७-१३ चैत २०७२ | 20-26 March 2016

भोकमरीको त्रास

Share:
  
- नवराज महतारा, हुम्ला
साउनदेखिको खडेरीले कर्णाली क्षेत्रमा पुनः खाद्य संकट ल्याएको छ।

कालीबहादुर मल्ल
सुक्खा कर्णाली क्षेत्रमा यो वर्ष लामो खडेरी पर्दा धान, मकै, कोदो, चिनो, कागुनो, फापर, सिमीलगायतका प्रमुख बालीहरूको उत्पादन २५ देखि ९० प्रतिशतसम्म घटेको जिल्ला कृषि विकास कार्यालयहरूको तथ्यांकले देखाउँछ। खडेरीले बर्खेबाली सखाप पारेको कर्णाली क्षेत्रमा कात्तिक–मंसीरमा छरेको हिउँदे बाली समेत उमि्रएको छैन। बर्खेबाली नभएर धेरै जनशक्ति भारत गएकाले अधिकांश खेतबारी बाँझै छन्। “वर्षात्मा खडेरी परेकाले हिउँदे बाली जौ, उवा र गहुँ उम्रेको छैन। डरलाग्दो भोकमरी आउँदैछ”, कालिका–४, हुम्लाका दीपबहादुर रोकाया भन्छन्।

संकटग्रस्त क्षेत्र

कर्णालीको कुल खेतीयोग्य जमीनमध्ये करीब ८० प्रतिशतमा सिंचाइ सुविधा छैन। त्यसमाथि गत असारमा सामान्य वर्षा भएर लगातार सुक्खा लागेकाले सबैले हिउँदे बाली लगाउन सकेनन्। मैला, हुम्लाका कृषक ज्ञाने रोकायाले कात्तिकमा पाक्ने बर्खेबाली खडेरीले सोत्तर पारेकोले अहिले नै भोकमरी बढेको बताए। भोकमरीको डरले दक्षिणी हुम्लाका गाउँ युवाविहीन हुन थालिसकेको बताउँदै उनले भने, “दैनिक सयौंको संख्यामा भारत गइरहेका छन्।”

स्थिति कस्तो छ भने, खाद्यान्नका लागि एक साता पैदल हिंडेर जिल्ला सदरमुकाम आउनेहरूको संख्या बाक्लिन थालेको छ। मदना, हुम्लाका धनरुप बोगटीले गाउँमा एक किलो मोटो अदुवा चामललाई रु.१२० पर्न थालेको बताए। हुम्लाका २७ मध्ये १८ गाविस अहिले नै अनिकालग्रस्त बनेका छन्। ९ गाविस त्यसै पनि खाद्य असुरक्षित गाविस हुन्। यो अवस्थालाई हेरेर सबै जिल्लाका खाद्य सुरक्षा समितिहरू खाद्यान्न आपूर्तिका लागि सरकार र दातृ निकायलाई हारगुहार गरिरहेका छन्। खाद्य सुरक्षा समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरे हुम्लाका कतिपय गाविसको कृषि उत्पादन ९८ प्रतिशतसम्म घटेको बताउँछन्।

आसन्न अनिकाल टार्न मुगुमा खाद्य संकटग्रस्त जिल्ला घोषणाको तयारी गरिंदैछ। खडेरीग्रस्त मुगुमा हिमपात समेत नभएको मार्तडीबाट खच्चरमा चामल ल्याइरहेका भिईका माघे कार्की बताउँछन्। सोरु र खत्याड क्षेत्रका बासिन्दा पनि बोकेकै चामलले जीवन धानिरहेको बताउँछन्। मुगुका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र जिल्ला कृषि विकास कार्यालयका प्रमुख चन्द्रप्रकाश रिसालले ह्याँग्लु, भिई, नार्थपु, जिमा, रुगा, धैनकोट, कालै, कोटडाँडा, गम्था, श्रीकोट, श्रीनगर, डोल्फुलगायतका गाविसमा खाद्य संकट आइसकेको बताए। उनका अनुसार खाद्य संकटका कारण मुगुका २४ गाविस युवाविहीन भइसकेका छन्। मुगुमा वार्षिक ११ हजार टन खाद्यान्न चाहिन्छ।

बर्खेबाली उत्पादनमा औसत ४१ प्रतिशत कमी आएको कालीकोटको अवस्था पनि उस्तै छ। जिल्ला खाद्य सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठ सम्भावित संकट टार्न विभिन्न निकायसँग समन्वय गर्न थालेको बताउँछन्। कालीकोटमा वार्षिक २१ हजार टन खाद्यान्न आवश्यक पर्छ। त्यस्तै, निकै कम हिमपात भएको डोल्पामा यस वर्षको हिउँदे बाली उत्पादनमा ९० प्रतिशत कम हुने जिल्ला कृषि विकास कार्यालयको अनुमान छ। जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ अधिकृत भीमबहादुर धरालाका अनुसार खडेरीका कारण यस वर्ष डोल्पामा बर्खेबाली उत्पादनमा ५० प्रतिशत कमि आएको थियो।

खडेरीका कारण जुम्लामा पनि धान उत्पादनमा २० प्रतिशत र दलहन बालीमा ३० प्रतिशत कमि आएको छ। जुम्लालाई वार्षिक २० हजार टन खाद्यान्न आवश्यक पर्छ, जसमा स्थानीय उत्पादनको भर ७० प्रतिशत छ।

भोकमरी टार्न भारत

कृषिबाहेक परिवार पाल्ने अरू वैकल्पिक उपाय नभएकाले कर्णालीबाट यस वर्ष भारत जानेको संख्या बढेको छ। कात्तिकमा पाक्ने बाली खडेरीले नष्ट गरेको र जेठमा पाक्ने बाली लगाउनै नपाएपछि ३० घरधुरी भएको कालीकोटको नानीकोट उखाडी गाउँ सुनसान भएको छ। उखाडी गाउँका कटक बमका अनुसार, सिपखाना, मुम्रा, खिन, धौलागोह, थि्रपु, राम्नाकोट, जाँफे, छलाँहा, लार्फालगायतका गाउँ पनि पुरुषविहीन बनेका छन्। हिउँदे बाली लगाउन घर फर्केकाहरू पनि पानी नपरेपछि भारततिरै लागेको उनले बताए।

खडेरीले बाली लगेको वेला अरू काम केही पनि नभएपछि दक्षिणी हुम्लाका श्रीनगर, मैला, मदना, कालिका, जैर, दार्मा आदि गाविसका अधिकांश युवा भारत पुगेको मैलाका मानबहादुर रोकायाले बताए। उनका अनुसार, एउटा गाउँका कम्तीमा १० जना भारत गएका छन्। श्रीनगर र कालिकामा भने ग्रामीण पहुँच कार्यक्रम अन्तर्गतको सडक निर्माण कार्य सञ्चालन भएकाले अन्य गाविसको तुलनामा भारत जानेको संख्या केही कम छ। श्रीनगर–५ का दत्त विष्टका अनुसार, ती दुई गाविसका हरेक घरबाट एक जनाले मंसीरबाट सडकमा काम पाएका छन्, जसबाट चामल किन्ने पैसा जुटेको छ। मुगुको सोरु, खत्याड, भिई क्षेत्रका गाउँबाट भने ठूलो संख्यामा युवा भारत गएको भिईका सम्तपी बुमी बताउँछन्।

comments powered by Disqus

रमझम