७-१३ चैत २०७२ | 20-26 March 2016

नक्शामा सीमित काष्ठमण्डप

Share:
  
काठमाडौंको इतिहास कहने काष्ठमण्डपको पुनःनिर्माण अझै थालिएको छैन।

गोपेन राई
भूकम्पले क्षति पुर्‍याएको ११ महीना भइसक्दा पनि काष्ठमण्डपको पुनःनिर्माण शुरु हुनसकेको छैन।
१२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त काठमाडौं–२० स्थित काष्ठमण्डप पुनःनिर्माणका लागि महानगरपालिकाले योजना बनाउँदै रु.३ करोड बजेट छुट्यायो। तर, सबैभन्दा पहिले पुनःनिर्माण थाल्ने भनिएको काष्ठमण्डप भत्किंदा जस्तो थियो, अहिले पनि त्यस्तै छ।

पूर्णरुपमा क्षति पुगेको काष्ठमण्डप मन्दिर क्षेत्रलाई अहिले तारजालीले घेरिएको छ। काठका भग्नावशेष र मूर्ति हनुमानढोका दरबारमा राखिएका छन्। ईंटा मन्दिर परिसरमा थुपारिएको छ।

भूकम्पपछि हनुमानढोका दरबारमा सुरक्षित राखिएका वसन्तपुर परिसरका सम्पदाको भग्नावशेष छुट्याउने काम भइरहेको छ। संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) को आर्थिक सहयोगमा दरबारभित्र राखिएका भग्नावशेषका सामग्री सम्पदा अनुसार छुट्याएर राख्ने काम भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सरस्वती सिंह बताउँछिन्। उनका अनुसार, यसका लागि इतिहासकारको सहयोग लिइएको छ।

काष्ठमण्डप कहिले बन्यो? लिखित इतिहास फेला परेको छैन। तर, 'नेपालका प्राचीन बज्राचार्य लीलावज्र (काष्ठमण्डप निर्माता)' पुस्तकका लेखक यज्ञमानपति बज्राचार्यका अनुसार, आजभन्दा करीब १२ सय वर्षअघि यो मन्दिर बनाइएको अनुमान छ। “एउटै सालको रुखबाट सिङ्गो भवन बनाइयो र यसैको नामबाट काठमाडौंको नामकरण गरियो भन्ने किंवदन्ती छ”, बज्राचार्य भन्छन्। मरुसत्तल पनि भनिने काष्ठमण्डपलाई देउता विनाको सत्तलको रुपमा निर्माण गरिएको उनको भनाइ छ। पछि विभिन्न राजाको पालामा मन्दिरको पहिलो तलाको चार कुनामा गणेश र भुईंतलामा गोरखनाथको मूर्ति राखिएको उनी बताउँछन्।

भूकम्पअघिसम्म तीन वटा छाना भएको काष्ठमण्डप मन्दिर मण्डप शैलीमा बनेको देखिन्थ्यो। चारैतिरको पर्खालमा रामायण, महाभारतका कथा कुँदिएको मन्दिरमा फलामको प्रयोग भएकोे थिएन। काष्ठमण्डपमा रहेको विश्राम घर (सत्तल) तिब्बतसँग व्यवसाय गर्न आउजाउ गर्ने व्यवसायीले विश्राम गर्न प्रयोग गर्दथे।

युनेस्कोले काष्ठमण्डपलाई विश्व सम्पदा सूचीमा राखेको छ। काष्ठमण्डपमा भाद्र कृष्णचतुर्दशीमा ताम्राकार जातिका मानिसले पूजा गरेर पञ्चदान गर्छन्। हरेक माघेसंक्रान्तिमा ज्यापू समुदायले काष्ठमण्डपको सत्तलभित्र होम गरी गजुरमा ध्वजा फेर्दै आएका छन्। स्थानीयहरू बिहान काष्ठमण्डपसँगै वसन्तपुर दरबार क्षेत्रको मन्दिर परिक्रमा गर्छन्।

पुरानै प्रविधि र आकार

महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ पुरातत्व विभागबाट नक्शा पाएलगत्तै काष्ठमण्डप पुनःनिर्माणको काम अघि बढाउने बताउँछन्। विभागका वरिष्ठ इन्जिनियर सम्पत घिमिरे मन्दिर पुनःनिर्माणका पक्षहरूबारे सरोकारवालासँग छलफल सकिएको बताउँछन्। उनी भन्छन्, “अब विज्ञहरूसँग बसेर अन्तिम रुप दिन मात्र बाँकी छ।” विभागको नक्शामा ९१६ वर्ग फीटको तीनतले मन्दिरको सबै भागमा नयाँ, पुराना काठको प्रयोग गरिनेछ। बाहिरी आवरण पुरानै शैलीको बनाउने तयारी छ।
सांसद् नवीन्द्रराज जोशी काष्ठमण्डपको पुनःनिर्माण पुरानै प्रविधि र सामग्रीले गर्नुपर्ने बताउँछन्। “काष्ठमण्डपसँग स्थानीयको संवेदना जोडिएको छ। त्यसैले डिजाइनदेखि सामग्री र बनाउने प्रक्रियालगायत सम्पूर्ण गतिविधिमा पारदर्शी हुनुपर्छ”, उनी भन्छन्।

काष्ठमण्डपको पुनःनिर्माण चाँडै र पुरानै ढाँचामा गरिनुपर्ने मरु ट्वा पुच क्लबका अध्यक्ष वसन्त श्रेष्ठ बताउँछन्। उनी भन्छन्, “स्थानीयले निर्माण कार्यको मूल्यांकन गर्नेछन्।”

ललितपुरको पुल्चोकस्थित त्रिवि, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक सुदर्शनराज तिवारी परम्परागत प्रविधि र सामग्री प्रयोग गर्दै कसरी बलियो संरचना बनाउन सकिन्छ भन्नेबारे अनुसन्धान गर्नुपर्ने बताउँछन्। “विश्वकै धरोहर काष्ठमण्डप बनाउँदा यो कुरा भुल्नुहुन्न”, उनी भन्छन्।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम