७-१३ चैत २०७२ | 20-26 March 2016

शरणार्थी आवाज

Share:
  
स्वदेश फिर्तीको माग सम्बोधन नभए पनि भूटानी शरणार्थीले संगीतमार्फत आफ्ना आवाज सुनाइरहेका छन्।

'आकाशैमा चील उड्यो', 'लुटेर लग्यो', (महेश थुलुङ), 'के भयो माया माग्दा' (अर्जुन रसाइली), 'पूर्णिमाको चन्द्रमालाई' (लोकेश गुरुङ) जस्ता आधुनिक गीत युवामाझ रुचाइएका छन्। शब्द, संगीत र स्वर फरक फरक भए पनि तीनै गीतमा एउटा समानता छ– सबैका गायक भूटानी शरणार्थी हुन्।

किशोर शिवाकोटी

संयुक्त राष्ट्रसंघको पुनर्वास कार्यक्रमका क्रममा अमेरिका र यूरोपका विभिन्न मुलुक पुगेका कतिपय भूटानी शरणार्थी नेपाल आउनुमा संगीत कारक बनेको छ। नेपालमा धमाधम गीत रेकर्ड गरी अल्बम बोकेर फर्कने शरणार्थीको संख्या बढ्दो छ।

उदाहरण हुन्, किशोर शिवाकोटी। उनी अमेरिकाबाट नेपाल फर्कनुको एउटै कारण थियो, अल्बम निकाल्नु। १५ वर्षसम्म पूर्वी नेपालमा शरणार्थी जीवन विताएका उनी २०६४ सालमा पुनर्वासको क्रममा अमेरिका लागेका थिए। “नेपाल छँदै संगीतको रस पसेको थियो”, एक महीनाको बसाइपछि पुनः अमेरिका फर्किसकेका उनी भन्छन्।

सहकार्यबाट समृद्धि

भूटानी शरणार्थीको नेपाल भ्रमणले उनीहरुको रुचिलाई मात्र होइन यहाँका रेकर्डिङ स्टुडियो, अरेञ्जर, संगीतकार, रचनाकार तथा गायकगायिकालाई समेत भरथेग गरिरहेको छ। “कतिले उतैबाट आवाज रेकर्ड गरी पठाएर नेपालबाटै बाँकी काम गराउँछन्”, काठमाडौंस्थित संगम रेकर्डिङ स्टुडियोका रेकर्डिस्ट मित्र लामा भन्छन्, “उनीहरुले गर्दा थुप्रै रेकर्डिङ स्टुडियो धानिएका छन्।”

लोकेश गुरुङ

गायक स्वरुपराज आचार्य भूटानी संगीतकर्मीको लगनबाट प्रभावित छन्। “सत्य र मैले भूटानी संगीतकर्मीसँग काम गरिरहेका छौं”, उनी भन्छन्, “उनीहरुको लगाव र अभ्यासले हामीलाई समेत मिहिनेत गर्न झक्झक्याउँछ।”

ए–वान म्युजिसियन स्टुडियोका रेकर्डिस्ट साजन साह पनि पछिल्लो समय भूटानी संगीतकर्मीकै 'प्रोजेक्ट' मा व्यस्त छन्। उनी भन्छन्, “अहिले विदेशतिरकै कामले स्टुडियो भरिन्छ।”

संगीतकार न्ह्यू बज्राचार्य यसले नेपाली संगीतलाई नै समृद्ध बनाउन सहयोग गरिरहेको बताउँछन्। “हाम्रा कतिपय चर्चित गायकगायिका भन्दा राम्रो गाउन सक्ने भूटानीहरू छन्”, संगम स्टुडियोका लामा भन्छन्, “उनीहरू धेरै अभ्यास गरेर मात्र स्टुडियोमा आउँछन्।”

महेश थुलुङ

महेश थुलुङ, खेम रिजाल, मनोज राई, लीला शिवाकोटी, अम्बर सुब्बा, अर्जुन रसाइली, किरण गजमेर, कान्छीमाया सुब्बा, मनिष अधिकारी, बिकु गुरुङ जस्ता भूटानी गायकगायिका, संगीतकार तथा गीतकार नेपाली संगीतमा सक्रिय छन्। उनीहरूमध्ये केही त अल्बम विमोचनका लागि समेत नेपाल नै आउँछन्। “भाषा, संस्कृति मिल्ने भएकाले नेपालमै कला देखाउने ठाउँ पाएका छौं”, गीतकार खेम रिजाल भन्छन्, “अल्बम बेचेर पैसा जोड्नेभन्दा पनि तिर्सना मेट्न पाएकोमा खुशी लाग्छ।”

सजना बराल

comments powered by Disqus

रमझम