७-१३ चैत २०७२ | 20-26 March 2016

लामो उडानकी परी

Share:
  

जसै एसएलसी परीक्षा आउँथ्यो, त्यसअघिका 'बोर्डफर्स्ट' को चर्चा र प्रशंसा दोहोरिन्थ्यो। तर, दशकयता एसएलसीमा बोर्ड प्रणाली हटाइएसँगै उनीहरु विस्तारै स्मृतिबाट ओझेल पर्न थाले। २०५० सालकी बोर्डफर्स्ट गरिमा राणा पनि तिनैमध्ये एक थिइन्।

तर, २१ वर्षपछि फेरि उनै गरिमाको सम्झ्ाना गर्नुपरेको छ। यसपटक उनी साध्य होइन, साधन मात्र थिइन्। उनकी छोरी गौरिका सिंहले गत फागुनमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुद (साग) मा पौडीतर्फ एक्लैले चार पदक हत्याइन्। छोरीले आमाको नाम बिर्सन दिइनन्।

देशकी सपना

गौरिकाले सागमा २०० मीटर इन्डिभिजुवल मिड्लेमा रजत तथा ४०० मीटर फ्री स्टाइल, १०० र २०० मीटर ब्याकस्ट्रोकमा राष्ट्रिय कीर्तिमानसहित कास्य पदक जितिन्। पछिल्ला दुई वर्ष स्वदेशमै भएको १९औं र २०औं राष्ट्रिय युवा खुला पौडी प्रतियोगिता हेर्नेका लागि गौरिकाको यो प्रदर्शन अस्वाभाविक थिएन, जहाँ उनले राष्ट्रिय कीर्तिमानसहित क्रमशः ७ र ६ स्वर्ण जितेकी थिइन्। तर, दक्षिणएशियाका अनुभवी खेलाडीमाझ्ा १३ वर्षीया किशोरीको यो उपलब्धिले भने धेरैलाई चकित तुल्यायो। त्यसो त उनी गत साउनमा रसियामा भएको कजन वर्ल्ड च्याम्पियनसिप र कात्तिकमा दुबईमा सम्पन्न फिना वर्ल्ड च्याम्पियनसिपमा दुई–दुई वटा राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी थिइन्।

गौरिकाको असाधारण प्रतिभाको सूत्र भनेको निरन्तर प्रशिक्षण नै हो। आमाबुबासँग बेलायतको लण्डनमा बस्दै आएकी उनी दुई वर्षदेखि बरनेट कोप्थल स्वीमिङ क्लबमा पौडी सिकिरहेकी छन्। प्रशिक्षणलाई निरन्तरता दिन विभिन्न प्रतियोगितामा भाग लिनैपर्ने क्लबको नियमले नै गौरिकालाई पदकको भोको बनाइरहेको छ। “यसका लागि म हरेक साताजस्तो बेलायतका विभिन्न शहरमा हुने प्रतियोगितामा भाग लिन्छु”, उनी भन्छिन्।

२८ अप्रिलदेखि आयरल्याण्डमा हुने आइरिस ओपन स्वीमिङ च्याम्पियनसिपमा गौरिकाले नै नेपालको प्रतिनिधित्व गर्दैछिन्। अन्तर्राष्ट्रिय पौडी महासंघ (फिना) बाट मान्यताप्राप्त त्यो प्रतियोगितामा आर्जन गरेको 'फिना पोइन्ट' अगस्टमा ब्राजिलमा हुने रियो ओलम्पिकमा छनोटका लागि समेत उपयोगी हुनेछ। मेको अन्त्यमा नेपाल पौडी संघले 'फिना पोइन्ट' का लागि खेलाडीको नामावली पठाउँदैछ।

कलिलै उमेरमा देशको प्रतिनिधित्व गर्न पाउनुलाई भाग्य ठान्ने गौरिका यस्तो अवसरले थप मिहिनेत गर्ने प्रेरणा मिलेको बताउँछिन्। प्रशंसाले हौसिएकी उनी भन्छिन्, “देशकै सहयोगले म यहाँसम्म आएकी हुँ, यस्तै माया पाइरहे देशलाई अझ धेरै पदक दिनेछु।”

चिकित्सक बुबा डा. पारस सिंह र आमा गरिमा छोरीलाई पौडीकी 'लामो दौडकी घोडा' बनेको देख्न चाहन्छन्। गरिमाको भनाइमा, प्रशिक्षकहरूले गौरिकाको शरीर बलियो हुन अझै चार–पाँच वर्ष लाग्ने र त्यसपछि उसले उत्कृष्ट नतीजा दिने बताएका छन्। “गौरिकाको 'वेस्ट पर्फमेन्स' का लागि अझै पाँच वर्ष कुर्नुपर्ने प्रशिक्षकहरूले बताएका छन्”, गरिमा भन्छिन्, “त्यसपछि उसले देशको नाम अझ उजिल्याउने हाम्रो विश्वास छ।”

गौरिकाका लागि प्रत्येक प्रतियोगितामा अघिल्लो भन्दा राम्रो खेल्ने अठोट हुने गर्छ। “त्यसका लागि म आफैंसँग प्रतिस्पर्धा गरिरहेकी हुन्छु”, उनी भन्छिन्, “यसले कडा प्रतिस्पर्धामा पनि जितका लागि आत्मविश्वास बढाउँछ। बालखैदेखि सफलताको स्वाद चाखेकी गौरिका देशकी गर्व मात्रै होइनन्, सपना पनि हुन्। तर, सपना पूरा गर्न उनी मात्र होइन, पूरै देश एकाकार हुनुपर्छ।

सन्त गाहा मगर

comments powered by Disqus

रमझम