७-१३ चैत २०७२ | 20-26 March 2016

महिन्द्रा को गस्टो

Share:
  

महिन्द्रा ले १२५ सीसीको गस्टो स्कूटर बजारमा आएको छ। नेपालका लागि अधिकृत बिक्रेता अग्नि समूहले बिक्री थालेको १२५ सीसी इन्जिनको यो स्कूटरले उकालोमा 'डबल लोड' बोक्न सक्ने दाबी गरिएको छ। आवश्यकता अनुसार सीटको उँचाइ पनि मिलाउन सकिन्छ। रिमोट फ्िलप की, फाइन्ड मी ल्याम्प तथा गाइड ल्याम्प, ट्यूबलेस टायर, १२ इन्चको चक्का, एयर स्पि्रङ्गसहितको फ्रन्ट टेलिस्कोपिक सस्पेन्शन, उच्च ग्राउन्ड क्लियरेन्स तथा चौडा ह्वील–बेस, बेस्ट–इन–क्लास राइड क्वालिटी यो स्कूटरका विशेषता हुन्।

यामाहा फेस अफ फासिनो

यामाहा मोटरसाइकल र स्कूटरको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेज्ले 'यामाहा फेस अफ फासिनो' प्रतियोगिता आरम्भ गरेको छ। यस अन्तर्गत मिस नेपाल २०१६ प्रतियोगिताको अन्तिम चरणमा छनोट भएका १९ प्रतियोगीलाई यामाहा को फेसबूक पेज र शोरुमबाट भोटिङ गर्न सकिने कम्पनीले जनाएको छ। भाग्यशाली एक भोटरले लक्की ड्रमार्फत यामाहा फासिनो स्कूटर जित्न सक्नेछन्।

कोबेल्को को एस्काभेटर

कोबेल्को कन्स्ट्रक्सन मेशीनरीको नेपालको अधिकृत बिक्रेता पूजा कन्स्ट्रक्सन नेपाल प्रा.लि.ले एसके–१४० एचडीएलसी एस्काभेटर सार्वजनिक गरेको छ। ईंटा कारखाना, सिंचाइ, सडक तथा अन्य निर्माणमा १४ टनको एस्काभेटरको माग बढेपछि एसके–१४० ल्याइएको कम्पनीले जनाएको छ। कोबेल्को कन्स्ट्रक्सन इक्वीपमेन्ट इन्डिया प्रालिका निर्देशक तथा कार्यकारी उपाध्यक्ष कोजी नाकागावाले काठमाडौंमा एस्काभेटरको नयाँ मोडल सार्वजनिक गरेका हुन्। उक्त अवसरमा कोबेल्को ले एक थान एस्काभेटर नेपाल सरकारलाई प्रदान गरेको थियो।

जस्मिन मा मह

चर्चित हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) जस्मिन पेन्ट्सको ब्रान्ड एम्बासडर बनेका छन्। 'नेपाली मनको नेपाली रंग' नारासहित आफ्ना उत्पादनलाई उपभोक्तामाझ पुर्‍याउने लक्ष्यले महलाई ब्रान्ड एम्बासडर चयन गरिएको पेन्ट्सका प्रबन्ध निर्देशक लक्ष्मणप्रसाद अर्यालले बताए। मनकामना ग्रुपको जस्मिन पेन्ट्स २०५१ सालमा स्थापित उद्योग हो।

नवौं 'एचआर मीट' हुँदै

मानव संसाधन र व्यवस्थापन सेवामा काम गर्दै आएको ग्रोथ सेलर प्रा.लि.ले १२–१३ चैतमा नवौं एचआर मीट गर्दैछ। कार्यक्रममा मानव संसाधन क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी विज्ञको उपस्थिति रहनेछ। कर्मचारी उत्प्रेरणाका माध्यमबाट उत्पादकत्व बढाउन मानव संसाधन शाखाको भूमिकाबारे मीटमा विशेष छलफल गरिने आयोजकले बताएका छन्।


सिटीजन्स ब्यांक इन्टरनेशनल लिमिटेडले झापाका दुई विद्यालय गरामनी–९ स्थित लक्ष्मीनारायण प्राथमिक र गौरादह–३, हाँसखोरास्थित सरस्वती प्राथमिकलाई एक–एक थान कम्प्युटर प्रदान गरेको छ। ब्यांकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलका अनुसार ब्यांकले सामाजिक उत्तरदायित्व अन्तर्गत यी सहयोग गरिएको हो। यसैबीच, ब्यांकले नयाँ कोर ब्यांकिङ सफ्टवेयर खरीद प्रक्रिया पनि शुरु गरेको जनाएको छ।

ब्यांक अफ काठमाण्डू (बिओके) ले प्यूठानको बिजुवार र दाङको भालुवाङमा शाखा खोलेको छ। २७ फागुनमा ब्यांकका संचालकद्वय सन्तवरसिंह थापाले बिजुवार र बलराम न्यौपानेले भालुवाङ शाखाको उद्घाटन गरे। दुवै शाखाबाट निक्षेप, कर्जा, रेमिट्यान्स, ब्यांक ग्यारेन्टीलगायतका सेवा उपलब्ध हुने ब्यांकले जनाएको छ। दुई शाखासहित बीओकेको कुल शाखा ५६ पुगेको छ।

