७-१३ चैत २०७२ | 20-26 March 2016

पल्के बन्जारा

Share:
  
- तुफान न्यौपाने
बाघको चोरीशिकार र तस्करीमा संलग्न रहँदै आएको भारतीय बन्जारा समूह नेपालका निकुञ्जहरूमा पल्किसकेको छ।

नेपाल प्रहरी, सीआईबी
२७ माघ २०७२ मा बाघको छाला र हड्डीसहित पक्राउ परेका भारतीय बन्जारा।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत २७ माघमा कैलालीको पहलमानपुरबाट पक्राउ गरेका ६ भारतीयसहित ८ जनाबाट दुई वटा पाटेबाघको छाला र ३९.५ किलो हड्डी पनि बरामद गर्‍यो। पक्राउ परेका रामु बाबरिया, श्रवण बाबरिया, कमल बाबरिया, अनारकली बाबरिया (पन्जाब), जगदीशचन्द्र बाबरिया र रामपाल बाबरिया (हरियाणा) तथा लालबोजी–१ कैलालीका दुःखीराम चौधरी र पहलमानपुर–६ का अगानु चौधरीले बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनको सीमा क्षेत्रमा बाघ मारेको सीआईबीसमक्ष स्वीकारेका छन्। वन्यजन्तु सम्बन्धी अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन सीआईबीभित्र बनेको 'वाइल्डलाइफ पिल्लर' का अधिकृतका अनुसार उनीहरूले यसअघि पनि बाघ मारेको स्वीकारेका छन्।

पक्राउ परेका भारतीयहरू नंग्रा भएका जंगली जनावरको शिकार गर्ने पुर्ख्यौली पेशा भएको बन्जारा समुदायका हुन्। यसअघि बाघको चोरीशिकार र तस्करीमा संलग्न भारतीयहरू नेपालमा फाट्टफुट्ट समातिएका थिए, तर यसपटक सीआईबीले एकै थलोमा ६ जना फेला पार्‍यो। यसबाट चोरीशिकारको नयाँ तथ्य बाहिर आउने आशा संरक्षणकर्मीहरूले गरेका छन्। एउटा तथ्य त यही हो कि विष प्रयोग र पासोबाट बाघ मार्न सिपालु बन्जारा समूह नेपाली जंगल पसेको धेरै भइसकेको छ र उनीहरूले सीमावर्ती क्षेत्रका नेपालीसँग मिलेमतो गरेर बाघको शिकार र तस्करी गरिरहेका छन्।

सीआईबीका प्रवक्ता दिवेश लोहनीका अनुसार, बाघको छाला र हड्डीको प्रमुख बजार नेपाल भन्दा बाहिर हो, तर बन्जारा र उनीहरूका नेपाली सहयोगी त्यहाँ पुर्‍याएर बेच्ने हैसियतका छैनन्। नाजुक आर्थिक स्थितिका उनीहरू बाघ मारेर एकबाट अर्को स्थानसम्म पुर्‍याउनेमा सीमित छन्। बाघ मार्ने 'व्यावसायिक सीप' भएको बन्जारा शिकारी समूहलाई निगरानीमा पार्न सफल नेपाल प्रहरी उनीहरूलाई काममा लगाउने तहबारे भने अहिलेसम्म सूचनाविहीन नै छ। बाघ शिकारी समाउने 'स्टिङ अप्रेशन' हरूमा सफलता पाएका सीआईबीका सई वीरेन्द्र जोहारी भन्छन्, “बाघलाई भारतीय बन्जाराबाट जोगाउँदै तीभन्दा माथिका तस्करहरूको खोजीमा छौं।” (हे. 'स्टिङ अप्रेशन' का हिरो)

