए। २०४४ सालदेखि साङ रेकर्डिङ स्टुडियोमा बाँसुरीवादकको काम पाएका उनले वेला–वेला कन्सोल र मिक्स्चर चलाउने मौका पाउँथे। त्यसपछि संगम रेकर्डिङ स्टुडियोमा छिरेका लामाले धनपाल गुरुङ र विश्व शाही जस्ता नाम चलेका रेकर्डिस्टसँग मिक्सिङको ज्ञान लिए। “बाँसुरी बजाउँदाखेरि नै संगीतको चारवर्षे अध्ययन गरेकाले रेकर्डिङको काम अप्ठ्यारो लागेन”, लामा भन्छन्।

संगीतको बजार खस्किए पनि स्टुडियोमा भीड घटेको छैन बरु, लोडसेडिङले
दुःख दिन्छ।

प्रकाश केसी

८ वर्षअघि संगम स्टुडियो किनेका लामाले नारायणगोपालका गीत पनि रेकर्डिङ गर्न भ्याए। “अहिलेका संगीतकर्मी निकै हतार गर्छन्। आजै रेकर्डिङ सकाएर भोलि भिडियो बनाई पर्सि नै गीत सार्वजनिक गरिहालौं भन्छन्”, उनको अनुभव छ।

२०४७ सालमा नयाँ सडकमा खोलिएको तास अडियो स्टुडियोका रेकर्डिस्ट राजेश्वरराज तण्डुकार (४७) पनि अभ्यास नै नगरी माइक्रोफोनमा गाउन खोज्नेहरुदेखि हैरान छन्। “प्रविधिका कारण अभ्यास गर्नै छाडे”, उनको गुनासो छ, “स्थायी, अन्तरा र बीचको भाग गाएर बाँकी कपी/पेस्ट गर्न लगाउँछन्। कपी–पेस्टले गाउनेलाई सजिलो भए पनि रेकर्डिस्टलाई काममाथि काम थपिदिएको छ।”

संगीतको आधारभूत ज्ञान भएन भने रेकर्डिस्ट प्राविधिक मात्रै हुन्छ।

रजय गुरुङ

नेपालमा पहिलो पटक वाद्ययन्त्रको पसल खोल्ने हार्मोनियम माइलाका पाँच नातिमध्ये एक, राजेश्वरराजको तासबाटै नबिन के भट्टराई, अनिल सिंह, सुगम पोखरेल, मोहन भुषाल, बुद्ध एन श्रेष्ठदेखि अहिलेका चर्चित कमल खत्री, बुनु मानन्धर जस्ता कलाकारले गीत रेकर्ड गराएका छन्।

कमलादीस्थित ड्रिम्स रेकर्डिङ स्टुडियोका रेकर्डिस्ट प्रकाश केसी (३६) चाहिं रेकर्डिङलाई अपजसे पेशा ठान्छन्। “गायकले आधा घण्टामा गाएको गीत दुई घण्टा लगाएर बनाइदिनुपर्छ”, उनी भन्छन्, “राम्रो भएमा आफू, नराम्रो भए स्टुडियो दोषी ठान्छन्।”

१६ वर्षअघि स्टुडियो खोल्दा व्यावसायिक साझेदारका रुपमा मात्रै सहभागी प्रकाश प्रदीप उपाध्यायसँग रेकर्डिङबारे तालीम लिएपछि यो पेशामा होमिए। हाल महीनामा झ्ान्डै ५० गीत रेकर्ड गर्ने उनी नयाँ संगीतकर्मीले नै स्टुडियो धानेको बताउँछन्। “संगीतको बजार खस्किए पनि स्टुडियोमा भीड घटेको छैन”, उनी भन्छन्, “बरू, लोडसेडिङले दुःख दिन्छ।” प्रकाशको स्टुडियोमा उदीतनारायण झा, अञ्जु पन्त, प्रमोद खरेल, डिजराज पौडेल, सनुप पौडेल, सुनील गिरीलगायतले गीत रेकर्ड गराई बजारमा ल्याएका छन्।

सुर–ताल रेकर्ड गराउन मुम्बईका स्टुडियो पुग्दा ठूला–ठूला मिक्स्चर मेशीन देखेपछि कौतुहल जागेका कारण नौ महीना तालीम लिएँ।

राजीव साह

संगीतकर्मी प्रकाश गुरुङका छोरा रजय (३७) लाई यो क्षेत्र नौलो थिएन। सानैदेखि गायक, वाद्यवादक, संगीतकार, रेकर्डिस्ट चिनेका थिए। “तर, बाबाले रेकर्डिङ स्टुडियोमा काम गरे राम्रो हुन्छ भनेपछि मैले दायाँबायाँ सोचिनँ”, उनी भन्छन्।

धनपाल गुरुङ र इमानविक्रम शाहसँग रेकर्डिङ सिकेपछि उनले २०५७ मा ड्रिम्स् रेकर्डिङ स्टुडियोमा जागीर पाए। त्यहाँ चार वर्षसम्म रेकर्डिङ, मिक्सिङ र मास्टरिङ एक्लैले गर्न सक्ने भए। “स्टुडियो चलाउन कम्तीमा १० वर्षको अनुभव चाहिन्छ”, हाल म्युजिक नेपालमा कार्यरत रजय भन्छन्, “संगीतको आधारभूत ज्ञान भएन भने रेकर्डिस्ट प्राविधिक मात्रै हुन्छ।” अहिलेसम्म ३/४ हजार वटा गीतमा मास्टरिङ गरिसकेका उनी नेपालमा अझै पनि अडियो इन्जिनियरिङ अध्ययनको राम्रो व्यवस्था नहुँदा दुःखी छन्। “पढेर भन्दा पनि देखेरै रेकर्डिस्ट बन्नुपर्ने बाध्यता छ”, उनी भन्छन्, “भोलि यसैले समस्या पार्न सक्छ।”

कपी–पेस्टले गाउनेलाई सजिलो भए पनि रेकर्डिस्टलाई काममाथि काम थपिदिएको छ।

राजेश्वरराज तण्डुकार

राजीव साह (४४) गायन र तबलावादन अध्ययनका लागि भारतको मुम्बई गएका थिए। तर, फर्कंदा उनी रेकर्डिस्ट भए। सुर–ताल रेकर्ड गराउन मुम्बईका स्टुडियो पुग्दा ठूला–ठूला मिक्स्चर मेशीन देखेर कौतुहल जागेपछि नौ महीना तालीम लिएको बताउने उनी भन्छन्, “त्यसपछि त्यहाँकै जिगर, नेपोलियन र डियर स्टुडियोमा काम गरें।”

आर्थिक हिसाबले उतै राम्रो भए पनि डिल्लीबजार, काठमाडौंका साह आफ्नै देश फर्किए। आठ वर्षसम्म म्युजिक नेपालमा काम गरे। त्यसपछि पुनः भारत गएका उनले सिटी हार्ट स्टुडियोमा काम थाले। भारतीय श्रंृखला 'सारेगमप' को १६औं श्रंृखलाका रेकर्डिस्ट साह फेरि नेपाल फर्किए। हाल उनी पुतलीसडकको प्राइम रेकर्डिङ स्टुडियोमा कार्यरत छन्।

comments powered by Disqus

रमझम