७-१३ चैत २०७२ | 20-26 March 2016

१७,५०० फरार

Share:
  
पूर्वाञ्चल प्रहरीको अपराध अनुसन्धान समूहले एक वर्षमा ५० प्रतिशत फरार अभियुक्त पक्रने लक्ष्य राखेको छ।

काठमाडौंमा पक्राउपछि विराटनगर ल्याइएका धनपति रेग्मी
२४ पुस २०६० मा गाउँकै पवित्रा कट्टेल (३२) को हत्या आरोपमा २० वर्ष कैद सजाय तोकिएका मधुमल्ला–७, मोरङका धनपति रेग्मी (४८) २९ फागुनमा काठमाडौंमा समातिए। अपराधपछि माओवादीको भूमिगत राजनीतिमा लागेका रेग्मीले पछिल्लो पाँच वर्ष वैदेशिक रोजगारी गर्न पनि भ्याएका थिए।

त्यस्तै, एक युवतीलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा ३१ साउन २०४८ मा १० वर्ष कैद सजाय तोकिएकी विराटनगर–२२ की राधा तामाङ २४ वर्षपछि गत २३ फागुनमा पक्राउ परिन्। लागूऔषध मुद्दामा २०६६ मा एक वर्ष १० महीना २६ दिन कैद र रु.२ लाख जरिवाना तोकिएका विराटनगर–७ का चन्दनकुमार सहनी (३२) २ चैतमा समातिए भने २०६४ कात्तिकमा हात्तीमुडा–९ मा लूटपाट र बालिकालाई जबर्जस्ती गर्न खोजेको आरोपमा पाँच वर्ष ११ महीना २६ दिन कैद र रु.१ लाख १६ हजार ९२५ जरिवाना तोकिएका रिजवान मियाँ गत २८ फागुनमा पक्राउ परे।

त्यस्तै, २०६६ असोजमा राजघाट–७ मोरङमा बलात्कार गरेको आरोपमा १० वर्ष कैद सजाय तोकिएका राजघाट–८ का गायत्रीबहादुर श्रेष्ठ (३९) गत २१ फागुनमा पक्राउ परे। क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको अपराध अनुसन्धान समूहले पक्राउ गरेका फरार अभियुक्तमध्येका केही उदाहरण हुन्, यी। अनुसन्धान समूहका प्रमुख डीएसपी कमल थापाका अनुसार, पूर्वाञ्चलमा अझै १७ हजार ४५१ अभियुक्त फरार छन्।

फरार खोज्ने अभियान

३ चैतमा पक्राउ परेका फरार जब्बार मियाँ।
डीआईजी केशरीराज घिमिरेको नेतृत्वमा सक्रिय अपराध अनुसन्धान समूहले गएको फागुनमा ४९ जना फरार अभियुक्तलाई पक्राउ गर्‍यो। यी ४९ जनाबाट ८० वर्ष २ महीना ११ दिन कैद र रु.४ लाख ७५ हजार ७०४ जरिवाना भुक्तान भएको थिएन। समूहले फरारसहित पुराना ५२६ मुद्दाको अनुसन्धान, फरार १ हजार ८०५ जनाको खोजी, लागूऔषध कारोबार र भन्सार चुहावट नियन्त्रण गर्ने अधिकार पाएको छ।

समूहले विभिन्न जिल्ला प्रहरीको समन्वयमा फरार अभियुक्तहरूलाई पक्राउ गर्छ। अनुसन्धान समूह प्रमुख डीएसपी थापाले एक वर्षमा ५० प्रतिशत फरार पक्रिने योजना बनाएको बताए।

फरार अभियुक्तको संख्या बढी भएका झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहाका अदालतले पनि प्रहरीसँग संयुक्त अभियान चलाएर अदालतको फैसला कार्यान्वयन गराउँदैछ। बन्द–हड्तालले धेरै प्रभावित पारेको चालू आर्थिक वर्षको फागुनसम्ममा मोरङमा ७२ जना फरारलाई पक्राउ गरिएको जिल्ला अदालत मोरङले जनाएको छ। उनीहरूबाट ५८ वर्ष ७ महीना २० दिन कैद रु.५ लाख ७९ हजार जरिवाना भुक्तान हुने जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलाल बताउँछन्। फरार समात्ने टोलीलाई प्रोत्साहित गर्न अभियुक्तहरूबाट असूल हुने जरिवानाको २५ प्रतिशत पुरस्कारको व्यवस्था छ।

कमल रिमाल, विराटनगर


'राम्रो नतीजा पाइएको छ'

केशरीराज घिमिरे

डीआईजी, पूर्व क्षेत्रीय प्रहरी कार्यालय,

विराटनगर

अभियानलाई सफल बनाउन पहिले प्रहरीभित्रै सुधार आवश्यक थियो। त्यसका लागि एक महीनामा ३१ प्रहरी कर्मचारीलाई कारबाही भयो। ९ जनालाई निलम्बन नै गरियो। अहिले वार्षिक कार्ययोजना र हेडक्वाटरको क्राइम एक्सन प्लान अन्तर्गत २५ जनाको अपराध अनुसन्धान समूह बनाएर परिचालित गरिएको छ। जिल्लाले अनुसन्धान गर्न नसकेका गम्भीर प्रकृतिका मुद्दाको अनुसन्धान पनि क्षेत्रीय प्रहरीले गर्छ। अनुसन्धान समूह परिचालन भएको आठ महीनामा राम्रो नतीजा हातलागेको छ।

comments powered by Disqus

रमझम