प्रमुख चुनौती बन्जारा

टाइम्स अफ इण्डिया
वन्यजन्तु अपराधमा कुख्यात भारतीय नागरिक संसार चन्द, जसले बाघ मार्न यिनै बन्जारा समूहलाई प्रयोग गर्थे।
भारतमा बाघको कुख्यात चोरशिकारी संसार चन्द प्रहरी हिरासतमै रहेका वेला ४ चैत २०७० मा क्यान्सरबाट बिते। टाइम्स अफ इन्डिया को अनलाइन समाचार अनुसार, सन् २००४ को पहिलो ११ महिनामा मात्रै उनले ४० बाघ र ४०० वटा हिउँ चितुवाको कारोबार गरेका थिए। प्रहरीको सोधपुछमा चन्दले ४७० वटा बाघ र दुई हजार १३० हिउँचितुवाको छाला नेपाल र तिब्बतका चार जना व्यापारीलाई बेचेको स्वीकारेका थिए। भारतमा सबभन्दा खतरनाक वन्यजन्तु अपराधी मानिने चन्दको मृत्युपछि उनको समूह छिन्नभिन्न भयो।

चन्दका लागि नेपालका जंगलमा बाघ मार्न थालेका बन्जाराहरूले उनको मृत्युपछि अन्य तस्करका लागि काम गर्न थाले। गोलीले प्वाल नपारेको छालाको माग बढी हुने भएकाले बन्जाराहरूको बाघ मार्ने परम्परागत सीप अझ् बढी प्रयोगमा आएको हुन सक्छ। बाघ मार्न बन्दूक प्रयोग नगर्ने हुनाले उनीहरू वन्यजन्तुको अंग बोकेको अवस्थामा बाहेक अरू वेला सुरक्षाकर्मीको नजरबाट पनि सजिलै जोगिन्छन्। ६ फागुनमा गठित बाघ संरक्षणसम्बन्धी उच्चस्तरीय समितिका संयोजक विजय पौडेल जंगल नजिक पाल टाँगेर बस्ने बन्जाराहरूमाथि यसअघि कसैले ध्यान नदिएको बताउँछन्। “अब भने नेपालको बाघ संरक्षणमा सामान्य घुमन्ते जस्ता लाग्ने उनीहरू नै प्रमुख खतरा भएको खुलिसकेको छ”, उनी भन्छन्।

पछिल्लो एक वर्षमा १४ वटा बाघका अस्थिपञ्जरसहित २५ व्यक्ति पक्राउ परेका छन्। (हे. इन्फोग्राफिक्स) सीआईबीका अनुसार, तीमध्ये ९ जना शिकार गर्ने 'भेरिफाइड' समूहका सदस्य हुन्। पहिल्यैबाट चोरीशिकारमा संलग्न अन्य तीन जना बन्जारा थर फेरेर हिंड्ने गरेकाहरू थिए। बाँकी १३ जना नेपाली, बन्जाराहरूका सहयोगी हुन्। १४ बाघमध्ये एउटा मात्र 'बन्जारासँग सम्बन्ध नभएका' नेपालीले मारेका थिए।

निकुञ्जहरूबाट यसअघि नै संकलित बाघको दिसा र पछिल्लो एक वर्षमा बरामद गरिएका बाघका अस्थिपञ्जरको डीएनए परीक्षण गर्दा ६ वटाको मिलेको छ। सीआईबीका अनुसार यसबाट १४ मध्ये कम्तीमा ६ वटा बाघ नेपाली जंगलमा मारिएको पुष्टि भएको छ।


'स्टिङ अप्रेशन' का हिरो

भारतीय बन्जाराहरूले कञ्चनपुरको जंगलमा बाघ मार्ने गरेको तथ्य खुलाउने कारबाहीको नेतृत्व नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी नायव निरीक्षक वीरेन्द्र जोहारीले गरेका थिए। उनले 'महाकाली क्षेत्रीय अनुसन्धान समूह' मा रहँदा र सीआईबीको केन्द्रीय कार्यालयबाटै पनि वन्यजन्तु अपराधमा संलग्नहरूलाई पक्रिन महत्वपूर्ण भूमिका खेले। पछिल्लो एक वर्षमा सीआईबीले गरेका १४ वटा स्टिङ अप्रेशनमध्ये पश्चिम तराईका ९ वटाको नेतृत्व सई जोहारीले गरेका थिए। २०५८ सालमा सहायक निरीक्षकको रूपमा प्रहरी सेवामा आएका उनले वन्यजन्तु संरक्षणमा पुर्‍याएको योगदानको कदरस्वरुप सन् २०१५ मा 'डब्लुडब्लुएफ अब्राहम कन्जर्भेसन अवार्ड' पाए।

comments powered by Disqus

रमझम