७-१३ चैत २०७२ | 20-26 March 2016

हतारो किन?

Share:
  
- महेश थापा
अहिले भर्खर बाउ बन्दै गरेका ठेट्नाहरू व्यवहारवादको अङ्कुसेमा लतारिंदै हजुरबा पुस्तामा नपुगेसम्म युवा बन्दैनन्।

भानु भट्टराई
युवा प्रतिनिधिको खत्यौल लागेको ऐतिहासिक कांग्रेस महाधिवेशनमा महामन्त्री पदका प्रत्यासी गगन थापाको विजय सुनिश्चित ठानी टेलिभिजनतिर आँखा टोड्क्याइबसेका धेरै शुभचिन्तकले 'जल्दोबल्दो युवा नेता' लाई उल्टोपट्टिबाट फर्स्ट बनाएको देखेर बडो दुःखमनाउ गरे। तर, दुःखलाई बैठाई, खैंच्याई गरेर बुझ्क्की नजर दौडाउँदा महाधिवेशनको परिणामले राजनीतिक वृत्तको अल्झेटोलाई धेरै हदसम्म फुकाएको छर्लङ्गै देखिन्छ।

राजनीतिमा आशावादको भुल्को फुटाउन सफल भएकाले महाधिवेशनको महत्ता बेपत्तासँग उँचो–उँचो हुन पुगेको छ। त्यो उँचाइतिर नियाल्दा राजनीतिको गौंडो ढुकेर सय भोटो फटाउँदा पनि केही लछार्न नसकी हतास बनेकाहरूमा 'कुर्न सके दिन फिर्ने' सन्देश संचार गराई 'ग्रस पोलिटिकल कन्पि्कडेन्स' ह्वात्तै बढाएको प्रष्टै गोचर हुन्छ। जस्तो; ब्रह्मनालमा लेटिबसेका एक जिजुबा गगनको पराजयसँगै रहलपहल केटा पनि मतगणनामा पिछडिएको सुसमाचार सुन्नासाथ फ्याट्ट बौरिए।

बौरिएनन् मात्र, टठिलो हुँदै गुर्राए पनि– “जहाँ सुरियो, त्यहाँ तुरियो!”

हेर्दाहेर्दै घँघारुको लट्ठी टिपेका जिजुबा 'अब मेरो पालो' भन्दै क्रियाशील सदस्यता नवीकरण गराउन पार्टी कार्यालयतिर चल्दिए। राजनीतिमा उनी जस्तो युवा नेतृत्व स्थापित हुनुपर्नेमा दलहरूबीच रत्तिभर मतभिन्नता देखिन्न। सबै दलको शीर्ष नेतृत्व रातो–दिन 'युवा देशका भविष्य हुन्' भन्ने सिट्ठी फुकिरहेका छन्। उसो'भे युवा देशको वर्तमान कहिल्यै हुन्नन्? भन्ने घुइरे प्रश्न बोकेर टिमुर्किने बेवकूफी कम्तीमा पढाकू तप्काले नगर्नु बेस।

यस्ता गनगन गर्नाले राजनीतिप्रति अदनाहरूको वितृष्णा बढेर देश भड्खालोमार्गी भएको सरल सत्य नबुझने हल्लुँडहरूको मुखमा यसपालि कांग्रेसजनले बुची कस्देका छन्। उनीहरूले गगनलगायतका ठेट्नाहरूलाई उँधो बगाएर उँभो खोज्नुपर्ने स्थिति सिर्जना गर्देर युवा जितको जाज्वल्यमान दसी प्रस्तुत गर्दै आफूहरूलाई परिवर्तनप्रेमी प्रमाणित गरेका छन्। महाधिवेशनको परिणामले कांगे्रस नेतृत्वमा आइन्दा युवाबाहेक अरूको खैरियत नरहने जखमले सन्देश दिएको छ।