नेपाल बङ्गलादेश ब्यांक लिमिटेडले धितोपत्र अभौतिकीकरणको शुरुआत गरेको छ। ब्यांकले २७ फागुनबाट सीडीएस तथा क्लियरिङ लिमिटेडबाट धितोपत्र अभौतिकीकरणको सदस्यता प्राप्त गरेको हो। सेवाग्राहीहरूले ब्यांकको मुख्य शाखा नयाँबानेश्वरबाट हितग्राही खाता खोलेर धितोपत्र तथा यससँग सम्बन्धित सेवा लिन सक्नेछन्।


ब्रान्डप्रेमको विस्तार

इमाडोल, ललितपुरकी प्रशंसा श्रेष्ठ (२५) कपडा किनमेलका लागि प्रायः दरबारमार्ग जान्छिन्। शेर्पा मल र टाइम्स स्क्वायर मलका साथै उनी कहिलेकाहीं सिभिल मल पनि पुग्छिन्। “सकेसम्म ब्रान्डेड लुगा नै खोज्छु”, स्नातकोत्तर अध्ययनरत उनी भन्छिन्, “बरु, अलि महँगै परोस्, तर टिकाउ होस् भन्ने लाग्छ।”

प्रशंसा जस्ता ब्रान्ड कन्सस् जमातलाई लक्ष्य गरेर नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डका पहिरन भित्र्याउने चलन बढेको छ। जोन प्लेयर्स, मोन्टे कार्लो, पिटर इङ्गल्यान्ड, बेनेटन लगायतका अन्तर्राष्ट्रिय ब्रान्ड खरीद गर्दै आएका उपभोक्ताको छनोटमा अब दा मिलानो इटालिया पनि आइपुगेको छ। करीब तीन महीनाअघिबाट दरबारमार्गस्थित क्यापिटल मलमा बिक्री थालिएको दा मिलानो को नेपाली 'आउटलेट' मा छालाका पर्स, पेटी, झोला, पञ्जा, आइप्याड ब्याग, भिजिटिङ कार्ड–केस आदि उपलब्ध छन्। ३० फागुनबाट नयाँ सामग्री थपिएका छन्। छालाका उत्पादनका लागि दा मिलानो विश्वमै कहलिएको इटाली ब्रान्ड हो।

दा मिलानो लाई नेपालीमाझ परिचित गराउने काम आरपी ग्रुपले गरेको हो। सन् २०१० मा स्थापित आरपी ग्रुपले दा मिलानो सँगै भारतीय ब्रान्ड इन्डियन टेरेन र टीसीएनएस क्लोथिङ लाई पनि बजारमा ल्याएको छ। ग्रुपका प्रबन्ध निर्देशक रुपेश पाण्डेका अनुसार, पुरुषले मनपराएको इन्डियन टेरेन र महिलाले रोजेको टीसीएनएस क्लोथिङ दुवैमा नेपालीको आकर्षण बढ्दो छ। “स्थानीय बजारमै ब्रान्डेड पहिरनमा छनोटको अवसर होस् भनी यस्ता ब्रान्ड भित्र्याएका हौं”, ग्रुपका प्रबन्ध निर्देशक पाण्डे भन्छन्, “रङ नखुइलिने र वारेन्टी हुने भएकाले ब्रान्डेड पहिरनप्रति नेपाली चासो बढ्दो छ।” उनका अनुसार ललितपुरको पुल्चोकमा निर्माणाधीन लबिम मलमा १ वैशाखबाट यी तीनै ब्रान्डका पहिरन उपलब्ध हुनेछन्।

अभिनेता अजित रायमाझी बजारमा ब्रान्डेडका नाममा नक्कली उत्पादन छ्यापछ्याप्ती भेटिने गरेकोमा दुःखी छन्। ब्रान्डेड ठानी महँगोमा किनेको लुगा बजारभरि सस्तोमा दुरुस्तै पाइने गरेको भेटेका उनी भन्छन्, “वास्तविक ब्रान्डेड कहाँ पाइन्छ भन्नेमा शंका लागेर विदेशबाटै लुगा झ्िाकाउने गरेको छु।”

विदेशबाट मगाउने वा उता गएका वेला किनमेल गर्ने धेरै नेपाली भेटेकैले ब्रान्डेड उत्पादन भित्र्याउने आवश्यकताबोध भएको आरपी ग्रुपका पाण्डेको भनाइ छ। उनका अनुसार, सेलिब्रिटी, व्यापारी, कूटनीतिक क्षेत्रका व्यक्तिलगायतले ब्रान्डेड सामान रुचाउने गरेका छन्। “पैसा खर्च गर्न सक्ने जमात नै हाम्रा लक्षित ग्राहक हुन्”, उनी भन्छन्।

सजना बराल

comments powered by Disqus

रमझम