७-१३ चैत २०७२ | 20-26 March 2016

नेपाल–चीन सम्बन्धमा अंग्रेज चासो

Share:
  
- ज्ञानमणि नेपाल
करीब पन्ध्र सय वर्ष पुरानो नेपाल–चीन सम्बन्ध सधैं विदेशी चासोको विषय रहिआयो।

विक्रम संवत्को शुरूताकै चीनमा बुद्धधर्मको प्रवेश भएपछि नेपाल–चीन सम्बन्ध जोडियो। पछि बुद्धदर्शन/बौद्धवाङ्मय अध्ययन तथा ग्रन्थ संग्रह गर्ने उत्कट चाहनाले उत्साहसाथ भारत भ्रमण गर्ने चिनियाँ यात्रीमा मुख्य इचिङ्ग फाह्यान र युवेनच्वाङ्ग (ह्वेनसाङ्ग) हुन्। यिनमा नेपाललाई चीनसँग परिचित गराउने चाहिं युवेनच्वाङ्ग नै मुख्य हुन्।

युवेनच्वाङ्ग चीनको पुरानो राजधानीबाट ताङ्गवंशी शासकको अनुमतिले पश्चिम खोतन मरुभूमि पार गर्दै कश्मीर निस्किएर भारत पसेका थिए। पूर्वपट्टिबाट समुद्रको यात्रामा झ्न् ठूलो जोखिम बेहोर्नुपर्थ्यो। सं ६८६ देखि ७०२ सम्म बौद्ध तीर्थयात्रा गरी चीन फर्केका यिनले नेपाल–तराईको पनि भ्रमण गरेका थिए। लुम्बिनीबाट चीन गएका बुद्धभद्र र चिनियाँ राजदूत वाङ्गयुञ्चेले पनि चीन–नेपाल धार्मिक सम्बन्धलाई राम्रै विस्तार गरे।

नेपालमा लिच्छविकालीन शिवदेव अंशुवर्माको शासन भएको वेला भोटमा स्रङचनगम्पो र उनका बाबुले देशको एकीकरण शुरू गरेकोले पनि चिनियाँहरूले भोट, नेपालहुँदै भारत पुग्ने सोझो बाटो खुल्यो। आधुनिक कालमा यूरोपेली बेपारीलाई स्वेजनहर खुले जस्तै चीनलाई भोट–नेपाल सजिलो छोटो मार्ग भोट भयो। चिनियाँ राजदूत वाङ्गयुञ्चेले सं. ७०० देखि ७१४ सम्म यही बाटोबाट ओहोरदोहोर गरेका थिए। उनी चिनियाँ वादशाहको खलितापत्र साथ उपहार लिएर हर्षवर्द्धनको राजधानी भारत आएका थिए।

हर्षवर्द्धनको मृत्युपछि उनका सामन्तले राजदूतसँग दुर्व्यवहार गरे। लुटिएका राजदूत बल्लबल्ल उम्केर आएपछि वादशाहको आग्रहमा भोट र नेपालले दुई हजार जति अश्वारोही सैनिक सहायता पठाए। तिनले सामन्तलाई पक्रेर चीन पुर्‍याएपछि चौधौं शताब्दीमा नेपाल–चीन दौत्य सम्बन्ध स्थापित भएको देखिन्छ। त्यसवेला बनेपामा वर्द्धनवंशी जयसिंहराम, मदनसिंहराम, शक्तिसिंहरामहरूको शासन थियो। भोटसँगको बेपार हात पारेका तिनले चीनसँग पनि सम्बन्ध बाँधेका थिए। चीन वादशाहले शक्तिसिंहरामलाई नेवारी लिपि र शुद्ध संस्कृत भाषामा लेखेको खलितापत्र पाइन्छ। यसबाट बौद्धधर्म फैलिएको चीनमा संस्कृतका विद्वान् पनि थिए भन्ने बुझिन्छ।

