बंगलादेशको वसन्त

Share:
  
- देव मुखर्जी
गौरवपूर्ण इतिहासको स्वामित्व ग्रहण प्रक्रियामा छ, बंगलादेशी वसन्तको यो समय।

तस्बिरः एपी
युद्धअपराधी जमात ए इस्लामीका नेता अब्दुल कादिर मोल्लाहलाई मृत्युदण्ड दिनुपर्ने माग गर्दै
बंगलादेश अहिले विद्यार्थी शक्ति विस्फोटको साक्षी बनिरहेको छ। विद्यार्थी आन्दोलनको यो उभार ४१ वर्षअघि सन् १९७१ को स्वतन्त्रता संग्रामताका देशवासीमाथि थोपरिएको अकल्पनीय युद्ध अपराधको तुषसँग जोडिएको छ। युद्ध अपराधीहरूमाथि मुद्दा चलाउन गठित अदालत (वार क्राइम ट्राइव्युनल) ले अहिलेसम्म दुई जनालाई सजाय तोकेकोमा मृत्युदण्ड सुनाइएका एक जना पाकिस्तान भागेको विश्वास गरिन्छ भने अर्का एक जना आजीवन काराबासमा छन्। ट्राइव्युनलको फैसलापछि एकातिर सबै युद्ध अपराधीमाथि कठोर सजायको मागसहित चारैतिरबाट आन्दोलनको सुनामी उठ्दैछ भने अर्कातिर आफ्ना प्रमुख नेताहरू निशानामा पर्दा बन्द आह्वान गरेको 'जमात ए इस्लामी' पार्टीले स्थितिलाई अझ् आफू प्रतिकूल बनाएको छ।

१९७१ मा पाकिस्तानी सेनाको पाशविक हमलाबाट भ्रममुक्त पार्नु अघिसम्म बंगलादेशमा पश्चिमी पाकिस्तानप्रति वफादारहरू पनि थिए नै। तीमध्ये कतिपयले पाकिस्तानी सेनालाई आफ्नै भूमिमा हमलाका लागि उक्साउने, सहयोग गर्ने कृत्य गरे। तीमध्ये धेरैजसो जमातकै चल्तापुर्जाहरू थिए, जसको खोजी आज हुँदैछ। स्वतन्त्रतापछिको सरकारले शत्रु सेनासँग साँठगाँठ गर्नेहरूप्रति आँखा चिम्लिंदाको परिणाम हो, आजको बंगलादेशी भावनाको विस्फोट। त्यसपछिका सैनिक सरकारहरूले ती तत्वलाई देशको राजनीतिमा थोक ढंगले पुनरोदय गराए। बंगलादेश नेशनलिष्ट पार्टी (बीएनपी) र अवामी लिग (एएल)ले पनि परिस्थिति हेरेर जमातलाई ठाउँ दिनुमै नाफा देखे।

बंगलादेशीहरू त्यतिबेला त हतप्रभ नै भए, जब जमातका केही नेताले १९७१ को रगत हातमा लिएरै मन्त्री हुने अवसर पाए, २००१–२००६ को बीएनपी–जमात गठबन्धन सरकारमा। त्यो त्यही समय थियो, जतिखेर सरकारको गुप्त साँठगाँठ र उदासीनताले बंगलादेशलाई करीब–करीब इस्लामिक अतिवादको रसातलमा पुर्‍यायो।

स्वतन्त्रता संग्रामको बीजारोपण गरेको १९६० को विद्यार्थी आन्दोलनलाई मार्गनिर्देश गर्ने सिद्धान्तहरू त्यसपछिका विषाक्त राजनीतिको संक्रमणमा पर्दै जाँदा जमातले १९७१ को कृत्यको जयघोष गर्‍यो। युद्ध अपराधीहरूलाई कानूनको दायरामा ल्याउने सांकेतिक जनअदालत स्थापना गरेकी 'शहीदकी आमा' जहानारा इमाममाथि राजद्रोहको बात लगाइयो। कुनै सरकारले स्वीकार नगरेको उनको अभियानलाई जनताले भने नबिर्सेको अहिले देखिएको छ। आन्दोलनले जहानाराको अभियान र १९७१ को भावनालाई जीवित बनाएको छ। ट्राइव्युनलमार्फत उकुसमुकुसको निकास खोजेका बंगलादेशी युवाले हराएको आफ्नो सम्पदामा स्वामित्व खोजेका छन्।

