७-१३ चैत २०७२ | 20-26 March 2016

अब विवेकमा बल

Share:
  
- सइन्द्र राई
तीन पटक प्रधानमन्त्री, विभाजित पार्टीको सभापति र एकतापछिको १३औं महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति बनेका शेरबहादुर देउवाले अब बहुमतभन्दा विवेकमा जोड दिनुपर्नेछ।

गोपेन राई
केन्द्रीय निर्वाचन समितिले १३औं महाधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको भोलिपल्ट २ चैत साँझ् नवनिर्वाचित पदाधिकारी र सदस्यहरू लिएर शेरबहादुर देउवा सभापतिमा आफूसँग पराजित रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास पुगे। चियापानको निम्तो मान्न आएका देउवालाई एकताबद्ध बनाएर पार्टी अगाडि बढाउन शुभकामना दिएको भोलिपल्टै पौडेलसहित सात जना केन्द्रीय सदस्यमा मनोनीत भए।

देउवाले पदभार ग्रहण गरेलगत्तै सभापतिको अधिकार प्रयोग गरेर पौडेल, महाधिवेशनताका बिरामी भएर उम्मेदवारी दिन नसकेका नेता नरहरि आचार्य, सभापतिका अर्का प्रत्यासी कृष्णप्रसाद सिटौला, महामन्त्रीमा पराजित अर्जुननरसिंह केसी र गगन थापा तथा कोषाध्यक्षमा पराजित चित्रलेखा यादव र उमाकान्त चौधरीलाई मनोनीत गरेका छन्। यसरी देउवाले शुरूमै पार्टीलाई एकताबद्ध पारेर लैजाने संकेत दिएको उनकै प्यानलबाट केन्द्रीय सदस्य निर्वाचित ज्ञानेन्द्रबहादुर कार्की बताउँछन्। प्यानलसहित महाधिवेशनमा होमिएका कांग्रेस नेताहरू नवनिर्वाचित पार्टी सभापतिको यो 'जेस्चर' प्रति विश्वस्त हुन भने सकेका छैनन्। “शुरूआत सुखद् छ”, केन्द्रीय सदस्य प्रदीप पौडेल भन्छन्, “पार्टी कसरी अघि बढ्छ भन्ने निर्धारण सभापतिको कार्यशैलीले गर्नेछ।”

तेस्रो प्रयासमा कांग्रेस सभापति निर्वाचित देउवाले अहिलेसम्म पार्टीको असन्तुष्ट पक्षलाई समेट्दै विभाजनको नेतृत्व समेत गरेका थिए। मूल पार्टीमै फर्केर सभापति निर्वाचित भएपछि उनले पार्टीलाई एकताबद्ध बनाउने अवसर पाएका छन्। नवनिर्वाचित केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा राज्यसत्ता र पार्टीसत्ता दुवैको सर्वोच्च पदमा पुगिसकेका देउवाले पछिल्लो सफलतासँगै राजनेता बन्ने अवसर पाएको बताउँछन्। (हे.बक्स इतिहास बनाउने हो भने...)

बीपी कोइरालाको विश्वास पात्रका रूपमा २०२८ सालमा नेपाल विद्यार्थी संघको सभापति बनेका देउवाले पार्टीको १३औं महाधिवेशनपछि बीपीपुत्र शशांकलाई महामन्त्रीका रूपमा पाएका छन्, जो अर्काे प्यानलबाट उम्मेदवार बनेका थिए। यद्यपि, ५० वर्षदेखिका मित्र रामचन्द्र पौडेलदेखि पार्टी विभाजन गर्दा समेत साथ दिने प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायतलाई मिलाएर अघि बढ्न देउवालाई धेरै गाह्रो नपर्ने कांग्रेस नेताहरू बताउँछन्।

केन्द्रीय कार्यसमितिमा निर्वाचिततर्फका ६४ सदस्यमध्ये ३६ जना आफ्ना समर्थकहरू भएकाले पनि देउवालाई काम गर्न अनुकूल छ। २५ खुला सदस्यमध्ये १४, २२ समावेशीबाट १४ र भूगोलतर्फका १४ मध्ये ७ जना देउवा पक्षका छन्। (हे.बक्स) तर, सभापति देउवाले बहुमतको बलमा निर्णय गर्दा पार्टी एक भएको सन्देश दिन र कांग्रेस विभाजन गरेको दाग मेटाउन सजिलो हुने छैन। राजनीतिक विश्लेषक नीलाम्बर आचार्य ६०/४० को भागबन्डा अन्त्य गर्दा कांग्रेस एकताबद्ध भएको मान्न सकिने बताउँछन्। त्यस्तै, केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा भन्छन्, “देउवाले गुट होइन, सबैलाई समेट्ने निर्णय लिने क्षमता देखाउनुपर्छ।”

