बानी राम्रो पानीको

Share:
  
- डा. सुमनराज ताम्राकार
चिसोको नाममा बजारमा पाइने क्यालोरियुक्त पेय पदार्थले तिर्खा मेटाउँदैन बरु बोसो बढाउँछ। तर शुद्ध पानीले शारीरिक तौल नियन्त्रणमा राख्न समेत मद्दत गर्छ।

शुरू भयो गर्मी मौसम र संभावना बढ्यो– विभिन्न संक्रामक रोग महामारीको शुरूआत। र, गर्मीले निम्त्याउने विभिन्न रोगको महामारीमा प्रमुख भूमिका हुन्छ, दूषित खानेकुरा र पानीजन्य संक्रमणको। आवश्यक परिमाणमा स्वच्छ पानीको सेवन नै यी महामारीबाट जोगिने प्रमुख उपाय हो।

दूषित पानीका कारण गर्मी मौसममा तुलनात्मक रूपमा सरुवा रोगहरू बढ्ता लाग्दछ। यस्ता खाले संक्रामक रोगहरू ब्याक्टेरिया, भाइरस, प्रोटोजोआ आदिको कारणले लाग्दछ। र, यी रोगका माध्यमहरूको वाहक हुन्छन्– लामखुट्टे, झिगा, साङ्ला, कीटपतङ्ग। जसको वृद्धिमा पनि मौसमसँगै दूषित पानीकै भूमिका हुन्छ।

यथेष्ट पानीको अभावमा दूषित खाना, भाँडाकुँडा, हातको संसर्गसँगै फोहोर पानीको कारण झिगा, लामखुट्टे, कीटपतङ्गको वृद्धिबाट टाइफाइड (म्यादे ज्वरो), रगतमासी, हैजा, घाउखटिरा (ब्याक्टेरियाका कारण), हेपाटाइटिस ए, झाडापखाला, मेनिन्गोइन्सेफलाइटिस, औलो, इन्सेफलाइटिस तथा कालाज्वर जस्ता सरुवा रोगहरू पनि लाग्न सक्दछन्। औलो, कालाज्वरको अलावा आउँ सरुवा रोग हुन्। पानीकै अभावमा गर्मी मौसममा छालाको समस्या तथा आँखा पाक्ने समस्या पनि बालबालिकामा बढी हुन्छ। शरीरका विभिन्न भागमा घाउखटिराका कारण नजिकको ग्लेण्ड (गिर्खा) पनि सुन्निने र दुख्ने हुन्छ।

पानीजन्य संक्रामक रोगहरूकै कारण संसारभर वर्षेनि लाखौं बालबालिकाको ज्यान जाने गरेको छ। त्यसैले पनि सफा र स्वच्छ पानी शरीरका लागि मात्र नभई वरिपरिको वातावरण सफासुग्घर राख्न पनि उत्तिकै जरूरी छ।

स्वच्छ पानी, स्वस्थ शरीर

गर्मीयाममा दिनहुँ आवश्यक मात्रामा पानी पिउने गरेमा जलवियोजन हुन नदिनुका साथै शरीरलाई स्फूर्त राख्न मद्दत गर्दछ। गर्मीमा चिसोको नाममा बजारमा पाइने अन्य क्यालोरियुक्त पेय पदार्थले तिर्खा मेटाउँदैन बरु बोसो बढाउँछ। तर शुद्ध पानीले तिर्खा मेटाउने मात्र नभई शारीरिक तौल नियन्त्रणमा राख्न समेत मद्दत गर्छ। बोसो कम गर्ने सहयोगी पानीले मांसपेशीलाई पनि स्वस्थ राख्छ। यद्यपि उच्च रक्तचाप, खुट्टा तथा जीउ सुन्निने समस्या, मिर्गौलाका रोगी, कलेजो रोग तथा शल्यक्रिया गरेलगत्तैका बिरामीले चिकित्सकको सल्लाहमा निश्चित मात्रामा पानी पिउनुपर्दछ।