प्रमुख प्रतिपक्षी बीएनपी भने यतिबेला अप्ठ्यारो ठाउँमा उभिन पुगेको छ। गत निर्वाचनमा जमातसँग राजनीतिक समझ्दारी गरेको बीएनपीले आफ्नै एक प्रमुख नेता आरोपीमा परेकोले हुनसक्छ, ट्राइव्युनलको स्पष्ट समर्थन गरेको छैन। बरु, यसको प्रक्रियागत कमजोरीहरूलाई जोडतोडका साथ उठाउन जाँगर देखाएको बीएनपीले यो मुद्दाबाट अवामी लिग सरकारले राजनीतिक फाइदा लिन खोजेको बताइरहेको छ।

अहिलेको जनविद्रोहप्रतिको बीएनपीको पहिलो औपचारिक प्रतिक्रियामा सरकारले जारी प्रदर्शनहरूको आगोमा हात सेकाउन खोजेको आशय छ। उसले सीमा अतिक्रमण र केही समयअघि भारतीय सीमा सुरक्षा बलको गोलीबाट एक बालिकाको हत्या भएको घटनामा भने सरकार संवेदनशील नरहेको भावनात्मक विषय पनि उठाउन खोजेको छ, अक्टोबर २०१२ मा बीएनपी प्रमुख खालिदा जियाले भारत विरोधी 'प्रोपोगाण्डा'लाई निरुत्साहित पार्न जनाएको प्रतिबद्धता विपरीत।

आन्दोलन 'फासिष्ट' शैलीमा नजाओस् भन्ने चिन्ता पनि देखाएको बीएनपीले जनताको मनोविज्ञानको तीव्र धार बुझेर हुन सक्छ, विद्यार्थीको मागप्रति समझ्दारी देखाएको छ, तर अवामी लिग सरकारको कुशासनलाई पनि एजेण्डा बनाउँदै। बीएनपीले आन्दोलनको प्रवाह मोड्न सक्ने चाहिं देखिन्न। आन्दोलनमा उठेको 'जोय बंगला' नाराबाट बीएनपी खुशी छैन। बंगलादेशी जनताले भने यो नारा अवामी लिगको पेवा हैन, बरु १९७१ को युद्ध उद्घोष हो भन्ने तथ्य बिर्सेका छैनन्। सेख मुजिवको हत्या लगत्तै यो उद्घोषलाई पाकिस्तानी कलविष 'बंगलादेश जिन्दावाद'ले विरुप पारेको मात्र हो।

अहिलेको आन्दोलनको आयाम पार्टीहरूको राजनीति र राजनीतिज्ञहरूको खेलभन्दा निकै व्यापक छ। यो त राजनीतिको भविष्य र बंगलादेशीपन स्थापनाको लागि हो, जसमा खुला, बहुलवादी समाजप्रतिको बंगलादेशी जनताको चाहना र प्रतिबद्धता प्रतिबिम्बित छ। र, बीएनपी यो हावाको दिशा परिवर्तन गर्न चाहन्छ। अवामी लिगलाई भने यो स्वस्फूर्त वहावमा राजनीतिको रंग मिसाउने दुष्प्रयास नगर्ने सल्लाह राम्ररी दिइएको जस्तो देखिन्छ।

