वीरगन्ज गाथा

Share:
  
- शंकर तिवारी

फेसबुकबाट
व्यक्तिका आत्मकथाले बजार विस्तार गरिरहेका वेला पत्रकार गिरीश गिरी शहरको आत्मकथा लिएर आएका छन्। वीरगन्ज शहर तेस्रो मधेश आन्दोलनका कारण अशान्त र त्योभन्दा धेरै चर्चामा रह्यो। वैदेशिक व्यापारको करीब ७० प्रतिशत आयात गरिने यो शहरको भन्सार नेपालको 'लाइफ लाइन' रहेको कुरा पछिल्लो आन्दोलनले सबैका मुखमा झुण्ड्याइदिएको छ।

तिब्बतसँगको तेस्रो युद्धपछि नेपालको भारतसँग परनिर्भरता वा भनौं व्यापारिक कारोबार बढ्न थालेको हो। त्यो घटनाको सबैभन्दा ठूलो लाभ मिल्यो वीरगन्जलाई। ठोरीलाई छायाँमा पार्‍यो। वीरगन्जसम्म रेल आइपुग्यो भलै अहिले त्यहाँ रेलको नामोनिशान नरहेको होस्। 'घामका पाइलाहरु' पढेर वीरगन्ज शहरको आकृति दिमागमा जमाएकालाई 'वीरगन्ज' पुस्तक गैरआख्यानका माध्यमबाट नेपालको एक प्रमुख शहरका बारेमा जान्ने, बुझ्ने र स्पर्श गर्ने माध्यम बनेको छ।

मूलधारको लेखाइमा हामीले व्यक्तिका माध्यमबाट शहरलाई जान्न पाउँथ्यौं भने गिरीशको यो पुस्तकमार्फत शहरले आफ्नै कथा पनि भन्दछ। वीरगन्ज पढ्नेले गिरीशका परिवारको कथा मुफ्तमा पढ्न पाउँछन् किनकि उनको परिवारले वीरगन्जको महत्वपूर्ण घटनाक्रमसँग साक्षात्कार गरेको छ। उनका पिता मेयरसम्म बनेका स्थानीय लोकप्रिय नेता मात्र नभएर स्थापित पत्रकार पनि थिए। गिरीशका हजुरबुबा पनि जमानामा निर्वाचित वडाअध्यक्ष थिए। गिरीशले आफ्नो हजुरबुबा/हजुरआमा कसरी विवाह बन्धनमा बाँधिएका थिए भन्नेदेखि आफ्नो मामाघरसम्मका संस्मरण तथा घरका भान्साको दिलचस्पी वर्णनबाट आफ्नो परिवारको आर्थिक हैसियत पुस्तकमा खुलस्त पारेका छन्।

व्यक्तिले चोला फेरेजस्तै शहरले पनि चोला फेर्दै जान्छ। असंख्य मानिसले बसाइँसराइ गरेर आएपछि मात्र शहर वा बस्तीको निकास वा विस्तार हुन्छ। त्यहाँ विद्यालय खुल्छन्, क्याम्पस खुल्छन्, अस्पताल सञ्चालित हुन्छन्, कारखानादेखि चलचित्र हलसम्म बन्छन्। मानिसको जीवनीसँग गाँसिएका अनेक उपक्रमहरु त्यो शहरसँग जोडिन्छन्। वीरगन्जसँग जोडिएका यावत् कुरा– विवाहमा ब्याण्ड बजाउनेदेखि कपाल काट्ने सैलुन चलाउनेसम्मका पात्रहरुको पनि पुस्तकमा ससम्मान चर्चा छ।

गिरीशका सटिक वाक्यहरुमा दम छ। उनले पाठकलाई वेलावेलामा सम्मोहित गर्दै रोक्ने सामर्थ्य पनि राख्छन्। जस्तै– स्थानीय खानाको वर्णन गर्ने क्रममा उनी लेख्छन्, 'माछा खानु र वीरगन्जको माछा खानु दुई वेग्लावेग्लै अनुभव हुन्।'

पुस्तकको सबल पक्ष भनेको गिरीशले समाजका जीवित पात्रहरुको बारेमा सन्तुलित भएर उल्लेख गरेका छन्। ती पात्रहरुलाई छद्म लाभ नदिइकन यथार्थ पस्कन सक्नु गिरीशको लेखकीय कला र आँट दुवै हो। प्रदीप यादव र राजेशमान सिंहको राजनीतिक प्रतिद्वन्द्विताको चित्रण गज्जबको छ। कांग्रेस नेता आत्माराम ओझा, उनकी प्रेमिका, निष्ठावान राजावादीहरु सबै सबै यो पुस्तकमा अटाएका छन्। मदनमणि माड्सावदेखि धनुषचन्द्र्र गौतमको परिवारसम्मको नालीबेली यो पुस्तकमा पढ्न पाइन्छ।

