१४-२० चैत २०७२ | 27 March - 2 April 2016

शिलु महादेव मन्दिर: सच्चिने अवसर

Share:
  
- गौरीबहादुर कार्की
१२ वैशाखको महाभूकम्पले भत्काएको शिलु महादेव मन्दिरलाई १९९० सालअघिकै स्वरुपमा फर्काउने अवसर छ।

१९९० सालअघिको शिलु महादेव मन्दिर ।

प्राकृतिक विपत्ले उही मन्दिरलाई कसरी अर्कै बनाउँछ भन्ने उदाहरण हो, भक्तपुर दरबार क्षेत्रको शिलु महादेव। १९९० सालको भूकम्पअघि शिखर शैलीमा रहेको यो मन्दिर भूकम्पपछि एकाएक फर्सी आकारमा बन्यो। १२ वैशाखको महाभूकम्पपछि त अवशेष मात्र बाँकी छ।

नेवारीमा गोसाइँकुण्डलाई शिलु भनिन्छ। १७०७ सालमा बनेको यो मन्दिरको नामकरण सोही अनुसार भएको बताइन्छ। यसलाई नीलकण्ठ महादेव पनि भनिन्छ। हेनरी एम्ब्रोस ओल्डफिल्डले १९१० सालमा कोरेको चित्रकलामा शिलु महादेव मन्दिरलाई नेपालकै ठूलो शिखर शैलीको मन्दिर भनिएको छ।

शिलु महादेव मन्दिरः १९९० अघि र पछि।

२०७२ को भूकम्प अघि र भूकम्पले ध्वस्त भएपछि।

अघिल्लो पृष्ठको तस्वीरमा शिलु महादेवको बायाँपट्टिको छानाको कुनो मात्र देखिएको हरिशंकर मन्दिर हो। १९९० सालकै भूकम्पमा क्षतिग्रस्त यो मन्दिर पुनःनिर्माण गर्न आवश्यक नै ठानिएन।

(हे. विस्मृतिको बाटोमा, ३० फागुन–६ चैत http://nepalihimal.com/article/6400) तस्वीरमै देखिएको दायाँपट्टिको तीनतले गुम्बज भएको मन्दिर क्षेत्रमा अहिले पार्किङ स्थल छ। ९० सालकै भूकम्पले भत्काएको यो मन्दिर कुन देवताको हो कतै उल्लेख छैन।

१९९० सालको भूकम्पपछि फर्सीजस्तो आकारमा बनेकाले स्थानीयमाझ 'फसि देग' नाम पाएको शिलु महादेव मन्दिरको पेटीमा तलदेखि क्रमशः हात्ती, सिंह र साँढेका मूर्ति छन्। मूर्तिहरु अहिले पनि देखिन्छन् तर गजुर वेग्लै लाग्छ।

९० सालअघि मन्दिरको माथिल्लो बाहिरी भागको चारै दिशामा प्रस्तरको सिंहका मूर्ति थिए। तीमध्ये दुई सिंह १२ वैशाखको भूकम्पअघि भक्तपुर उपमहानगरपालिकाको भवनको मूल ढोकामा राखिएको थाहा हुन आएको छ। मन्दिरको पश्चिमपट्टिको उक्त भवन पनि अहिले भत्काइँदैछ। उड्ने सिंहका मूर्ति भूकम्पमा भत्किएको मूल चोकको नृत्यवत्सला मन्दिरमा पनि थिए।

१९१० सालमा हेनरी एम्ब्रोस ओल्डफिल्डले कोरेको चित्रकलामा शिलु महादेव मन्दिर ।

शिलु महादेव मन्दिरमा जस्तै उड्ने सिंहका मूर्ति भएको नृत्यवत्सला मन्दिर।

सुनिंदैछ, शिलु महादेव मन्दिर (फसि देग) पुनःनिर्माणमा पुरातत्व विभाग र भक्तपुर उपमहानगरपालिकाले संयुक्त पहल गरिरहेका छन्। तर, यसपटक शिलु महादेवले फेरि अर्को स्वरुप त पाउने होइन? चिन्ता यसैमा छ। १९९० सालको भूकम्पअघिकै स्वरुप देख्न पाए सही अर्थमा सम्पदा संरक्षण हुनेथियो।

comments powered by Disqus

रमझम