पुरानैको हालीमुहाली

बीपी र गणेशमान सिंहले अंगीकार गरेको समावेशी सिद्धान्तमा सम्झ्ौता नगर्ने देउवाको प्रतिबद्धता अनुसारको छैन, नेपाली कांग्रेसको नयाँ कार्यसमिति। विवादले विधान संशोधन हुन नसक्दा १२औं महाधिवेशनको जस्तै बन्यो, यो कार्यसमिति। २२ जनाको समावेशी कोटाबाहेक अन्यमा समावेशी भएन। २५ जनाको खुलातर्फ महिलाबाट सुजाता कोइराला र मधेशीबाट विमलेन्द्र निधि आए भने जनजातिबाट कुलबहादुर गुरुङ, गोपालमान श्रेष्ठ र धनराज गुरुङ निर्वाचित भए। बाँकी क्षेत्री/बाहुन (पुरुष) नेता छानिए। सभापतिबाट मनोनीत हुने २१ केन्द्रीय सदस्यभित्र गगन थापालाई पारेर देउवाले युवालाई ठाउँ दिने सन्देश दिन खोजे पनि कार्यसमिति पुरानै अनुहारबहुल छ। समावेशीतर्फ ९ जना नयाँ आएका छन् भने खुलामा ३ र भूगोलतर्फ ४ जना मात्र नयाँ नेता छन्।

नयाँ संविधान अनुसार समावेशी सिद्धान्त लागू गर्ने दबाबमा रहेका सभापति देउवा पराजित पुराना नेताहरू समेट्नुपर्ने बाध्यतामा छन्– आफूनिकट गोविन्दराज जोशी, तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, मनमोहन भट्टराई, सूर्यमान गुरुङ, रामहरि खतिवडालगायत पराजित भएकाले। तत्काललाई पदाधिकारी मनोनयन नगर्ने बताएका देउवा आफूलाई जिताउनेहरूको आकांक्षा सम्बोधन गर्न सक्ने अवस्थामा भने देखिंदैनन्। पार्टी विधानले पदाधिकारीमा एक उपसभापति, एक महामन्त्री र एक सह–महामन्त्री मात्र मनोनयन गर्ने ठाउँ दिएकाले सभापति देउवा आगामी भदौभित्र महासमिति बोलाएर पदाधिकारी र कार्यसमितिको संख्या बढाउने रणनीतिमा छन्।

देउवाका अगाडि पौडेललाई प्राप्त १ हजार १९५ मतको पनि सभापति ठहरिनुपर्ने चुनौती छ। उनले जीवनभर माग राखे, असन्तुष्टि जनाए, विद्रोह गरेर राजनीतिक हैसियत बनाए। अब सबैलाई सन्तुष्ट बनाएर उँचाइ प्राप्त गर्नुपर्ने अवस्थामा छन्। एक दशकदेखि रोकिएका भ्रातृ संस्थाहरूको महाधिवेशन चाँडो गराउने, महासमिति र केन्द्रीय समितिको बैठक नियमित राख्ने र विभागीय जिम्मेवारी दिंदै पार्टीलाई क्रियाशील बनाउनुपर्ने पार्टीको पहिलो काम देउवा सम्मुख छ। फरक प्यानलबाट निर्वाचित केन्द्रीय सदस्य प्रदीप पौडेल भन्छन्, “संस्थापनको भूमिकामा पुगेका सभापति देउवा सबैलाई पाच्य हुने अनि काम देखाउनुपर्ने अवस्थामा छन्।”


देउवा पक्ष

शेरबहादुर देउवा, खुमबहादुर खड्का, केबी गुरुङ, प्रदीप गिरि, बालकृष्ण खाँड, विश्वप्रकाश शर्मा, रमेश लेखक, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, शंकर भण्डारी, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठ, चन्द्र भण्डारी, प्रकाशशरण महत, भीष्मराज आङ्देम्बे, रमेश रिजाल, मोहनबहादुर बस्नेत, सुरेन्द्रराज पाण्डे, देवेन्द्रराज कँडेल, जीवनबहादुर शाही, बीरबहादुर बलायर, डिला संग्रौला, पुष्पा भुसाल, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, बहादुरसिंह लामा, सीता गुरुङ, किरणदेवी यादव, अजय चौरसिया, महेन्द्र यादव, मीन विश्वकर्मा, मानबहादुर विश्वकर्मा, लक्ष्मी परियार, सुजाता परियार, फरमुल्लाह मन्सुर।

पौडेल पक्ष

शशांक कोइराला, सीतादेवी यादव, शेखर कोइराला, प्रकाशमान सिंह, प्रदीप पौडेल, धनराज गुरुङ, बलबहादुर केसी, महेश आचार्य, सुजाता कोइराला, रामशरण महत, बद्री पाण्डे, नारायण खड्का, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, गोविन्द भट्टराई, दीपक गिरी, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, कमला पन्त, सरिता प्रसाई, चीनकाजी श्रेष्ठ, कल्याण गुरुङ, रत्ना शेरचन, रामकृष्ण यादव, पार्वती डिसी चौधरी, जीवन परियार।

comments powered by Disqus

रमझम