२७ फागुन २०६९ | 10 March 2013

'व्यवसायको वातावरण भएन'

Share:
  

मुलुकको अर्थतन्त्रलाई गतिशील बनाइराख्ने बजार–व्यवस्थाको सबैभन्दा तल्लो तहमा कार्यरत रहने गर्छ– खुद्रा व्यापार। ग्राहक (उपभोक्ता)सँगको सीधा सम्पर्कमा रहने यो कारोबार पछिल्ला दिनमा खुम्चिएको महसूस भइरहेको छ। मुलुकका विभिन्न १२ शहरका ३७५ उत्तरदाता (खुद्रा व्यापारी) माझ् गरिएको सर्वेक्षणमा सोधिएको 'पहिलेको तुलनामा तपाईंको कारोबार कस्तो चलिरहेको छ?' भन्ने प्रश्नमा ३४.२ प्रतिशतले राम्रो नभएको बताएका छन् भने 'राम्रो छ' भन्नेको संख्या २७ प्रतिशत छ। 'उस्तै छ' भनेर कुनै गुनासो गर्न नचाहनेहरू चाहिं ३८.२ प्रतिशत छन्।

विकास क्षेत्रगत आधारमा मध्यपश्चिमका उत्तरदातामध्ये 'राम्रो छ' भन्नेको संख्या सर्वाधिक ४० प्रतिशत छ। सर्वेक्षणमा समेटिएका दाङ र नेपालगञ्जका उत्तरदाताबाट आएको यस्तो जवाफले त्यस क्षेत्रमा केही हदसम्म आर्थिक क्रियाकलाप विस्तार भएको संकेत गर्दछ।

कारोबार हिजोजस्तै भएको वा राम्रो नभएको बताउनेहरूलाई सोधिएको 'के कारणले तपाईंले सोचेजस्तो कारोबार हुन नसकेको हो?' भन्ने प्रश्नमा सर्वाधिक ४०.२ प्रतिशतले 'व्यवसायको वातावरण नै नभएकाले' भनेका छन् भने ३३.२ प्रतिशतको बुझाइमा 'ग्राहक नआएकाले।' मुलुकको आयात व्यापार आकाशिंदै गएको अवस्थामा खुद्रा व्यापार नचल्नुमा 'ग्राहक नआउनु' भन्ने जवाफले बजारको एउटा ठूलो हिस्साको खपत कतै सानो संख्यामा रहेका मानिसहरू (आर्थिक रूपमा सबल) बाट मात्र भइरहेको होइन भन्ने सम्भावनातर्फ संकेत गर्दछ। आयातीत वस्तु बिक्री त हुन्छ, तर 'मास'मा होइन 'क्लास'मा मात्र । यसबाट समाजमा धनी र गरीबको खाडल बढ्दै गएको तस्वीरतर्फ संकेत मिल्छ।

व्यवसायको वातावरण नभएको र ग्राहक नआउने समस्या बेहोर्ने खुद्रा व्यापारीहरू लोडसेडिङका कारण कारोबार समय खुम्चाउन बाध्य छन्। नेपालगञ्ज, बुटवल, वीरगञ्ज, काठमाडौं र विराटनगर बाहेक सालाखाला ७ बजेसम्म अरू सबै शहरका बजार सामसुम भइसक्छन्। २९.१ प्रतिशत उत्तरदाताको भनाइमा लोडसेडिङका कारण कारोबार चाँडै बन्द गर्नु परेको हो।


तथ्यांकशास्त्री बालकृष्ण खड्काको नेतृत्वमा देशभरका १२ शहरमा हरेक साता गरिने यस सर्वेक्षणका लागि द एशिया फाउण्डेशनको सहयोग रहेको छ।

सम्पादक

comments powered by Disqus

रमझम