झ्ट्ट हेर्दा मासु र हड्डीको मुख्य अंश रहेको देखिने हाम्रो शरीरको भारमा करीब दुईतिहाइ हिस्सा पानीको छ। वयस्क पुरुषको ६५ प्रतिशत र वयस्क महिलाको शारीरिक भारको ५५ प्रतिशत पानी नै हुन्छ। मानिसको शरीरमा औसतमा ३५ देखि ४० लीटरसम्म पानी हुन्छ। र शरीरको सबैभन्दा कडा वस्तुका रूपमा रहेका हड्डीमा समेत झ्ण्डै चौथाइ अंश पानीकै हुन्छ। (हे.इन्फोग्राफिक्स)

त्यसो त मानिसको शारीरिक तौल तथा दैनिक क्रियाकलापको आधारमा पानीको मात्रा घटबढ हुन्छ। तर सजिलो गरी बुझनका लागि आफ्नो शारीरिक तौललाई ३० ले भाग गर्दा आएको भागफल जत्तिको मात्रा (लीटर) नै व्यक्तिका लागि एक दिनमा आवश्यक पानीको मात्रा हो। शारीरिक तौल अनुरूप व्यक्तिपिच्छे आवश्यक पानीको परिमाण फरक भएझ्ैं सम्बद्ध व्यक्तिको दैनिक क्रियाकलाप तथा मौसमले पनि पानीको आवश्यकता थपघट गराउँछ। जाडोयामको दाँजोमा गर्मीयाममा बढी तिर्खा लाग्छ। शरीरमा पानीको कमी हुँदा गिदीमा सूचना पुग्दछ र हामी तिर्खा लागेको महसूस गर्दछौं। त्यसैगरी गर्मी मौसममा घाम तथा सुक्खा हावाको कारण छालालाई शुष्क बनाइदिन्छ। यथेष्ट मात्रामा पानी पिउँदा छालाको आर्द्रता कायम राखी चम्किलो, नरम तथा स्वस्थ बन्दछ।

मानिसले पिएको पानी शरीरबाट पिसाब, दिसा, पसिना तथा अन्य श्रावको माध्यमबाट बाहिरिने क्रममा हानिकारक पदार्थ पनि बाहिर लैजाने हुनाले भित्री शरीरलाई सफा राख्न मद्दत गर्दछ। पानी बढी पिउँदा पिसाब बन्ने प्रक्रिया पनि बढी र छिटो भई पिसाबको माध्यमबाट नाइट्रोजन, युरिया र किटोन जस्ता शारीरिक विकार फाल्न सघाउँछ। विशेषतः गर्मी मौसममा पिसाबको रंग गाढा पहेंलो हुन थाल्यो भने बुझनुपर्छ शरीरमा पानी पुगेन।

पाचन क्रियामा पनि पानीको महत्वपूर्ण भूमिका छ। खानाको पाचन एवं शोषण गराउने पानीले पाचन क्रियाको क्रममा उत्पादित हानिकारक तत्वलाई दिसाको माध्यमबाट बाहिर पठाउँछ। हैजा, झाडापखालालगायत पाचनसम्बन्धी संक्रमण लाग्दा पाचन प्रणाली भित्र रहेका हानिकारक जीवाणुको असरलाई पानीले नै छिटोभन्दा छिटो बाहिर पठाउने हुनाले पातलो दिसा हुन्छ।

दिनहँु आवश्यक मात्रामा पानी पिउने व्यक्तिमा हृदयघातको सम्भावना कम हुने विभिन्न अध्ययनले देखाएका छन्। पानीले जोर्नी तथा मांसपेशीलाई स्वस्थ राख्न मद्दत गर्छ। त्यसैले पनि एथलेटिक्स तथा अन्य खेलकुदमा लागेको व्यक्तिले वार्मअप तथा खेलपश्चात् पानीलगायतका झ्ोलिलो पदार्थ प्रशस्त पिउनुपर्दछ। पानीको उचित सेवनले मस्तिष्कलाई स्वस्थ राख्दै सोच्ने क्षमतालाई पनि सक्रिय बनाउँछ। शरीरका विभिन्न अंगमा यथेष्ट मात्रामा पानीको हिस्सा रहेकै कारण तिनको स्वस्थताका लागि आवश्यक परिमाणमा स्वच्छ पानीको आवश्यकता परेको हो।

comments powered by Disqus

रमझम