१४-२० चैत २०७२ | 27 March - 2 April 2016

फेरिंदो डोरबेल

Share:
  
आगन्तुक आएको जनाउ दिन राखिने घण्टीका प्रकार र प्रयोग थपिंदा छन्।

गोपेन राई
शहरका धेरैजसो घरका ढोका वा मूलगेटमा घण्टी चित्रअंकित स्वीच राखिएका हुन्छन्। तिनलाई दबाएमा घरभित्र घण्टी बज्छ र कसैले घरभित्र आउन चाहेको थाहा हुन्छ। प्रायः बिजुलीबाट चल्ने यस्ता जनाउ घण्टीमा अचेल विभिन्न सुविधा थपिएका छन्। सन् १८१७ मा स्कटल्यान्डका अन्वेषक विलियम मर्डकले बनाएको पहिलो डोरबेलभन्दा आजका डोरबेल निकै फरक छन्।

“कतिले त घण्टी नै गेटमा झुन्ड्याउँथे”, गोंगबु, काठमाडौंस्थित भट्टराई इलेक्ट्रोनिक्सका पुरुषोत्तम भट्टराई भन्छन्, “तर, अचेल विद्युतीय घण्टी नै प्रयोगमा छन्।” तारसहितका डोरबेल घरको विद्युत् लाइनसँग जोड्ने गरिन्छ भने ताररहित घण्टी ट्रान्समिटर र रिसिभरको सहायताले बज्छ।

ढोका खोल्ने आग्रह गर्दै चिच्याउनुको सट्टा घण्टी बजाउनु सभ्य र सजिलो उपाय मानिन्छ। अझ ती घण्टीमा संगीत बजेमा झनै सुगन्ध थपिने नयाँबजार, काठमाडौंका मनिष लामा बताउँछन्। “संगीत राखे घण्टी बजाउनेलाई पनि रमाइलो, खोल्नेलाई पनि झर्को नलाग्ने”, उनी भन्छन्।

इच्छानुसारका आवाज राख्ने सुविधासँगै घण्टीका चिम बक्स र बटन पनि विभिन्न थरीका पाइन थालेका छन्। अँध्यारोमा टल्किने बटनयुक्त डोरबेल राख्दा साँझ्ा–बिहान घण्टी बजाउन सजिलो हुने भट्टराईको भनाइ छ। “चिम बक्स पनि थरीथरी डिजाइनमा पाइन्छन्”, उनी थप्छन्।

डोरबेललाई घरको सुरक्षाका लागि समेत प्रयोग गर्न सकिन्छ। यसका लागि क्यामेरा जडित डोरबेल राख्न सकिन्छ। अपार्टमेन्ट वा हाउजिङमा यसको प्रयोग गर्न थालिएको पनि छ।

तलापिच्छे घण्टी राख्ने चलन विस्तारै बढ्न थालेको छ। घरबेटी र भाडावाल एउटै घरमा बस्दा आगन्तुकले कसकहाँ आएको हो, उसैलाई बोलाउने गरी घण्टी बजाउन सक्छन्। “तलापिच्छे फरक–फरक घण्टी राखेको छु, कुन बटन थिच्दा कहाँ बज्छ भन्ने विवरण पनि टाँसिदिएको छु”, नयाँबजारका लामा भन्छन्।

लोडसेडिङका कारण विद्युत्बाट चल्ने घण्टीको उपयोगिता कम हुन थालेपछि बिजुली हुँदा स्वतः ब्याट्री चार्ज हुने डोरबेलले बजार लिन थालेको छ। साथै, आधुनिक डोरबेलमा ध्वनि घटबढ गर्ने विकल्प पनि राखिएको हुन्छ।

डोरबेल जडान गर्दा स्वीच कहाँ र कस्तो राख्ने, कति उँचाइमा राख्ने जस्ता कुरामा ध्यान दिनुपर्छ। “यस्ता प्रश्न साधारण लाग्लान् तर यसबारे होश नपुर्‍याएमा समस्या भोग्नुपर्छ”, डोरबेलडिजाइन्स् डटकमको सल्लाह छ।

सजना बराल

comments powered by Disqus

रमझम