७-१३ चैत २०७२ | 20-26 March 2016

ल्हारक्याल 'राजनीति'

Share:
  
- शेखर खरेल
ढोंगी, धर्मभीरु र भ्रष्ट राजनीतिकर्मी बीचको अपवित्र गठबन्धनको एउटा 'केस स्टडी' हो, ल्हारक्याल प्रकरण।

दुनियाँका लागि मुण्डित शिर र गेरुवा बस्त्रधारी ल्हारक्याल लामा बौद्ध धर्मको सम्यक् मार्गका एक साधक हुन्। तर, उनी स्वयंले पछ्याउने मार्ग चाहिं धोकाधडी र पापाचार हो। भिक्षु र राजनीतिज्ञको छद्म छविबाट ल्हारक्यालले अकुत सम्पत्ति कमाए। तर, पापको घैंटो भरिएपछि पोखिन्छ भने झैं ब्यांक लकरबाट १४ थान गोली भेटिएपछि अहिले उनी हिरासतमा छन्। लामाको गिरफ्तारीयता उनका अनेक कर्तुत पर्दाफास हुँदैछन्। तर, उनलाई अपराधको लाइसेन्स प्रदान गर्नेहरूमाथि औंला ठड्याइएको छैन,

जबकि लामाका कर्तुत ठगीको एउटा किस्सा मात्र होइन।

ल्हारक्याल लामा प्रकरण ढोंगी, धर्मभीरु र भ्रष्ट राजनीतिकर्मी बीचको अपवित्र गठबन्धनको एउटा 'केस स्टडी' हो। प्रमुख दलहरूका शीर्ष नेताका प्रिय बन्नु र एकपछि अर्को दलमा महत्वपूर्ण हैसियत बनाउन सक्नु ल्हारक्यालको 'हातको सफाइ' मात्र होइन। वास्तवमा ल्हारक्याल प्रवृत्ति नेताहरू निर्मित राजनीतिक संस्कारको एउटा दृष्टान्त हो। विडम्बना चाहिं मुलुकका सबै प्रमुख दल यस्तो प्रवृत्तिको संवर्द्धक र संरक्षक देखिएका छन्।

ल्हारक्यालले सबैभन्दा पहिले नेपाली कांग्रेसलाई उपयोग गरे। २०५८ सालमा हालै नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवा प्रधानमन्त्री र केन्द्रीय सदस्य खुमबहादुर खड्का स्थानीय विकास मन्त्री रहँदा ल्हारक्यालले गुम्बा व्यवस्थापन समितिको अध्यक्षको राजनीतिक नियुक्ति पाएका थिए। कार्यकालभर विवादित लामा त्यसपछि नेकपा (एमाले) तिर लागे र २०६७ सालमा तत्कालीन प्रधानमन्त्री झ्लनाथ खनाल मन्त्रिमण्डलमा अर्थराज्यमन्त्री हत्याउन सफल भए। तर तीन देशको राहदानी बोक्ने लामा चौतर्फी विवादबीच राजीनामा दिन बाध्य भए।

तर, ल्हारक्यालको राजनीतिक अभीष्ट टुंगिएको थिएन। उनको महत्वाकांक्षा वेग्लै थियो। आलोचक र विरोधीलाई लोप्पा खुवाउँदै उनी एनेकपा (माओवादी) बाट २०७० सालमा समानुपातिकतर्फका सभासद् बन्न सफल भए।

पैसाको शक्ति

हाम्रो राजनीतिक अधोगतिको एउटा कारकतत्व नेतृत्वले 'पात्र' माथि दिने अनावश्यक महत्व हो। लोकतान्त्रिक, प्रगतिशील वा क्रान्तिकारी; जे–जस्तो आवरण भए पनि दलहरूले महत्व दिने पात्र र प्रवृत्ति एकैखाले छ। हालै नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भ्रष्टाचार कसूरमा जेल भोगेका खुमबहादुर खड्काको न्यायालय विरुद्धको हाँक त्यसैको उदाहरण हो।

राजनीतिक र सामाजिक जीवनसँग कुनै सरोकार नराख्ने राज्यलक्ष्मी गोल्छालाई समानुपातिक सभासद्मा काखी च्याप्ने एमाले नेतृत्वको चरित्र त्यतिवेला उदांगियो, जब गोल्छाले नामै किटेर एमालेका नेताहरूलाई पटक–पटक आर्थिक सहयोग गरेको खुलासा गरिन्। मधेशकेन्द्रित दलहरूले त पत्नी, नातेदार र मधेश मुद्दासँग सरोकार नै नराख्ने सम्भ्रान्त र व्यापारीलाई सभासद् पद लिलाम बढाबढ झैं बाँडे। नत्र विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) ले सेक्सोलोजिस्ट डा. सुबोधकुमार पोखरेललाई सभासद् नियुक्त गर्नुमा के सम्बन्ध हुन सक्छ?

नेतासँगको सम्पर्क र पैसाले जस्तोसुकै पद हत्याउन सकिन्छ, ल्हारक्याल प्रकरणको अर्थ यही हो। पैसाको बिटा बोकेर नेता परिक्रमा गर्नेहरू नै प्रिय दरिन्छन्। नेताहरू ती पात्रका पृष्ठभूमि, योग्यता र चारित्रिक स्वच्छतासँग कुनै सरोकार राख्दैनन्। मानौं पदहरूमा मूल्यको ट्याग झुन्ड्याइएको हुन्छ। द्रव्यको सम्मोहनमा नेताहरू यसरी फसिरहेका छन् कि अनेकौं आँधीहुरी सहेका आफ्ना जुझारु र निष्ठावान् कार्यकर्तालाई समेत बलि दिन उनीहरू रातारात तयार हुन्छन्।

समावेशी, समतामूलक र समृद्ध नेपाल निर्माण गर्ने हो भने त्यसको प्रस्थानबिन्दु दलहरूकै शुद्धीकरणबाट हुनुपर्दछ। सही पात्रको छनोटबाट मात्र समृद्धिको सही मार्गचित्र कोर्न सकिन्छ। ल्हारक्याल प्रकरणलाई एउटा सामान्य फौजदारी मुद्दाको रूपमा मात्र हेर्न हुन्न। गलत पात्रको प्रवर्द्धनका कारण सिर्जित विकृतिको स्वामित्व प्रमुख दलहरूका नेताले लिनुपर्छ। र, तिनले जनतासमक्ष क्षमा माग्दै गल्ती नदोहोर्‍याउने प्रतिबद्धता गर्नुपर्छ।

comments powered by Disqus

रमझम