पछि सं १८४६ मा खोटाटकको विषयमा नेपाल–भोट युद्ध भयो। त्यसमा पराजित भोटको आग्र्रहमा चीन वादशाहले मध्यस्थ पठाए। उनले नेपालसँग भोटको सन्धि गराइदिए। त्यस अनुसार भोटले नेपाललाई वर्षेनि पचास हजार तिर्ने र त्यस खुशियालीमा नेपालले वादशाहकहाँ कृतज्ञता ज्ञापन गर्न प्रतिनिधिमण्डल पठाउने चलन प्रारम्भ भयो। तर, सन्धि बमोजिम भोटले रकम नतिर्दा पुनः युद्ध भयो। यसवेला आएका चिनियाँ सेनापतिले चाहिं सो रकम मिनाहा गराइदिए। नेपालले पाँच–पाँच वर्षमा प्रतिनिधिमण्डल पठाउने चलन चाहिं चलिरह्यो। राणाकालमा यसले नियमितता पाएन।

प्रतिनिधि पठाउने प्रवानाको भाषा बदल्ने कुरा बराबर उठिरहन्थ्यो। त्यसमा ब्रिटिश शासकहरू बहुतै चासो राख्थे। प्रतिनिधिमण्डलका नेताले कस्तो उपहार लैजान्थे, क–कसलाई के दिनुपर्थ्यो; सो सबै विस्तार ब्रिटिश शासकलाई अवगत गराउनुपर्थ्यो। ब्रिटिशहरू एकप्रकारले यात्रावर्णन नै बुझने चेष्टा गर्थे। अनुवाद गरेर उनीहरूलाई पठाइदिनुपर्थ्यो। अंग्रेजहरू बंगालीलाई पटक्कै मन पराउँदैनथे। नेपालमा बंगालीलाई डाक्टर र मास्टर नबनाउनु, बरु ब्रिटिशलाई बनाउनु भन्ने तिनको विचार थियो होला।

ब्रिटिशहरू नेपालले चीनमा प्रतिनिधिमण्डल पठाउने कुरामा आफ्नो अप्रशन्नता वेलावेला प्रकट गर्थे। उनीहरू 'स्वतन्त्र सार्वभौम देशले यस्तो असुहाउँदो कुरा किन गर्ने? यो प्रक्रिया छोड्नुपर्छ' भन्थे। रेजिडेन्टले महाराज र कप्तानलाई पनि यो कुरा भन्थे। 'यहाँ के–के दर्जाका कति जना चिनियाँ आए, तिनले हामीले जस्तै महाराजको मानभाउमा राख्छन्/राख्तैनन्, तिनीहरूले कस्तो सम्मान पाउँछन्, तोपको सलामी कसलाई दिएको?' भनेर सोधिरहन्थे। कप्तानले सलामी महाराजले तक्मा पाएकोमा दिएको हो, जात्रा–उत्सव चाहिं केशरशमशेर र शाहजादीको स्वयम्बर गर्दा भएको भनेर तिनलाई बुझाउँथे।

महाराजले पनि 'अघिदेखिको चलन हो, यसले राजनीतिक माने राख्तैन, हामी सामान्य खातिरदारी गर्छौं, साधारण वस्तु, मरमसला, कपडा पठाउँछौं, उताबाट पठाएको किमती वस्तुको नगद हिसाब गर्दा १०–१२ लाख हुन्छ, प्रतिनिधिमण्डलमा जानेहरू धनी हुन्छन्, गरीब देशलाई यति पनि गनीमतै हुन्छ' भन्दथे।

बडो आश्चर्य छ, दुःखको कुरा छ– हाम्रो देश कहिल्यै आत्मनिर्भर भएन। पृथ्वीनारायण र जंगबहादुरले नेपालीलाई आत्मनिर्भर बनाउन भरिसक्य प्रयत्न गरेका थिए। पहिले ब्रिटिश रेजिडेन्टमा भर्ना भएका नेपाली नौजवानले रगतपसिना बगाएर ल्याएको तलब भत्ताले तिनको जीवनस्तर अलिकति उचालिएको थियो। अहिले प्रजातन्त्र–लोकतन्त्रमा पनि हाम्रा नौजवानहरूलाई विदेशीका कर्मकर बनाउन पठाउँदा हामी गर्व गर्छौं। तिनले विदेशमा चुहाएको पसिनाको मोल रेमिट्यान्सले हाम्रो अर्थतन्त्र धानेको छ भनेर गर्व गर्छौं। उहिले ब्रिटिश शासकहरू चीनसँग सम्बन्ध बढ्दा नेपाल हाम्रो पञ्जाबाट फुस्केला भनेर चिन्तित थिए। दुई सय वर्षपछि अहिले नेपालबारे भारतका शासक ठीक त्यस्तै सोच्छन्। विरासतको रूपमा ब्रिटिशको विस्तारवादी भावना बोकेको भारत नेपाललाई आत्मनिर्भर देख्न चाहँदैन। हाम्रा नेता पनि भारत खुशी भए आफ्नो दुनो सोझिने, सत्तासुख पाइने सोच्छन्। अनि के भन्नु विदेशीलाई!


