३० फागुन - ६ चैत २०७२ | 13-19 March 2016

स्याबास सुशीला

Share:
  

२०५९ सालमा त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नातकोत्तर सिध्याएलगत्तै बाडेगाउँ, ललितपुरकी सुशीला महर्जन गहन वैज्ञानिक खोजमा लाग्न चाहन्थिन्। तर, परिस्थिति अनुकूल थिएन। त्यसैले उनी पनि अधिकांश स्नातकोत्तर झै प्राध्यापनमा लागिन्।

तीन वर्षपछि थप अध्ययनका लागि दक्षिणकोरिया पुगेकी सुशीला २०६७ सालमा नेपाल फर्किन्, बायोकेमेस्ट्रीमा विद्यावारिधि उपाधिसहित। त्यसपछि उनलाई लाग्यो, अब चाहेको काम गर्ने वेला भयो। पाँचवर्षअघि उनीसहितका वैज्ञानिकहरुले काठमाडौंमा रिसर्च इन्ष्टिच्यूट बायोसाइन्स एण्ड बायोटेक्नोलोजी संस्था खोले।

उनै सुशीलाले हालै उच्च हिमाली क्षेत्रमा पाइने स्ट्रेप्टोमाइसिस् ब्याक्टेरियाको अनुसन्धानका लागि अमेरिकाको प्रतिष्ठित एल्सेभियर फाउन्डेसन अवार्ड जितेकी छन्। फाउन्डेसनले विश्वका पाँच महिला वैज्ञानिकलाई प्रदान गर्ने यो पुरस्कारबाट मध्य तथा दक्षिणएशिया क्षेत्रबाट उनी छानिएकी हुन्।

स्ट्रेप्टोमाइसिस् ब्याक्टेरियाको प्रारम्भिक अनुसन्धानले यो ब्याक्टेरिया क्यान्सरविरुद्ध महत्वपूर्ण एन्टिबायोटिक बन्न सक्ने देखिन्छ। तर, निष्कर्षमा पुग्न बाँकी नै छ। “म नेपाललाई वैज्ञानिक अनुसन्धानका लागि प्रचुर प्राकृतिक स्रोतको खानी भनेर चिनाउन चाहन्छु”, गतसाता वासिङ्टन डीसीमा आयोजित पुरस्कार वितरण समारोहमा सुशीलाले भनिन्।


प्रविधि पढाउँदै प्रहरी

फेसबूक, स्काइप, भाइबर जस्ता सामाजिक सञ्जालको बढ्दो प्रयोगले शहर र गाउँको दूरी छोट्याएको छ। तर, यसको दुरुपयोग पनि उसैगरी फैलिएको छ।

पूर्वी नेपालको पाँचथर जिल्लाका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइराला अहिले इन्टरनेट सञ्जालले निम्त्याएका यिनै विकृति विरुद्धको अभियानमा छन्। उनले सामाजिक सञ्जालको प्रयोगसम्बन्धी विद्यालय प्रशिक्षण नै शुरु गरेका छन्।

प्रशिक्षणमा प्रहरीले इन्टरनेटको प्रयोग, गोप्यता, फाइदाका साथै साइबर कानूनबारे समेत बताउने गरेको छ। मंसीर पहिलो साताबाट शुरु गरिएको यो अभियानका क्रममा कोइराला च्याङथापु, फलैंचा, लिम्बा र दुरदिम्बा गाविससम्म पुगेका छन्। यो वर्षभित्र जिल्लाका मावि र उच्च माविमा पुगिसक्ने उनको लक्ष्य छ।

प्रनाउ कोइराला सञ्जालमा साथी बनाउँदै गोप्य अंगका तस्वीर लिने र त्यसैबाट ठग्ने, धम्क्याउने गरेको पाइएको बताउँछन्। “प्रविधिको सही प्रयोगले अपराध घटाउने भएकाले यस्ता अभियान थालेका हौं”, उनी भन्छन्।

लक्ष्मी गौतम


आमा सम्झेर

'ए स्याङ्बो', 'फरिया ल्याइदिएछन्', 'राम्री त राम्री' जस्ता दर्जनौं चर्चित गीतकी गायिका हीरादेवी वाइवाको ६ वर्षअघि दार्जीलिङ, भारतमै आगलागीमा परी निधन भयो। आमाको आकस्मिक मृत्युको खबर छोराछोरीले विदेशमै सुने। “हामीले उहाँका लागि केही गर्न सकेनौं”, छोरी नवनीत वाइवा भन्छिन्।

दिदीभाइ नवनीत र सत्य वाइवा अहिले भने दिनरात आमाका पुरानै गीतको संगतमा छन्। पोहोरदेखि सम्पूर्ण कामधन्दा त्यागेर उनीहरु आमाका गीत रि–रेकर्ड गराइरहेका छन्। अहिलेका पुस्ताले थाहा पाउन् भन्ने उद्देश्यले नवनीत आफैंले आमाका केही गीत गाउन तम्सेकी छन्।

त्यसो त उनले आमाको छैटौं वार्षिकी (१९ जनवरी) मा 'ए स्याङ्बो' गीत आफ्नो स्वरमा सार्वजनिक गरेकी थिइन्। “आमाले सजिलै गाएजस्तो सुनिने ठेट भाका गाउन साह्रै गाह्रो रहेछ”, कुटुम्बसँगको सहकार्यमा यस्तो अभ्यास गरिरहेकी नवनीत भन्छिन्।

सजना

comments powered by Disqus

रमझम