हावाको दिशा परिवर्तन गरेर राजनीतिक दुनो सोझयाउने प्रयासहरू हुन सक्छन्। तर बंगलादेशले हल नहुने अतिवादहरूलाई समेत किनारा लगाउने अठोट गरेको छ। रजाकर (शत्रु सेनालाई सघाउने) हरूलाई गोलमटोल सम्बोधन भइरहेसम्म यो प्रयास कठिन हुनेछ। न भारत भाग्न पाएका न त स्वतन्त्रताको लडाइँमा सक्रिय सहभागी हुनसकेका जनताको अवस्था नियाल्दै एक जना पत्रकारले १९७२ मै भनेका थिए– '६ करोड ४० लाख रजाकर!' उनीहरू त्रासमा पीडा पिउँदै चुपचाप बस्न बाध्य भए। अहिलेको सरोकार तिनमा हो जो त्यसबेला राष्ट्रको उदय रोक्न कम्मर कसेर लागे, त्यही भित्र लुट, बलात्कार र आम हत्याका मतियार बन्दै वैभव र प्रभाव हासिल गरे। यो परिवेशमा उठेको धर्ममा आधारित पार्टीहरू हुनुहुन्न भन्ने बंगलादेशी युवाको माग सर्वाधिक महत्वपूर्ण छ।

१९७१ ले बंगलादेशमा समुदाय पिच्छे फरक अर्थ राख्छ। कतिपय भारतीयहरूका लागि यो शत्रु पाकिस्तानमाथिको विजय हो। त्यसबेला बंगलादेशमा भएको अत्याचार स्वीकार्ने पाकिस्तानी कमै छन् र धेरैले त्यसलाई हिन्दू भारतको करामत ठान्छन्। यस्तो विचार राख्नेहरू बंगलादेशमै पनि रहेका केही वर्षअघि एक जना पूर्व मन्त्रीकै मुखबाट सुनिएको थियो। बंगलादेशीका लागि १९७१ को नौ महीना दुर्गतिपूर्ण रह्यो। केही भारततिर भागे, धेरैलाई नृशंस ढंगले मारियो र महिला अस्मितामाथि दीर्घकालीन अपमानबोध हुने गरी खेलबाड गरियो। अनि त्यहाँ पाकिस्तानी सेनाका बंगाली सिपाही, किसान र विद्यार्थीहरू पनि थिए जसले आफ्नो मातृभूमिको रक्षाका लागि हतियार उठाएर जीवन आहुति दिए।

अहिले हामी बंगलादेशमा जे देखिरहेछौं त्यो, एक जना प्रसिद्ध पत्रकार तथा स्वतन्त्रता सेनानीले भने झै 'इतिहासमा जनताको स्वामित्व पुनर्स्थापना' हुने माहोल हुनसक्छ। आन्दोलनमा आएका युवाले आफूहरू देशको स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्नेहरूको ऋण चुकाउन अग्रसर भएको बताएका छन्। बंगलादेशमा वसन्तले उसै पनि रगत र प्राप्तिको सम्झ्ना लिएर आउने गर्छ। २१ फेबु्रअरी १९५२ का भाषा शहीदहरूले बगाएको रगत पछिल्ला वर्षहरूमा स्वतन्त्रताको दिगो राष्ट्रिय प्रतिबद्धता बन्न पुग्यो। मार्च १९७१ मा राजनीतिक अधिकारको लागि देशव्यापी तरंग उठ्यो र शेख मुजिवले ढाकाको राम्ना मैदानमा दिएको ऐतिहासिक भाषणले आगामी अनिष्टको भविष्यवाणी पनि गर्‍यो। अन्ततः पाकिस्तानी सेनाबाट बर्बर दमन पनि शुरू भइहाल्यो। यसरी दशकौंदेखि बंगलादेशी आकांक्षालाई थिचिरहेका लज्जापूर्ण सम्झौताहरूलाई पुरेर त्यसमाथि साझ्ा चेतनाको फूल फुल्न सक्छ, २०१३ वसन्तमा।

(नेपाल र बंगलादेशका लागि भारतका राजदूत रहिसकेका मुखर्जीको ९ फागुनको दि टेलिग्राफमा प्रकाशित लेखको भावानुवाद।)

comments powered by Disqus

रमझम