आधुनिक दराज, र्याक, घर्रा, चेस्ट ड्रयर आदिमा सामान राख्न थालिएपछि काठ वा फलामका सन्दुक र टीनका ट्यांका विस्थापित हुन थालेका हुन्। दराज वा र्याकमा गहना, कागजात, लुगा राख्न सहज हुन्छ। तर, त्यहाँ घरका सबै किसिमका सामान अटाउन सक्दैनन्। यसैको व्यवस्थापनका लागि भित्री भण्डारण (हिडन स्टोरेज) क्षमताका फर्निचर निर्माण वा खरीद गर्न सकिन्छ।
बक्स खाटभित्र सिरक, डसना आदि राख्ने ठाउँ बनाए जस्तै अन्य फर्निचरमा पनि भण्डारण ठाउँ बनाउन सकिने थापाथलीस्थित फर्निचर ल्यान्ड स्टोरका अध्यक्ष मदनमान जोशी बताउँछन्। सोफा, साइड–टेबुल, बेन्च, कुर्सी आदिमा यस्ता भण्डारण बनाउँदा कोठाको 'स्पेस' बचाउन पनि सघाउने उनको भनाइ छ। “होम–फर्निचरलाई बहु–उपयोगी बनाउनु बुद्धिमानी हुन्छ”, जोशी भन्छन्।
असरल्ल सामान छर्नुभन्दा मिलाएर राखे कोठा चिटिक्क देखिन्छ। सामान राख्नकै लागि अहिले 'चेस्ट ड्रयर' पनि चल्तीमा छ। तह–तह खापेर बनाइने यस्ता ड्रयर हरेक दिन चाहिने सामग्रीका लागि उपयुक्त मानिन्छ। ड्रयरमाथि ऐना राखे ड्रेसिङ टेबुलको पनि काम गर्ने कमलपोखरीस्थित ड्रागन फर्निचरका आशिष तिवारी बताउँछन्। “फुट स्टुल, वाल युनिटमा पनि 'स्टोरेज' बनाउन सकिन्छ”, उनी भन्छन्।
'किङ साइज' का खाटमा भण्डारणका साथै अन्य चार–पाँच वटा ड्रयर पनि राखिएका हुन्छन्। भान्सा, शौचालय वा गार्डेनका फर्निचरमा पनि भण्डारण कक्ष बनाउन सकिन्छ। भान्साका फर्निचरमा भण्डारण बनाइएमा भाँडाबर्तन थन्क्याउन सकिन्छ। गार्डेनका फर्निचरमा कुटो, गमला, गार्डेन स्प्रेयर, डोरीलगायत सामग्री थन्क्याउन मिल्छ।
फर्निचरका भण्डारणमा सामान राख्न र निकाल्न भने अलि झन्झटिलो हुन्छ। तर, हलुका र नकोतरिने भएकाले यस्ता फर्निचर नै रुचाइन थालिएको छ। मोडुलर फर्निचरमा भने हाइड्रोलिक प्रविधि जडान गरिएकाले तिनमा भएका 'स्टोरेज' उघार्न र बन्द गर्न सजिलो हुन्छ।
सजना बराल