मुलुकको जेठो पार्टीले यसरी हरिपसँग युवा चोला ग्रहण गरेको प्रत्यक्ष प्रसारण देख्न पाएका अन्य दलका युवा नेताहरूमा अहिले पनि आशावादको लहर चलेको अनुमान सजिलै गर्न सकिन्छ। साथै, अब उप्रान्त कट्मेराहरूले नेतृत्व पुस्तान्तरण/हस्तान्तरणको रोइलो मच्चाउनुअघि तीन बाजी सोच्ने हुँदा नेपाली राजनीतिलाई पनि झिनामसिना कचेडाबाट निजात मिलेको थपुवा लाभबारे परिपाठ लगाउनै परेन।

'आइन्दा मलाई युवा नेता नभन्नू', भन्ने गगन अभिव्यक्तिले चाहिं मलाई हतप्रभ बनायो। के उनी आफूलाई वयोवृद्ध ठान्न थाले? जीवनका अनेक लालसा उधारीमै रहेको वेला उमेरगत हिसाबले आफ्नै छिमलका नेताको हतासापूर्ण वचन सुन्दा मन हुँडलिनु अस्वाभाविक थिएन। हुँडलिएको मन फत्फताइरहेको थियो– टेन्सन भए गाँजा–चरेस खानु, तर हरेस नखानु! त्यसरी मन कराइरहेकै वेला मेरो खप्परभित्र ट्यूवलाइट बल्यो– हामी अहिल्यै कहाँ युवा भएका छौं र!

धेरै पछाडि फर्कनै पर्दैन, गिरिजाबाबु र सुशील'दालाई सम्झिए पुग्छ। उहाँहरू सात दशक समय कटाएर युवा हुनुभयो। धैर्यका साथ युवा हुने रोलक्रम कुर्ने क्रममा दैवको लाठो छल्न नसकेकाहरू पनि कति छन् कति कांग्रेसमा। ती ज्ञात/अज्ञात धीरहरूको युवकत्वको दोहन गर्न नपाउनु कांग्रेसको दुर्भाग्य हो। यो कोणबाट हेर्दा पौडेलभन्दा कान्छा देउवालाई सभापति 'लेउबा' भन्नु चाहिं यो महाधिवेशनको लघु आकारको कमजोरी रह्यो।

असमयमै फुलेका आठ/दश वटा केशका कारण गगनले तकरिबन ६०० भोट पाए। त्यसलाई महाधिवेशनमा आएका केटौले प्रतिनिधिहरूको उरन्ठेउलो मतदान भनेर आलोचना गर्दा हुन्छ। तिनले पूरै सेताम्य टाउकाहरू छाडेर कुल १० वटा सेता केशतिर भोट ओइराए, जुन कांग्रेसको युवा राजनीतिलाई धरापमा पार्न सक्ने खतराको स्पष्ट संकेत पनि हो। कांग्रेसजनले यो संकेतलाई भलिभाँती बुझेर अर्को बाजी बहकिन सक्नेहरूलाई गाउँ/नगरतिरै रोक्का गर्नुको विकल्प देखिंदैन। आगामी महाधिवेशनमा आलाकाँचा होइन खासा युवाहरूले मात्र प्रतिनिधि बन्न पाउने चाँजो मिलाइहाल्नुपर्छ। भुरालाई गुलेली खेलाउन दिएर मट्याङ्ग्रा नाश गर्नुहुँदैन, कांग्रेसले।

बिजुलीको पर्खाइमा घन्टौं बिताउने, ग्याँस/पेट्रोलको लाइनमा ज्यान सुकाउनेलगायतका दर्जनौं कर्तव्यमा लिप्त हुनुपर्ने पुस्ताले राजनीतिक नेतृत्वमा अनमरिन खोज्नु त्यसै पनि अप्राकृतिक कुरा हो भने कम्तीमा सत्तरी वर्षसम्म घोर्लिनु प्राकृतिक। तसर्थ, धैर्यवान् भई इन्तजार गर्न सिकौं! बीचैमा देवडण्डा लागे, टन्टै खलाँस्!

comments powered by Disqus

रमझम