पुस्तकः वीरगन्ज मेरो शहरको कथा

लेखक गिरीश गिरी प्रकाशक नेपालय

पृष्ठ ३००+८

मूल्य रु.४२५

पहिलो मधेश आन्दोलन लहानबाट शुरु भयो। दोस्रो आन्दोलनमा वीरगन्ज साथमा थियो। तर तेस्रो आन्दोलनमा वीरगन्ज केन्द्र बन्न पुग्यो। तेस्रो आन्दोलनले यो शहरको जगलाई ठोरीसँग तुलना गरेर नराम्रोसँग हल्लाइदियो। त्यसो त प्रदेश नं. २ को राजधानी बन्ने होडमा फेरि एकपटक यो शहरले अस्तित्वको लडाइँ लड्नेछ। पुस्तकले सद्भावना पार्टीको इतिहाससँग जोडिएका केही रहस्यलाई सतहमा ल्याइदिएको छ। उपेन्द्र यादव कसरी मधेशी जनअधिकार फोरमको अध्यक्ष बनेका थिए, त्यो पनि बताएको छ; तराई कांग्रेसको इतिहास पनि समाविष्ट छ।

वीरगन्जमा अवस्थित भारतीय महावाणिज्य दूतावासका हर्कतदेखि आन्दोलनका क्रममा ७४ वटा सीसी क्यामेरा फोड्ने आन्दोलनकारीको कर्तुतसम्मको वर्णन पुस्तकमा छ। धार्मिक कारणले नेपाली टोपी लगाउन इन्कार गर्दा नागरिकताबाट बञ्चित शिख समुदायदेखि नेपाली नागरिकताका लागि मरिहत्ते गर्ने विपन्न वर्गका भारतीय आप्रवासीहरु र सजिलै नेपाली नागरिकता हात पार्ने कला जानेका मारवाडी समुदायका कथा तराईका प्रत्येक जिल्ला र नेपालको अंगीकृत नागरिकताको समाजशास्त्र हो भन्दा अत्युक्ति नहोला। यो पुस्तक आन्दोलनबाट शुरु हुन्छ, बीचबीचमा आन्दोलन भइराख्छ र आन्दोलनमै गएर टुंगिन्छ। तर, त्यो बीचमा वीरगन्ज अर्थात् गिरीशको शहरको कथा आइरहन्छ। लेखन पट्यारलाग्दो छैन किनकि बीचबीचमा लेखकको 'हास्यचेत' यत्रतत्र फैलिएको छ।

सिमरा र वीरगन्जको तुलनात्मक कथा तराईका प्रत्येक शहरको सफलता वा असफलताको कथा हो। त्यहाँ गम्भीर समाजशास्त्र लुकेको छ। आत्मसम्मानको प्रश्न, साम्प्रदायिक संयमता, नयाँ बुहारीको नागरिकताको समस्या जस्ता अनेकन् प्रसंग गिरीशले उठाएका छन्। वीरगन्जको शान्ति सुव्यवस्था कायम गर्न 'क्रान्ति गरेका' प्रहरी अधिकृतहरु रमेश खरेल र राजेन्द्रमान श्रेष्ठको कार्यशैलीको वर्णनले किताबलाई रोचक बनाइदिएको छ।

एउटा व्यक्तिले जीवनको कुनै पनि बिन्दुमा पुगेपछि आफू को हुँ भनेर प्रश्न गर्छ। धेरैको प्रश्नले उत्तर नभेटी मानिस सृष्टिको लयमा विलीन हुन्छन्। तर गिरीशले आफू, आफ्नो बुबा र आफ्नो परिवारलाई वीरगन्जमा देखे। आफूलाई निर्माण गरिदिएको शहरकाप्रति भावविभोर भएर एउटा गैरआख्यान नै तयार गरे। सुकेतु मेहताको मुम्बईको आत्मकथा 'म्याक्सिमम् सिटीः बम्बे लस्ट एण्ड फाउण्ड' पढेर आफ्नो शहरका बारेमा पढ्न चाहेर मन कुँढ्याएर बसेका पाठकलाई यो पुस्तक रोमाञ्चक उपहार पनि हो। यसरी वीरगन्ज नेपालको प्रवेशद्वार भएजस्तै गिरीशको 'वीरगन्ज मेरो शहरको कथा' नेपाली शहर–कथाको प्रवेशद्वार बनेको छ।

यद्यपि वीरगन्जवासीकै लागि के यत्ति मात्र वीरगन्ज हो भन्ने लाग्न सक्छ, जसरी वीरगन्ज बाहिरको मलाई घडीअर्वा पोखरी र टाउन हलको चर्चा किन नगरिएको भन्ने खट्कियो ।

comments powered by Disqus

रमझम