१४-२० चैत २०७२ | 27 March - 2 April 2016

नेपाली बाइबल

Share:
  
- क.दी.
बाइबल (न्यू टेस्टामेन्ट) को भाषा कुनै नेपालीले बोल्ने जस्तो थिएन र नबुझेर नै होला त्यो किताब चलेन।

उदेकलाग्दो कुरा छ। नेपाली भाषामा सबभन्दा पहिले मुद्रित पुस्तक नेपालमा छापिएन। इण्डियामा छापियो। त्यो पनि नेपालीको प्रिय थलो, काशीमा होइन बङ्गालमा छापियो; श्रीरामपुरमा। धार्मिक पुस्तक थियो त्यो तर हिन्दू अथवा बौद्ध होइन; क्रिश्चियन धर्मको, बाइबल (न्यू टेस्टामेन्ट)। समय थियो झ्ण्डै दुई सय वर्षअघि, सन् १८२१। त्यसको एक वर्षअघि मात्र सन् १८२० मा कलकत्तामै सर्वप्रथम नेपाली व्याकरण प्रकाशित भएको थियो फोर्ट विलियमबाट अंग्रेजीमा। कुनै जे.ए. एटन भन्ने बेलाइती सज्जनले त्यो व्याकरण तयार पारेका थिए। एटनलाई त्यो व्याकरण बनाउन सम्भवतः नेपाली भाषामा बाइबल अनुवाद गराउनलाई नै भनेर लगाएको थियो कम्पनी सरकारले। किनभने व्यापार गर्न भनेर यता आएको इष्ट इण्डिया कम्पनीले अब यहाँ शासन गर्ने कम्मर कसिसकेको थियो। र त्यो गर्न महत्वाकांक्षी गोर्खाली (या नेपाली) लाई कज्याउनु या मित्र बनाउनु उसलाई आवश्यक थियो।

माथिको दफा भूमिका बाँधेको मात्र हो। नेपाली भाषाका पुस्तकहरूको चर्चा गर्दा 'पुस्तक सम्पदा' मा पनि क्रिश्चियनहरूको धर्मग्रन्थ 'बाइबल' को नाम छुटाउन मिल्दैन। हुन त सन् १८२१ को त्यो 'नयाँ धर्म पुस्तक' (न्यू टेस्टामेन्ट) ले नेपाली जातिलाई उति सारो प्रभाव पारेको बुझिन्न। किनभने, त्यसको भाषा कुनै नेपालीले बोल्ने जस्तो थिएन र नबुझेर नै होला त्यो किताब चलेन। तर, त्यसको ८० वर्ष जतिपछि पादरी गङ्गाप्रसाद प्रधानले अनुवाद गरेका बाइबलका पुस्तकले दार्जीलिङ वरिपरि निकै प्रसिद्धि पाए। पादरी गङ्गाप्रसादले आफ्ना किताबमा त्यसै भेकमा बोलिने पर्वते भाषा प्रयोग गरे, साहित्यिक 'काशीभाषे बोली' पछ्याएनन्। भर्खर भर्खर दीक्षित नेपाली क्रिश्चियनहरूले उनका 'पुरानो' र 'नयाँ' 'धर्म पुस्तक' हरू मन पराए, र ती खूब चले। हुन पनि, सेरामपुर मिसनेरीको 'द होली बाइबल' को कसैले नबुझने यस्तो नेपाली–

“तिमिलेई मं मानस पकरनेवाला माझि गरूला। उनौले चांडेई जाललाई छोडिकन उसका पछीर गया। उस्रुले उस्रुठांउदेखि आंदार आफ्ना बाबु जेवदिका संग नाउमा जाल मरामत गरुर्दा दोई भाईलाई देख्यो अर्थ जेबदिको पुत्र यआकुबलाई अबर उसका भाई येदनलाई आवर उनलाई डाक्यो। अवर उन चांडै नाउ अवर आफ्रुना बाबुलाई छाडिकन उस्का पछी गया” को तुलनामा पादरी गंगाप्रसादको भाका धेरै सुपाठ्य र रसिलो लाग्यो होला। गंगाप्रसादले यसरी लेखेः “...आफ्नु दूत्लाइ मैं येशूलेनै पठाइदियें तिमिहरूलाइ मंडलीहरूको लागि यि कुराको साक्षी दिनुलाइ। दाउदको जरा र सन्तान् बिहान्को चम्कीलो तारा मैं हुं।।...” (२२ अध्याय प्रकाश् पृ. २०२)।

न सेरामपुरको न गंगाप्रसादको कुनै बाइबल छिर्न सकेको थियो नेपालभित्र त्यतिवेला। त्यसै हुँदा गंगाप्रसादको भाका र व्याकरणले पनि नेपालभित्र आफ्नो प्रभाव कत्ति पनि देखाउन सकेन। तर दार्जीलिङ क्षेत्र र त्यसका पूर्वतिर भने नेपाली भाषाको एक प्रकारको रूप नै बसालिदिएका थिए सन् १९०२ र १९१४ का ती 'नयाँ र पुराना धर्मपोस्तक' ले।

त्यस कुराले काशी र कलकत्तामा पठनपाठन गरेका नेपालका रैथाने ब्राह्मण युवाको मन पोलेको हुनुपर्छ। उनीहरूको प्रतिनिधि जस्ता भएर तीन जना नेपाली युवक 'काशी–भाषे' नेपाली अथवा मानक नेपाली भाषाको बचाउ गर्न जुर्मुराए; हेमराज पाण्डे, राममणि र विश्वमणिहरू। राममणि र विश्वमणिका सल्लाहले विश्वमणिको 'गोरखा व्याकरण' बोध निस्क्यो भने हेमराजले आफ्नै 'चन्द्रिका' निकाले नेपालमा। यी दुई पुस्तकको जेठकान्छीको कुरामा केही विवाद छ तापनि १९७० सालको आसपास नै यी दुवै छापिएका हुन् भन्नेमा विवाद छैन। हेमराजको 'चन्द्रिका' व्याकरणलाई महाराज चन्द्रशमशेरले सरकारी मान्यता दिएपछि राममणिको अध्यक्षताको गोरखा भाषा प्रकाशिनी समितिले पनि अंगीकार गरुर्‍यो। त्यसपछि दार्जीलिङका काशीभाषे नेपालीका समर्थक 'सूधपा'–ले पनि त्यसलाई स्वीकारे। अनि पछि त त्यताका पाठ्यपुस्तकहरू सबै त्यही बमोजिम छापिन थालिहाले र गंगाप्रसादको भाषाको प्रभाव घट्दै गयो। केही समयपछि त्यो शून्य नै भयो! नेपाली पुस्तक–सम्पदाको यस लहरमा गंगाप्रसादको 'बाइबल' को छनोट हुनाको कारण चाहिं त्यत्ति हो– नेपालबाहिर पूर्वतिर नेपाली भाषाको स्वरूप निर्धारण गर्न करीब आधा शताब्दी जति त्यस किताबले खेलेको भूमिका। पछिपछि त्यो भाषा परिमार्जित हुँदै गयो, त्यो भिन्दै कुरा हो।

मदन पुरस्कार पुस्तकालयमा नेपाली बाइबलका या क्रिश्चियन धर्मका साना–ठूला, मोटामसिना गरी ५० ओटा जति किताब छन्। तर ती सबै अलि पैलेका हुन्। अचेल निस्केका किताब मपुपु–मा धेरै आइपुगेका छैनन्। तर आउनुपर्ने हो।

comments powered by Disqus

रमझम