कप्तान अष्टमानको डायरी

१५ अप्रेल ६ बार (१९०४)

रेजिडेन्ट– चाइनिज् मिसन् आइपुग्यो. माहाराज्को दरबार्मा राखेको छ, हो? लिनलाई सिपाही गयो?

कप्तान– चिनियाँहरू हिजो आइपुगे. माहाराजको दर्बार्मा राखेको छैन. थापाथलिमा वाग्मती किनार्मा यौटा सानो घर छ. तेसैमा राखेको छ. उनीहरूलाई लिन कंपनि सिपाही गयेको हो.

रे– के दर्जाको हो. औ कति जना छन्

क– मेजर दर्जाको हो भनी भन्छन्. औ १० जना छन्.

रे– पर्सि दर्बार हुने भये तेस् दिन् तिमिहरू खुशी मान्छौ होइन.

क– माहाराजले तक्मा पाइबक्सने खुशीनै मान्नुपर्छ.

रे– मेरो मन्मा ता तेस्तो लाग्छ की तिम्रो सर्काले बारम्बार मिशन् पठाउनु र चिनीयालाई सुजरेन्ट पावर भनि दिनु मान्नु र चिनियांले टिवेट झैं आफ्नु अधीनको सम्झनु जस्तो भयेको छ यसो तिमिहरूले किन गर्नु. लडायी पर्‍यो भने तिमीहरूलाई चिनियाले न मदत दिन सक्छ न हात हतियार दिन सक्छ. चिनियालाई किन मान्नु.

क– अघिदेखि चलिआयेको रीत हुनाले सोही रीत् अझ चलेको छ. रे– पुरानु रीत् भनि तेही रीत्मा चल्नाले केही तरकी हुदैन. माहाराज चन्द्रशमशेरलाई लर्ड कर्जनले बहूतै तारीफ गर्छन्. हामीहरू सबै तारीफ गर्छौ. बहूत अकलमन्द होइबक्सिन्छ. नेपालको जो तरकी होला हालका माहाराजैका पालामा होला, पछि हुने छैन.

रे– हिन्दुस्थान भर्मा बंगालिहरू जस्तो निमक्हराम बैमान कोही छैनन्. इनिहरूलाई कस्तै सुविस्ता दियेको छ ता पनि यौटा न यौटा कुराको सिकायत गरिरहन्छन्. हिन्दुस्थान एक वर्षसम्म रुसलाई ठेका दिनुपाये बृटिस्को राजकाज अनि बदखोइ गरोइनन्. यस्ता वंगालीहरू नेपाल सरकारले राखेका छन्. इनिहरूले के इलम सिकाउला. अस्पतालमा पनि इनिहरूले भरेको छ. लैन्को अस्पताल्मा औषधि लिन आउनेहरूसंग सोध्दा बंगालीहरूले रुपया नली औषधि नै दिदैनन् भनि धेरै जनाले भने.

क– अघि जे बंगाली थिये उनै छन्. अब त झिकाउदा अप्कंट्री हिन्दु झिकाउने गरेको छ.

६ अप्रेल ७ बार

रे– आज बढायीं भयेको किन हो?

क– केशरशंशेर साहाजादिको स्वयंवर हो (दुलाहा दुलहीको घर्मा आयेपछि दुलहीको फूल्को माला गलामा लाइदि वाग्दान हुन्छ)

रे– चिनियांहरूलाई देख्यौ कि? उनिहरूले नङ्ग टुपी झै पालेको छ की? क– उनीहरूलाई मैले देखेको छैन.

१७ अप्रेल १ बार

(चीनियां प्रतिनिधिमण्डलको दरबार भएको)

१८ अप्रेल २ बार १९०५

रे– हिजो दर्बारमा खुब धुमधाम भये की. तिमी पनि हेर्न गयेको थियो कि?

