७-१३ चैत २०७२ | 20-26 March 2016

सुरजको सेवा

Share:
  

गोपेन राई

अमेरिकामा व्यापार विषय पढ्दाताका सुरज श्रेष्ठ (२९) 'टम्स शू' को एकमहीने अभियानमा सामेल भएका थिए। क्यालिफोर्नियाको उक्त नाफामुखी संस्थाले जति जोर जुत्ता बेच्यो उति नै जोर जुत्ता अनाथ बालबालिकालाई दान दिने अभियान चलाएको थियो। व्यापारको यो शैली सुरजलाई निकै घत पर्‍यो।

सन् २०१४ मा नेपाल फर्किएका सुरजले स्वदेशमा पनि ठ्याक्कै त्यसै गरे। एन्थ्रोपस नामक आई–वेयर कम्पनी खोलेका उनले तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा चश्मा बेच्न र, नाफाले बिरामीको उपचार गराउन थाले। “अहिलेसम्म हामीले ६२ जनाको निःशुल्क शल्यक्रिया गराएका छौं”, उनी भन्छन्।

दातामुखीभन्दा नाफामुखी परियोजना दिगो हुनेमा विश्वास राख्ने सुरज दाताले छोड्यो कि परियोजना बन्द हुने अवस्थाको अन्त्य चाहन्छन्। “यसका लागि अरुको मुख ताक्ने प्रवृत्ति बन्द गर्नुपर्छ”, उनी भन्छन्।

सहिना श्रेष्ठ


राग 'नैपाल'

गोपेन राई

यलमाया क्लासिकको ११८औं श्रृंखलामा शास्त्रीय गायक श्रीराम आचार्य (६५) ले 'राग नैपाल' मा आधारित तीन वटा गीत सुनाए। 'राग सागर' पुस्तकमा यो राग भेटेपछि आचार्य आकर्षित भएका थिए। “नेपालको नामसँग मिल्दो भए पनि यो रागको उत्पत्तिबारे खोज हुनै बाँकी छ”, शास्त्रीय गायनमा संगीतप्रवीण आचार्य भन्छन्।

सिन्धु थाटको यो राग गाउँदा आचार्यलाई बदन मण्डल, सुनील दाहाल र नोर्छेन लामाले सघाएका थिए। पद्म कन्या क्याम्पसका सहप्राध्यापक आचार्यले गायन यात्रा थालेको पाँच दशक भयो। उनले 'संगीतामृत' नामक पुस्तक पनि लेखेका छन्।

सजना


निर्देशक मेनुका

चलचित्र, नाटक, विज्ञापन आदिमा देखिने सम्पूर्ण दृश्य सामग्री व्यवस्थापनको जिम्मा कला–निर्देशकको हुन्छ। थैब, भक्तपुरकी मेनुका राई (२८) नयाँ कला–निर्देशक हुन्।

मेनुकाले गत वर्ष चलचित्र 'सुन्तली' मार्फत कला–निर्देशनमा हात हालेकी थिइन्। सिर्जना कलेज अफ फाइन आर्टस्मा स्नातक सकेर उनी एनिमेशन, ग्राफिक डिजाइनमा व्यस्त थिइन्। 'मुखौटा', 'कालो पोथी', 'प्रेम गीत' जस्ता चलचित्र र 'र माइलो' नाटकमा समेत कला निर्देशकको जिम्मेवारी सम्हालेकी उनी भन्छिन्, “निर्देशन थालेपछि अरू काम छोडें।”

चलचित्र र नाटकले कला निखार्न सघाइरहेको बताउने मेनुका ढिलै भए पनि कला निर्देशनको महत्व कदर गर्न थालिएकोमा दंग छिन्। “गर्न धेरै बाँकी छ, तर शुरुआतबाट असन्तुष्ट छैन”, उनी भन्छिन् ।

comments powered by Disqus

रमझम