७-१३ चैत २०७२ | 20-26 March 2016

इतिहास बनाउने हो भने...

Share:
  
- विश्वप्रकाश शर्मा
तीनपटक प्रधानमन्त्री बनिसकेका देउवा पार्टीको नेतृत्वमा पुगेकाले अब माथि जाने ठाउँ पनि सकिएको छ। उनले लिने भनेको पद नभई उँचाइ हो।

उच्च शिक्षा लिन सुदूरपश्चिमबाट काठमाडौं छिरेका शेरबहादुर देउवा विद्यार्थी संघहुँदै देशकै पुरानो र ठूलो लोकतान्त्रिक पार्टीको नेतृत्वमा पुगेका छन्। उनी नेपाल विद्यार्थी संघको नेतृत्वमा पुगेको ४४ वर्षपछि मूल पार्टी नेपाली कांग्रेसको सभापति निर्वाचित भए। ४४ वर्षअघि र पछिको चुनौतीको दायरा फरक हुने नै भयो। २०५२ सालपछि तीनपटक प्रधानमन्त्री बनेका व्यक्ति पार्टी सत्ताको नेतृत्वमा पुगेकाले उनका लागि माथि जाने ठाउँ पनि सकिएको छ। अब उनले लिने भनेको पद नभई उँचाइ हो। यो तहमा पुगेको व्यक्तिले सोच्नुपर्छ– इतिहासमा के लेख्ने?

नेपाली राजनीतिले एउटा राजनेता उत्पादन गर्न ५० वर्ष खर्चिनुपरेको छ। देउवाले अब राजनेता हुन तीन वटा काम गर्नुपर्नेछ। पहिलो, सधैं विपक्षी भूमिकामा रहेका उनले अब पहिला गरेका प्रश्नहरूको जवाफ तय गर्नुपर्छ। दोस्रो, पुरातन र अव्यवस्थित नेपाली कांग्रेसको निर्णय प्रक्रियामा लोकतन्त्रीकरण भएको छैन। लोकतन्त्रवादी हुनु र लोकतान्त्रिक हुनु फरक कुरा हो। लोकतन्त्रवादी पार्टीलाई लोकतान्त्रिक बनाउने अभियान सभापति देउवाले शुरू गर्नुपर्नेछ। र तेस्रोमा छ, सरकार कि प्रतिपक्षमा? भन्ने प्रश्न।

माथिका प्रश्नहरूको हल खोज्न सभापति देउवाले केही नवीन काम थाल्नुपर्छ। जस्तो– नीति र नेतृत्वको फरक अधिवेशन, पदसँगै जिम्मेवारी र कार्यकर्तालाई आत्मनिर्भर बनाउने कार्यक्रम। पार्टी र कार्यकर्ता आत्मनिर्भर हुँदा मात्रै देशलाई आत्मनिर्भर बनाउन सकिन्छ। 'विद्यार्थी राजनीति– पढाइको बलिदान, कांग्रेसको राजनीति– गृहस्थीको बलिदान' भन्ने धारणाबाट मुक्त भएर 'तीन दिन पार्टीका लागि चार दिन रोटीका लागि' को मान्यता स्थापित गराउनुपर्छ।

त्यस्तै, प्रतिपक्षमा बस्दा केही गर्न नसकिने र सरकारमा जाँदैमा धेरै काम गर्न सकिने भन्ने हुँदैन। राजनेताको स्तरमा पुग्ने हो भने सभापति देउवाले प्रतिपक्षमै बसेर संविधान कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेल्नुपर्छ। मधेशको असन्तुष्टि हल गर्न दुईबुँदे संशोधन प्रतिपक्षबाट संभव भयो भने सीमांकनलगायतका विषयमा पनि कांग्रेसले रचनात्मक उपाय दिन सक्छ। सरकार संविधानको स्वामित्व बढाउन लचिलो हुँदैन भने चाहिं कांग्रेसले सरकारको नेतृत्व गरेर पनि संविधान कार्यान्वयनको बाटो रोज्नुपर्छ।

राजनेता बीपी कोइरालासँग सपना थियो, समय भएन। हामीसँग समय छ, सपना भएन। इतिहासमा नाम लेखाउने हो भने देउवाले आज सडकमा हिंडिरहेको युवाको अवस्था डेढ दशकपछि कस्तो हुन्छ? समृद्ध मधेश कसरी बन्छ? पहाड कसरी खुशी हुन्छ? भनेर मनमा गुन्नुपर्छ। डेढ दशकभित्रमा कसैले पनि विदेशबाट बाकसमा फर्कने अवस्था हटेको सपना देख्नुपर्छ।

बीपीले बाटोघाटो, अस्पताल पुगेको र नपुगेको गरी दुई वटा नेपाल छ भन्नुहुन्थ्यो। त्यो अवस्थाबाट देश अघि बढ्दै गर्दा विभाजनका नयाँ रेखा कोरिन छोडेको छैन। अहिले पनि दुइटा नेपाल छ। काठमाडौंमा राजनीतिक संगठनको नेतृत्व गर्ने तन्नेरीको नेपाल र कतारमा पसिना बगाइरहेका युवाको नेपाल। अब पार्टीपिच्छेको होइन, १५ वर्षभित्र एउटै नेपाल बनाउने सामूहिक भिजनसहित साझा दस्तावेज बनाउने कामको नेतृत्व देउवाले गर्नुपर्छ। उनको विगत लेखिइसक्यो, वर्तमान देखिंदैछ। अब इतिहास बनाउने अवसर उनको अगाडि छ।

(वार्तामा आधारित)

comments powered by Disqus

रमझम