क– दर्बार्मा म पनि हेर्न गयेको थियें. अघि जस्तो दर्बार भरि हुन्थ्यो. अैले तेस्तो भयेन. दर्बार्मा अफिसरहरू पनि कम थिये. तेस्को सलामि पनि भयेन. १९ टोप्को सलामि महाराजको भयेको हो. चिनियाले खरीता ल्याये. माहाराजलाई प्रेजेंट गरे. वाहापछि चिनियां पोशाक टोपि कल्कि प्रेजेंट गरे. लाइबक्स्यो र प्रोसेसन् चल्यो. चिनियांहरू माहाराजको हाति पछिपछि दर्बारसम्म पुर्‍याइ फर्कि गये. अंग्रेज खिताब जी.आइ.सी.जे.जी.सी.बी. मिल्दा जे धुमधाम हुन्थ्यो, चाइनिज खिताब मिल्दा तेस्तो भयेन. चीनमा मिशन् पठाउनु बढिया होइन ता पनि अघिदेखि चलिआयाको रीत. औ यहांबाट चीन जाने मानिसहरूले १०,१२ लाख कमाउने र ८,१० जना धनी भै जाने हाम्रो मुलुक गरीब हुनाले यति पनि धेरै छ. यहाँबाट गयेदेखी चीनमा पुगी फेरि फर्की यहां नेपाल नपुगेसम्म पनि चिनिया सर्कारले खान लाउन र जति नाफाको निम्ति बेशै छ. तेसै कारणले नछोडियेको.

रे– महाराज् तेसै हुकुम हुन थियो.

११ अप्रेल ३ बार

आज साढे ११ बजे महाराजको छोरा साहिला बाबु साहेब केशर शंशेरको साहजादिसंगको विवाहाको निम्तो दिन माहाविर कर्णेल र मुन्शी वज्रमान रेजिडेन्ट साहेवकहाँ गये

बडा साहेब जाहानस्मेत् ऐ.को दोस्त मीम २ जना गोरा डाक्टर मीम समेत अस्पतालका डाक बाबु अमला फैला इस्कार्ट गैह्रलाई निम्तो ५ सर्कार तर्फबाट र ३ सर्कारतर्फबाट समेत गयो.

२० अप्रेल ४ बार

रे– ग्यांत्सीमा मिशन जादा भोटेले रोकेको नीजहरू २०० मारियो भनि अखबारमा लेखेको छ भनी तिमीहरूले भन्यौ. अफिसियल टेलीग्राम मलाई आयेकोमा मारियको केही लेखियेको छैन.

कप्तान् वीच र लेफ्टेन सांडर्सहरू मुडियाघाट सिकार खेल्न नेपाल जानालाई केही हिदायत छैन भनी फारेन् अफिसबाट तार आयेको छ. मैले पनी केही हिदायत गर्दीन येस्मा माहाराजबाट के हुकुम हुन्छ मलाई जवाफ दिनु.

क– बक्साउदा हुन्छ. मुडियाघाट सिकार खेल्न हिदायत छैन. काठमाडौं आउनु भनेको होइन.

रे– चिनियाहरू आयेका कति जना छन्. औ कति बस्छन्.

क– चिनिया ११ जवान छन् मेजर कप्तान दर्जाको हो. औ मालहरू बिक्रीलाई ल्यायेको हुनाले बिक्री नहुन्ज्याल बस्ने दस्तुर छ. रे– अघि अघि मांडेलिन भन्ने आउथ्यो. भनि कितापमा लेखियेको रहीछ म्यांडेलिन भन्ने मेजर भन्दा ठूलो दर्जाको हो कि.

क– अघि अघि पनि ताले दर्जाको आउने गरेको हो. चिनियाहरूको अफिसरलाई मांडेलिन पनि भन्छन् होला.

रे– आज प्रोसेसन्मा चिनियाहरू पनि जानेछन्. तपायींको कत्रो मान अरु चिनियांहरू पनि केही संग जान्छन् वाहा थाहां होला.

रेजीडंट लिनालाई कर्णेल हेमविक्रम राणा र म गयें. सिंघदर्बार बैठकमा चिनियाहरू आउदा माहाराजबाट रेजीडेन्टसंग इन्ट्रोड्युस गराइबक्यो. दवैतर्फ हात मिलाइ सलाम गरे.

comments powered by Disqus

रमझम